शनिबार, ०५ माघ २०८१

खाद्य सुरक्षा सुनिश्चित गर्न प्रधानमन्त्री देउवाको जोड

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको खाद्य सुरक्षा सुनिश्चित गर्न कृषि उत्पादन बढाउनुपर्ने बताउनुभएको छ । 

राष्ट्रिय सुरक्षा परिषद्‍ तथा नेपाली सेनाद्वारा संयुक्त रूपमा आयोजना गरिएको ‘नेपालमा खाद्य सुरक्षा’ विषयक दुईदिने सेमिनारलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले खाद्य सुरक्षाको ग्यारेन्टी गर्न कृषिमा आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । 

प्रधानमन्त्री देउवाले भन्नुभयो, “आन्तरिक र बाह्य कारणले मुलुकको खाद्य सुरक्षामा असर पर्न सक्छ । यसलाई कम गर्न उत्पादन बढाउनुको विकल्प छैन ।” उहाँले कृषियोग्य उर्वर भूमिको तीव्र खण्डीकरणका कारण कृषि उत्पादनमा परेको नकारात्मक असरलाई रोक्नुपर्ने धारणाव्यक्त गर्नुभयो । उक्त खाद्य सुरक्षा विषयक सेमिनारको उद्घाटन बुधबार कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले गर्नुभएको थियो । 

सो अवसरमा मन्त्री यादवले कृषि उत्पादनको प्रशस्त सम्भावना रहे पनि खाद्यान्न आयात बढ्दै जानु चिन्ताको विषय रहेको बताउँदै आयात कम गर्ने गरी आवश्यक नीति तथा योजना तर्जुमा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा प्रधानसेनापति तथा सुरक्षा निकायका उच्च अधिकारीसहित सरोकारवाला विभिन्न मन्त्रालय तथा विभागका पदाधिकारी र खाद्य सुरक्षासम्बन्धी विज्ञहरूको सहभागिता रहेको थियो । 

नेपालमा करिब ६० प्रतिशत जनताको जीविकोपार्जन कृषिमा आधारित रहे पनि कृषि उत्पादनमा परनिर्भरता बढ्दै गएको र गहुँ कोदो, फापरजस्ता खाद्यान्नको उपभोग न्यून हुँदा चामलको आयात बढ्दै गएको पाइएको छ ।

विश्वव्यापी खाद्य मापदण्दअनुरूप नेपालमा आवश्यक पौष्टिक आहारबाट अधिकांश नागरिक वञ्चित हुनुपरेको र झन्डै २१ प्रतिशत जनसङ्ख्या खाद्यान्न सङ्कटमा रहेको पाइएको छ । 

कर्णाली प्रदेशलगायतका २६ दुर्गम जिल्लामा आवश्यक खाद्यान्न पुग्न नसकेको अध्ययनले देखाएको छ । 

सेमिनारमा सहभागीले परम्परागत कृषि प्रणालीले उत्पादन बढ्न नसक्दा खाद्यान्नमा परनिर्भरता बढ्दै गएको धारणा व्यक्त गर्नुभएको छ । कृषियोग्य जमिन बाँझो राख्ने र उर्वर भूमिमा भइरहेको बस्ती विस्तारले समेत कृषि उत्पादनमा प्रत्यक्ष असर पुगेको छ । मनसुनमा आधारित नेपालको कृषि प्रणाली र जलवायु परिवर्तनको असरका कारण खाद्यान्न उत्पादनमा उतारचढाव आउने गरेको छ । उत्पादित खाद्यान्नले उचित बजार नपाउने र भण्डारको उचित व्यवस्था हुन नसक्दा नेपालमा खाद्य असुरक्षा बढ्दै गएको पाइएको छ ।  

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी, रुस–युक्रेन युद्ध, इन्धन आपूर्तिमा देखिएको समस्याको प्रत्यक्ष असर खाद्यान्न उत्पादन र ढुवानीमा पर्ने देखिएको छ ।

विभिन्न मुलुकले खाद्य आयात, निर्यातमा अँगाल्दै आएको नीति परिवर्तनको असर नेपालको खाद्य सुरक्षामा समेत प्रभाव पर्न सक्ने भएकाले यसको असर कम गर्ने उद्देश्यले ‘नेपालमा खाद्य सुरक्षा’ सेमिनारको आयोजना गरिएको हो ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *