बिहिबार, ०६ मंसिर २०८१

हरियो जुनार नै बिक्री गर्न सुरु

Share via:

चाडपर्वमा हुने खर्च धान्न सिन्धुलीका किसानले सिजनअघि नै हरियो जुनार बिक्री सुरु गरेका छन् । दसैं, तिहार, छठलगायत चाडपर्वमा पैसाका जोहो गर्न हरियो जुनार बिक्री गर्नुपरेको किसानले बताएका छन् । थोरै परिमाणमा फल दिने बोट हुने किसानको चाडपर्वमा हुने खर्च जुटाउनका लागि जुनार भरपर्दो बन्दै आएको छ । पहेंलपुर भएर दाना परिपक्व भएपछि बजारमा लैजानुपर्ने जुनार हरियोमै बिक्री गर्दा व्यावसायिक असर पर्ने गुनासो भने छ ।

चाडपर्वमा खानपान एवं रमाइलो गर्न खर्च जुटाउनकै लागि हरियो जुनार बिक्री गर्नुपरेको गोलन्जोर गाउँपालिका–५ रतनचुराका किसान लीला थापा बताउँछन् ।  जुनार हरियोमै टिप्दा अर्को वर्ष फल्ने निश्चित हुने र सिजनअघि नै बजार पुर्‍याउन सके भाउ पनि राम्रो पाइने किसानको भनाइ छ ।

सदरमुकाम सिन्धुलीमाढी, बीपी राजमार्ग छेउका खनियाँखर्क, सोलाभन्ज्याङलगायत बजारमा हरियो जुनार बिक्री भइरहेको छ । बीपी राजमार्ग हुँदै यात्रा गर्नेलाई लक्ष्य गरी किसानले सिजनअघि नै काँचो जुनार बिक्री गर्न बजार ल्याएको कमलामाई नगरपालिका–४ का केशव दाहालले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *