अलैंचीका बोट मास्दै खेत बनाउंदै
ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका साब्राका डम्बरबहादुर खड्काले १० मुरी धान फल्ने खेत मासेर अलैची लगानु भएको थियो कुनैबेला । अलैंचीलेले पहिलो साल राम्रै उत्पादन दियो । प्रतिकिलो २,४०० ले बिक्रि गर्नु भयो । आम्दानी राम्रै दिने देखेपछि अरु खेत मासेर अलैंची पनि रोप्नु भयो । तर दोस्रो साल उत्पादन घट्यो । उत्पादन घटे संगै बोट पहेलो हुने र मर्ने रोग देखापर्यो । त्यति बेला अलैंचीको मूल्य पनि स्वात्तै घटेर प्रतिकिलो ५५० मा झर्यो ।
त्यस्तै रावादोलुका किसान धनबहादुर बस्नेतले पनि सबैले अलैंचीबाट आम्दानी गरेको देखेपछि तीन पाथी बीउ जाने धान खेतमा अलैंची रोप्नु भयो । तर न उत्पादन राम्रो भयो न त मुल्य नै राम्रो पाउनु भयो । ‘अलैंची टिप्नका लागी एक जना कामदारलाई प्रतिदिन १००० रुपैयाँ ज्याला दिएर टिप्न लगाएँ ।’ बस्नेतले भन्नु भयो,’एक जनाले बढीमा एक दिनमा २ देखि ३ किलो अलैंची टिप्न सकिन्छ । अनि अलैंची ५ सय रुपैयाँ किलोले बेच्दा लगानी पनि उठ्न सकेन ।’
खिजिदेम्बा गाउँपालिका क्षेत्रमा मात्रै ५ सय भन्दा बढी किसानले अलैंची खेती सुरु गरे । सात वर्ष अघि सुरु भएको अलैंची खेती यसरि विस्तार भयो कि किसानले धान फल्ने खेत मासेर अलैची रोपे । सुरुसुरुमा राम्रै उत्पादन र बजार मूल्य पाएका किसानहरु अहिले पछुतो मान्दछन् । ‘अब फेरी अलैंची मासेर धान नै रोप्ने तयारीमा छु ।’ किसान खड्काले भन्नु भयो,’अलैंची भन्दा धानमै फाईद रहेछ ।’
अलैंची लगाएपछि सबै खेतमा सबै उत्तिस्का बोट फैलिएका छन् । अब ती रुखबिरुवा काटेर धान रोप्ने अवस्थाको खेत निर्माण गर्न निकै चर्को भएको स्थानीय टेकबहादुर खड्काले बताउनु भयो । ठेकेदार समयमा नआएपछि उत्पादित अलैंची बेच्न गारो भएको उहाँले बताउनु भयो । कान्तिपुर दैनिकमा शनिवार छापिएको ।