मंगलबार, ०५ असोज २०७८

खाद्य तथा पोषण सुरक्षामा मौलिक ज्ञान र सीपको महत्व

Share via:
  •  
  •  
  •  
  •  
  •  

 

 

( विश्वभरि नै कोरोना संक्रमणले मानव जीवन माथि संकट बढाउँदै गर्दा जनजीवनमा नराम्रो संग असर पर्दै गएको छ । कोभिड-१९ को प्रत्यक्ष असर दैनिक जीवन र खानपानमा परेको देखे पढेकै छौं । यसै सन्दर्भमा नेपालको रैथाने ज्ञानमा आधारित खाद्य प्रणालीका विभिन्न पाटा  र पक्ष माथि कृषि विज्ञ यमुना घलेको मौलिक खाना माथिको सटिक चर्चालाई यहाँ प्रस्तुत गरिएको छ। )

 

झन्डै १२५ भन्दा बढी जातजाति र भौगोलिक विविधता भएको हाम्रो देशमा खानाको मौलिक ज्ञान, सीपले खाद्य सुरक्षामा ठूलो महत्व राख्दछ । हालको कोरोना संक्रमणको कारण खाद्य संकट आईपर्न सक्ने आंकलन गरिरहँदा हाम्रा आफ्नै मौलिक ज्ञान, सीपमा आधारित खानाको विविधिकरण गर्न सके युवापुस्तामा ज्ञान सीप सार्न सकिने र थप परिमार्जनका साथ व्यवसायिकीकरण गर्न सकिने संभावना पनि देखिन्छ । यसले समग्रमा खाद्य र पोषण सुरक्षामा सकारात्मक र दीर्घकालिन सहयोग पुग्दछ । मौलिक खाना, ज्ञान, सीपका केही विशेषताहरुलाई यहाँ उजागर गरिएको छ ।

 

भेगीय पक्ष

विभिन्न हावापानीका आधारमा गरिने खेतीबाली, पशुपालन, खाना बनाउने, भण्डारण गर्ने र खाने शैली निर्धारण हुन्छ । ती खानाका माध्यमबाट पनि भेगीय विशिष्ठता झल्किन्छ ।

 

धार्मिक पक्ष

सबै जातजातिको आ –आफ्नो जातीय रीतिरिवाज र चाडवाड हुन्छन् । यी चाडवाडमा विशेष परिकारहरु पकाईन्छन् । उदाहरणको लागि तराईमा मनाईने छठ पर्वमा पकाईने ठेकुवा, ल्होसारमा तिब्बेतियन समुदायले बनाउने खाप्सा, क्षेत्री ब्राम्हण समुदायमा प्राय सबै पर्वमा पकाईने सेल, गेडागुडीको बिरौंला, खिर, नेवार समुदायले ऋतु अनुसार बनाउने खानाका विविध परिकार आदिको आफ्नै विशेषता र मौलिक ज्ञान, सीप निहित हुन्छन् ।

 

शैली र चालचलनका पक्ष

हामीले खाने खानाका परिकारहरु प्राय पुस्तौंदेखि चलिआएको शैली र चालचलनबाट निर्देशित हुन्छन् । उदाहरणको लागि नेपालको पूर्वी र मध्य भेगमा विशेषतः मंगोलियन समुदायमा कोदोको पिठोलाई भटमास, हरियो लसुनको पात, अदुवा र अन्य मरमसला राखेर खोले बनाएर खाने चलन छ । त्यसरी नै सुदूरपश्चिमतिर कोदोको पिठोको सुख्खा रोटो बनाएर खाने चलन पाईन्छ । यस्ता खानामा पानीको मात्रा कम हुने, पिठो बढी लाग्ने र अन्य प्रकारका पोषणको मिश्रण केही कम हुने देखिन्छ ।

 

व्यवसायिकीकरणका पक्ष

हाम्रा मौलिक खानाहरुको पनि विस्तारै व्यवसायिकीकरण हुँदै गएको पाईन्छ । उदाहरणको लागि पूर्वी तराईको राजवंशी समुदायमा प्रचलित चामलको पिठोको भक्का, घरबास कार्यक्रमहरुमा दिईने विशेष जातीय परिकारलाई पर्यटनसंग जोड्नका लागि आएको अवसर पनि हो । मौलिक खानामा आधारित रेष्टुरेन्ट जस्तै पाटनमा रहेको रैथाने जस्ता खाना खाने ठाउंहरुले स्थान विशेषको पहिचानका साथै व्यवसायिकतालाई पनि मद्धत पुर्याईरहेको छ ।

 

शैक्षिक पक्ष

मौलिक ज्ञान, सीपजस्ता जानकारीहरु घरपरिवार र बालबच्चाहरुलाई प्राथमिक शिक्षास्तरमै हस्तान्तरण गर्दा कलिलो दिमागमा सजिलैसंग छाप पर्दछ । आजभोलि घरबगैंचा र पोषण सम्बन्धि जानकारी, विद्यालयहरुमा विविध खानाका प्रस्तुति जस्ता कार्यक्रमले पनि खाना, विविधता र पहिचानको बारेमा बुझ्ने अवसर पाईरहेका छन् ।

 

संचार र प्रचार प्रसारका पक्ष

संचारका माध्यममा मौलिक खानाका बारे प्रचारप्रसार गर्दा प्रत्येक खानाको भेगीय, धार्मिक, जातीय, पोषण आदिको विशेषता सहित सूचना दिन सकेमा यसले हाम्रा समाजमा रहेको जातीय विविधताको महत्व, स्वीकार्यता र पारस्पारिक अन्तरसम्बन्ध प्रगाढ हुनमा मद्धत पुग्दछ ।

 

लैंगिक पक्ष

खाना भन्ने बित्तिकै यसको व्यवस्थापन पक्ष र निहित ज्ञान, सीपको कुराले अहम् भूमिका राख्दछ । हाम्रो सामाजिक चालचलनका कारण यस्ता ज्ञान, सीपहरु धेरै जसो महिलामा पुस्तान्तरण भएको पाईन्छ । हाल आएर यस्ता खानाहरुको बजारीकरण पनि गर्न सकिने भएकोले युवापुस्तामा थप हौसला पुगेको छ ।

 

निष्कर्षमा, संविधानको अनुसुची – ८ अनुसार खाद्य र पोषण सुरक्षाको जिम्मेवारी स्थानीय सरकारसंग रहेको छ । यसैगरी खाद्य अधिकार तथा खाद्य संप्रभुत्ता ऐन, २०७५ ले निर्देशित गरेअनुसार स्थानीय स्तरमा खाद्य सुरक्षा समिती बनाउने र यसका कार्यक्षेत्र निर्धारण गर्दा मौलिक ज्ञान, सीप र पोषणका बारेमा विशेष ध्यान दिन सके समग्रमा खाद्य तथा पोषण सुरक्षामा ठुलो टेवा पुर्याउन सकिन्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित