कृषि जन्य उत्पादनले बजार लिन नसकेको मुख्यमन्त्रीहरुको टिप्पणी
कोरोना भाइरसका कारण कृषि क्षेत्रले भोगिरहेको समस्या तथा समाधान र आगमी आर्थिक वर्षको बजेटका विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शुक्रबार सातै प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयहरूसँग अनलाइन छलफल गरेको थियो ।
सो क्रममा सबै प्रदेशले साझा समस्याका रूपमा कृषि उपजको बजारीकरणलाई उल्लेख गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि उपजको बजारीकरणमा पहिल्यैदेखि समस्या रहे पनि कोरोना संक्रमणबाट उत्पन्न परिस्थितिपछि झन् समस्या निम्तिएको प्रादेशिक मन्त्रालयहरूको भनाइ थियो ।
सबै प्रादेशिक मन्त्रालयले कृषि वस्तुहरूको बजारीकरण सुरक्षित हुन नसकेको र पछिल्लो समय अझ अवरोधहरू बढ्दै गइरहेको गुनासो गरेका थिए । त्यस्तै कृषि सामग्री, मल, पशु आहाराको ढुवानी व्यवस्थापनमा पनि कठिनाइ उत्पन्न भएको छलफलमा जनाइएको थियो ।
ढुवानीमा आएको कठिनाइका कारण किसानका पशुजन्य उत्पादनहरू बचाउन र उपभोक्तासम्म पुऱ्याउन निकै कठिनाइ भइरहेको प्रादेशिक सरकारहरूले जनाएका छन् । त्यस्तै भारतीय तरकारी र फलफूल नेपाली बजारमा सहजै आइरहेका कारण पनि नेपाली उत्पादनले बजार पाउन कठिनाइ भइरहेको उनीहरूको मूल्यांकन छ ।
अहिलेको संकटको अवस्थालाई अवसरका रूपमा लिएर कृषि पेसालाई सघाउन लाग्नुपर्ने र अहिलेको अवसरमा असफल भएमा भोलिका दिनमा अझ विकराल परिस्थिति आउने भएकाले गम्भीर पहल आवश्यक रहेको प्रदेशका मन्त्रीहरूको धारणा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।