फुड बैंक मार्फत स्थानीयवासीलाई राहत
कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले ‘फुड बैङक’ मार्फत अतिविपन्न परिवारलाई राहत बाँड्न थालेको छ ।
पनौती नगरपालिकाले एकद्वार प्रणाली मार्फत अतिविपन्न परिवारमा राहत पुर्याउन फुड बैङक स्थापना गरेको थियो । नगरप्रमुख भीम न्यौपानेले नगरका १३० अतिविपन्न नागरिकलाई राहत वितरण गरेको जानकारी दिनुभयो । नगरपालिकाले विपद् कोषबाट अतिविपन्न १३० परिवार पहिचान गरी वडा वडा मार्फत एक हप्ताका लागि राहत वितरण गरी सकेको प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
प्रमुख न्यौपानेको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले दुई प्याकेजमा राहत दिने निर्णय गरेको थियो । फुड बैङ्कका संयोजक एवम बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले दुई प्याकेज अन्तर्गत चार जनासम्मको परिवारलाई १० किलो चामल र त्योभन्दा बढी भएमा १५ किलो चालम दिने गरी निर्णय भएको जानकारी दिनुभयो । दाल, आलु, गेडागुडी, नुन, तेल, बेसार, प्याज, लसुन, चाउचाउ, बिस्कुट, साबुन, चिनी, चियापत्ती, चिउरा, दालमोठलगायत १७ प्रकारका राहत प्याकेजमा रहेको अधिकारीले जानकारी दिनुभयो ।