कृषि यान्त्रिकीकरण : किसानलाई ज्ञान बिनाको प्रविधि मात्र
कृषि आधुनिकीकरणको लागि यान्त्रिकीकरण कार्यक्रममा किसानले यन्त्र र प्रविधि पाए पनि उपयुक्त तालिम नहुँदा कार्यक्रमले राम्रो प्रतिफल दिन सकेको छैन । यसले गर्दा कृषि यान्त्रिकीकरणको लागि ठूलो आर्थिक लगानी भए त्यसले कृषिको उत्पादकत्व वृद्दिमा सघाउन नसकेको हो ।
यसको पछिल्लो उदाहारण स्वरूप पाँचथरमा सरकारबाट अनुदानमा वितरित मेसिनरी सामानको दिगो प्रयोग हुन सकेको छैन ।
कृषि औजार एवम उपकरण वितरण संगै अत्यावश्यक रहने प्राविधिक ज्ञानको अभावमा अनुदानको कार्यक्रम दुरुपयोग जस्तै भएको छ । महँगो सामान एक त चलाउने प्राविधिक ज्ञानको अभाव देखिएको छ भने अर्को कुरा बिग्रेपछि त्यसलाई पुन मर्मत गरि संचालन ल्याउनमा कठिनाई भएको हो ।
किसानलाई वितरण गरिने यन्त्र उपकरणमा सबै भन्दा बढी जमिन जोत्ने हाते ट्रयाक्टर रहेको छ जसको व्यवस्थित प्रयोग अझै सकिरहेको छैन । जिल्लाको फाल्गुनन्द गाउँपालिका-५ फाक्तेपका धनसेर चेम्जोङले आफुहरुले पाएका दुई वटा मिनी ट्रीलर एक वर्ष देखि बिग्रिएर थन्किएको बताउनु भयो । फाक्तेपका ७५ किसानलाई लक्षित गरेर अलैंची ब्लक कार्यक्रमका लागि हाते ट्याक्टर वितरण गरिएको थियो ।
मेसिन वितरण कार्यक्रममा किसानलाई दिइने मोबिल, तेल हाल्ने मात्र सिकाउँदा मेसिन सानो समस्याले पनि बिग्रंदा त्यसको मर्मत गर्ने ज्ञान अभाव रहेको किसानहरुको गुनासो रहेको छ ।
पाँचथरमा तत्कालिन कृषि विकास कार्यलय र हालको कृषि ज्ञान केन्द्रले गरि १७५ वटा हाते ट्रयाक्टर वितरण गरिसकेका छन् । ५० हजार देखि १ लाख रुपैयाँ मूल्यका हाते ट्रयाक्टर ५० देखि ७५ प्रतिशतसम्मको अनुदानमा बाँडिएको हो । अनुदानमा मिनी ट्रीलर समूह र व्यक्तिलाई दिईएको छ ।