दूध बिक्रि नभएपछि किसान मारमा

(सांकेतिक तस्वीर)
(सांकेतिक तस्वीर)
लकडाउनले लमजुङका दुग्ध किसानहरू मारमा परेका छन् । लकडाउन भएको दिनदेखि किसानसँग केही दूध संकलन गरे पनि त्यसलाई दुग्ध कम्पनीहरूले खरिद नगरेका कारण समस्या भएको बेँसीसहर नगरपालिका वडा नम्बर ५ किरिन्चेबेँसीका तिलानदी कृषि सहकारी संस्थाका अध्यक्ष ऋषिकान्त खनालले बताए ।
लमजुङमा दूध उत्पादनमा लागेका किसान संकटमा छन् । कतिपय स्थानमा उत्पादित दुग्धजन्य पदार्थले बजार पाएको छैन । एकातिर बजार छैन, अर्कोतिर गाईभैँसीलाई खुवाउने दाना, चोकर र परालको समेत अभाव हुन थालेको छ । सहकारीले संकलन गरेको दूध सुन्दबजार नगरपालिका–९ भोटेओडारमा रहेको आरभा नेपाल मोडर्न एग्रिकल्चर लिमिटेडद्वारा सञ्चालित एएनएमसी डेरी उद्योगले खरिद गर्दै आएको थियो ।
बजार पनि बन्द भएकाले दूध बिक्न छोडेको दोर्दी गाउँपालिकाका दूध किसान महेन्द्र पाण्डे बताउँछन् । केही किसानले व्यावसायिक रूपमा दूध उत्पादन गर्दै आएका छन् । एउटै किसानले ४–५ सय लिटरजति दूध उत्पादन गर्ने गरेका छन् । उनीहरूको दूध बजारमा बिक्री पनि हुँदैन र बजार पुर्याउन पनि समस्या भएकाले दूध खेर जान थालेको किसान बताउँछन् ।
लकडाउन भएपछि कुनै पनि दुग्ध उद्योग सञ्चालनमा आएका छैनन् । लमजुङको सुन्दरबजार नगरपालिका–९ भोटेओडारमा रहेको आरभा नेपालद्वारा सञ्चालित एएनएमसी डेरी उद्योगले सहकारी, दूध उत्पादक कृषक समूह र आरभा नेपालले सञ्चालन गर्दै आइरहेको उद्योगका व्यवस्थापक सोनाम लामाले दैनिक ९ सय लिटर दूध बारीमा पोख्ने गरेको बताए । ‘आरभा नेपालको एकीकृत कृषि फर्ममा २२ वटा गाई पालेको छु,’ उनले भने, ‘दैनिक उत्पादन हुने २ सय लिटर दूध बारीमा पोख्ने गरेको छु ।’
जिल्लाबाट दैनिक बेँसीसहर, सुन्दरबजार र सिउँडीबारमा १४ सय लिटर दूध सप्लाई हुँदै आएको आरभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेडका अध्यक्ष कृष्णप्रसाद बजगाईंले बताए । आजको नयाँ पत्रिका ।दैनिकबाट