बुधबार, २८ कार्तिक २०८१

गण्डकी प्रदेशको नाका तनहुँमा बाहिरबाट तरकारी ल्याउन प्रतिबन्ध

Share via:

 

तनहुँमा जिल्ला बाहिरबाट तरकारी प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ। कोरोनाको जोखिम बढेको निष्कर्ष निकाल्दै तहहरुले देशका विभिन्न भागबाट आउने तरकारी जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेका हुन्।

व्यास नगरपालिकाको अगुवाईमा बसेको स्थानीय तहहरु, सुरक्षा अधिकारी तथा व्यवसायी समेतको बैठकले भारतको तरकारीसमेत देशभित्रैको भनेर आउन थालेपछि जोखिमबाट जोगिन यस्तो निर्णय गर्ने सहमति गरेको हो। उनीहरुले जिल्लामा भारत र चीनबाट आउने फलफूल आयातमा समेत प्रतिबन्धको घोषणा गरेका छन्। गण्डकी प्रदेशको प्रमुख नाका तनहुँ भएकाले तनहुँले गर्ने यस्तो निर्णयले प्रदेशको आपूर्तिमा पनि प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।

बैठकमा सहभागी प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले स्थानीय तहहरुले आफ्नो क्षेत्रमा जोखिम कम गर्ने हिसाबले निर्णय गरेको बताए। ‘आफ्नो क्षेत्रमा सजगता अपनाउने हिसाबले तहहरुले बाहिरबाट तरकारी आउन नदिने निर्णय गरेका हुन्,’ उनले भने। जिल्लाका सबै तहको प्रतिनिधित्व रहेको स्थानीय संकट व्यवस्थापन समितिको नाममा यस्तो निर्णय गरिएको छ। व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेले जिल्लाभर नै जोखिमको अवस्थालाई मध्यनजर गरी यस्तो निर्णय गरिएको बताए।

जिल्लाभित्रका किसानले बजार नपाएकाले तरकारी खेर गैरहेको गुनासो समेत गरिरहेका बेला यसले किसानलाई भने हौस्याएको छ। केही दिन अघि आबुखैरेनी गाउँपालिकाका किसानले आफ्नो तरकारी बजारमा खपत नहुँदा खेर जाने अवस्था आएको गुनासो गरेका थिए। आँबुखैरेनीको मार्किचोकका तरकारी उत्पादक किसान शोलबहादुर चितौरेले तत्काल तरकारीको बजार व्यवस्था नगर्ने हो भने किसान ठूलो मार पर्ने अवस्था आएको बताए। उनले जिल्ला बाहिरका तरकारी नआउने भए पछि आफ्ना उत्पादन खपत हुने विश्वास गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *