बिहिबार, ०६ मंसिर २०८१

१६ औं योजना यथार्थपरक रहेको उपाध्यक्ष श्रेष्ठको भनाई

Share via:

राष्ट्रिय योजना आयोगले १६ औँ पञ्चवर्षीय योजना यथार्थपरक र साङ्केतिक प्रकृति रहेको बताएको छ । आयोगले सो योजनाबारे गरेको पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले अनुसन्धानले पुष्टि गरेका लक्ष्य र सम्भव हुने खालका परियोजना तय हुने गरी १६ औँ पञ्चवर्षीय योजना (२०८१/८२–२०८५/८६) का नीति, लक्ष्य तथा कार्यक्रम तय गरिएको जानकारी दिनुभयो ।

पञ्चवर्षीय योजनाले विभिन्न सरोकारवाला निकायलाई आफ्नै आवश्यकता र योजना समावेश गर्न सक्ने गरी साङ्केतिक प्रकृतिका नीतिगत तथा कार्यक्रमका खाका बनाइएको उहाँले बताउनुभयो । “आयोगले बढी विस्तृतीकरण गर्दा विभिन्न मन्त्रालय प्रदेश संरचना तथा स्थानीय निकायले आफ्नै स्वरूप र प्रकृतिका योजना तथा कार्यक्रम बनाउन सक्छन् र त्यसमा आयोगले सहजीकरण तथा परामर्श उपलब्ध गराउने गरी तय गरिएको छ,” उहाँले भन्नुभयो, “महत्वाकाङ्क्षी योजना र लक्ष्य राख्दा हुन सक्ने उपलब्धि पनि अलमलमा परेको विगतको समीक्षामा हामीले पायौँ ।”

विगतका योजनाले पूरा गर्न नसकेका लक्ष्य र योजनाको समीक्षा गरी तिनका अभावलाई पनि यो योजनाबाट पूरा गर्ने लक्ष्य लिएको उहाँको भनाइ थियो । पत्रकार सम्मेलनमा मुलुकको अर्थतन्त्रको आकार योजनाको अन्तिम आवसम्ममा १०३ खर्ब सात अर्बसम्मको पुग्ने आकलन रहेको जानकारी दिइयो । यसका लागि सो अवधिमा मुलुकमा १११ खर्ब रुपियाँ लगानी आवश्यकता रहेको जानकारी दिइयो ।

आगामी आवबाट कार्यान्वयनमा सहज गराउने गरी सरकारले संसद्मा पेस गरेको नीति तथा कार्यक्रम र आगामी आवको बजेटलाई पनि सोही पञ्चवर्षीय योजनामा आधारित बनाइएको जानकारी श्रेष्ठले दिनुभयो । योजना कार्यान्वयनमा सहजता ल्याउन केन्द्रीय निकायले व्यावसायिक योजना तयार गरी कार्यान्वयन गर्ने, सबै प्रदेश तथा स्थानीय निकायले प्रादेशिक तथा स्थानीय सम्भावना र विशेषतासमेतका आधारमा आफ्नै आवधिक योजना बनाई कार्यान्वयन गर्ने उल्लेख छ । त्यसै गरी योजना आयोगले सहजीकरण गर्ने र कानुनी तथा संरचनागत रूपमा थप बलियो बनाइने उपध्यक्ष श्रेष्ठको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *