बुधबार, २८ कार्तिक २०८१

तरबुजा खेती गर्ने कृषक समस्यामा

Share via:

 

कर्जन्हा नगरपालिका– ६ बेतहाकी ललितादेवी पासवानले कमलानदीको बगरमा एक बिघा क्षेत्रफलमा तरबुजाको खेती गर्दै आएकी छिन् । तरबुजाको खेती गरेकी पासवानलाई लगानी डुब्ने चिन्ता छ । बगरमा लगाएको तरबुजा बजारमा जानुपर्ने वेला भए पनि लकडाउनका कारणा व्यापारी पुग्न सकेका छैनन् । जसले डेढ लाखको लगानी डुब्ने र ऋणको भारी बोक्नुपर्ने चिन्ताले सताएको उनले बताइन् ।

त्यही वडाकी रेवती पासवानले करिब डेढ बिघा क्षेत्रफलमा कमलाको बगरमा तरबुजा खेती गरेकी छिन् । ललिताजस्तै रेवतीको पनि समस्या छ । तीन महिनादेखि गरिएको मिहिनेत र लगानी डुब्ने खतरा रहेको रेवतीले सुनाइन् ।

कर्जन्हा नगरपालिका– ६ कै प्रमोद साहले कमला नदीको बगरमा पाँच बिघा क्षेत्रफलमा तरबुजा खेती गरेका छन् । त्यहाँ उत्पादित तरबुजा ठूला सहरमा बिक्रीका लागि जाने गर्छ । तर, यस वर्ष लकडाउनले किसानकाे उत्पादनले बजार पाउन समस्या देखिएकाे छ । साहले सात लाख लगानी गरेको खेतीले बजार नपाउँदा समस्या भएकाे बताए ।

यता सिराहा नगरपालिका– १७ पर्टेवाका घुरन मुखियालाई पनि बगरमा लगाएको तरबुजा, काँक्रो, करेला, सजमन बिक्रीको तनाव छ । मुखियाले दुई बिघा क्षेत्रफलमा तरबुजा, काँक्रोसँगै तरकारी पनि लगाएका छन् । उत्पादन सुरु भएपछि कहाँ बेच्ने भन्ने चिन्ता बढ्दै गएको मुखियाले बताए ।

पाँच सय कृषक बगरखेती गर्दै
सिराहाको कर्जन्हा, कल्याणपुर र सिराहा नगरपालिकाका पाँच सय कृषकले कमला नदीको बगरमा खेती गर्दै आएका छन् । कृषकले सिजनअनुसारको उत्पादन गर्न लगानी गरे पनि बिक्री नहुने भन्दै चिन्तित बनेका छन् ।

उत्पादन बजार नपुगेपछि लगानी डुब्ने र ऋणको भारी थपिने सिराहा नगरपालिका– ५ का कृषक ध्यानी सदाले बताए । नोबेल करोना भाइरस (कोभिड– १९)को संक्रमण रोक्न जारी लकडाउनका कारण बगरखेती गर्ने कृषकको लगानी जोखिममा रहेको छ । तीनवटै नगर क्षेत्रका पाँच सय कृषककाे बगरखेतीमा सात करोडभन्दा बढी लगानी भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *