दूध मूल्य बढाउंदै कृषि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बढाउन गृहकार्य सुरु गरिरहेको छ । कृषि मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले एक चरण सरोकारवालासँग छलफल गरिसकेको छ । सो छलफलबाट आएको निष्कर्ष कृषि मन्त्रालयलाई जानकारी गराएपछि थप प्रक्रिया अगाडि बढ्ने बताइएको छ ।
बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले दूधको मूल्य वृद्धि गर्ने विषयमा सरोकारवालासँग छलफल गरिसकेको र त्यसबारे मन्त्रालयलाई जानकारी गराइसकेपछि थप प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।
बोर्डसँग भएको छलफलमा किसान तथा उद्योगीले आआफ्नो तर्फबाट मूल्य प्रस्ताव गरेका छन् । किसानको तर्फबाट केन्द्रीय दुुग्ध सहकारी सङ्घ लिमिटेडले प्रतिलिटर १४ रुपियाँ र डेरी उद्योगीबाट नेपाल डेरी एसोसिएसन तथा डेरी उद्योग सङ्घले १० रुपियाँ वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन् । त्यस्तै सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले पनि अध्ययन गरेर दूधको मूल्य वृद्धि हुनुपर्ने भनेको छ भने केन्द्रीय पशुपालन सहकारी सङ्घले हालको मूल्यमा २० प्रतिशत थपेर मूल्य वृद्धि गर्नुपर्ने प्रस्ताव गरेको छ ।
यता सरकारले प्रतिलिटर छ रुपियाँ वृद्धि गर्ने मनस्थिति बनाएको छ । यी सबै प्रस्ताव मात्र हुन् । बोर्डले यी सबै विषयको बारेमा मन्त्रालयलाई जानकारी गराई सकेपछि थप अध्ययनका लागि एउटा समिति बनाउने र सो समितिले दिने प्रतिवेदनका आधारमा मूल्य वृद्धि गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डको तयारी रहेको छ ।
हाल डेरी उद्योगीले किसानबाट एसएनएफ र फ्याटका आधारमा प्रतिलिटर ५५ रुपियाँदेखि ६० रुपियाँमा खरिद गरी ७५ रुपियाँमा विभिन्न बिक्री केन्द्र तथा बुुथहरूलाई बेच्ने गरेका छन् । बिक्री केन्द्र तथा बुथवालाहरूले प्रतिलिटर ७६ रुपियाँमा सो दूध बेच्ने गरेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताउनुभयो ।