१० दिन सम्म देशै भर चल्ला उत्पादन ठप्प हुने : ह्याचरी उद्योग संघ

कुखुराको मासु र चल्लाको मूल्यमा आएको गिरावटलाई रोक्न नेपाल ह्याचरी उद्योग संघले १० दिन सम्म देशभर चल्ला उत्पादन ठप्प पार्ने भएको छ । चितवनमा हालै सम्पन्न नेपाल ह्याचरी उद्योग संघको भेलाले यस्तो निर्णय गरेको हो ।
पछिल्लो एक वर्ष देखि चल्ला, अण्डा र कुखुराको उत्पादन लागत सम्म नपाउने अवस्था सिर्जना भएपछि नेपाल ह्याचरी उद्योग संघले १० दिन सम्म देशभर चल्ला उत्पादन ठप्प पार्ने भएको छ । कुखुराको मासु र चल्लाको मूल्यमा आएको गिरावटलाई रोक्न दबाबस्वरूप यस्तो निर्णय गर्न बाध्य भएको ह्याचरी उद्योग संघको भनाई रहेको छ ।
ह्याचरी संचालकले चल्लाको मुल्य नपाउने अवस्था भए संगै किसानले पनि अण्डा र मासुको परलमुल्य समेत नपाउने अवस्था आएपछि यस्तो गर्न परेको ह्याचरी उद्योग संघले बताउँछ ।
भेलाले गरेको निर्णय अनुसार मङ्सिर २९ गते देखि १० दिन सम्म कुनै पनि ह्याच्रिमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न मेसिनमा सेट गरिएका अण्डा समेत नष्ट गर्ने ५० हप्ता भन्दा बढी उमेरका माउ प्यारेंट बिक्रि गर्ने र पोल्ट्रीमा देखापरेका समस्या समाधानको लागि सहयोग गर्न सरकार र वित्तीय संस्थासंग पहल गर्ने निर्णय समेत गरेको छ ।
१० दिन सम्म ह्याचरीबाट चल्ला ननिकाल्दा ६० लाख चल्लाको उत्पादन रोकिन्छ । भने ६० लाख चल्लाबाट ४० दिन भित्रमा १ करोड २० लाख किलोग्राम मासु उत्पादन हुने रोकिने भएको छ ।
सो भेलामा देश भरबाट कम्तिमा १५० भन्दा बढी उद्यमीको भेला भएको थियो ।