शुक्रबार, ०४ असोज २०८१

बेमौसमी वर्षाले कृषिमा क्षति

Share via:

विगत आठ दिनदेखिको बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छी क्षेत्रमा क्षति पुगेको छ । यो लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशमा सबभन्दा बढी क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबार सातवटै प्रदेशका कृषि मन्त्रालयलाई पत्राचार गर्दै वर्षाका कारण कृषि तथा पशुपन्छीमा परेको क्षतिको विवरण पठाउन आग्रह गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले जानकारी दिनुभयो । 

यस पटक धान पाकिनसकेकाले गर्दा त्यति क्षति देखिएको छैन तर वर्षा लगातार भइरह्यो भने क्षति बढ्न सक्ने उहाँले बताउनुभयो । लगातारको वर्षाका कारण बैतडीको सिगास गाउँपालिकामा मात्र २५ रोपनी धान खेत बगाएको छ । 

प्रत्येक प्रदेशलाई यथाशक्य विवरण पठाउन भनिएको छ । विवरण आएपछि किसानको क्षतिपूर्ति अथवा राहतका बारेमा छलफल गरिने प्रवक्ता सञ्जेलले बताउनुभयो । 

गत वर्ष असोजको अन्तिममा आएका बेमौसमी वर्षाका कारण एक लाख ११ हजार हेक्टरमा लगाइएको धानमा मात्र करिब ११ अर्ब रुपियाँ बराबरको क्षति भएको थियो । सरकारले तथ्याङ्क सङ्कलन गरी किसानलाई राहत वितरण गरेको छ । राहत वितरण जारी रहेकै बेला धानमा पुनः क्षति पुगेको छ ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित