बेसारले बजार पायो

सल्यानमा अदुवा जस्तै बेसारको पनि माग बढ्दै जान थालेको छ ।
नगदे बालीको रुपमा रहेको बेसारको माग बढ्दै जान थालेपछि खाद्यान्न बाली त्यागेर व्यावसायिक बेसार खेती गर्ने किसानहरूको समेत बढ्दै जान थालेको छ ।
नेपालमै पहिलो पटक सिफारिस भएको एक मात्र उन्नत जातको कपरकोट हलेदो १ र कपरकोट हलेदो २ जातको हलेदो र लोकल बेसार (हलेदो) को माग धेरै हुने गरेको अदुवा बेसार अनुसन्धान केन्द्र कपुरकोटका सूचना अधिकारी खेमराज शर्माले जानकारी दिनुभयो ।
जिल्लामा उत्पादित उन्नत जातको बिउको माग अनुसारको पुर्याउन नसकेको बताउनुहुँदै उहाँले लोकल बिउको समेत माग बढेको बताउनुभयो । उहाँले भन्नुभयो, काठमाडौँ, धनकुटा, बर्दिया, कञ्चनपुरलगायतका स्थानबाट अत्यधिक मात्रामा बिउको माग हुने गरेको छ ।
सल्यानबाट वार्षिक तीन करोडको बेसार निर्यात चालु आर्थिक वर्ष २०७७÷२०७८मा २ करोड, ७० लाख, ७ सय, ५० रुपैयाँ बराबरको बेसार निर्यात भएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिनुभयो ।
जिल्लामा उत्पादित बेसार मध्ये १ करोड ९लाख ४६ हजार २ सय ५० बिउको रुपमा र १ करोड ६० हजार ५४ हजार ५ सय रुपैयाँको खाद्यान्नको रुपमा निर्यात भएको कार्यालयले जनाएको छ ।
बेसारबाट राम्रो आम्दानी हुन थालेपछि सल्यानको कालीमाटी गाउँपालिका काल्चे घुरचौरका ६० परिवारले खाद्यान्न बाली लगाउन छोडेर व्यावसायिक बेसार खेती सुरु गरेका छन् ।
यहाँका स्थानीयले वार्षिक २ सय ५० रोपनी बढी क्षेत्रफलमा उन्नत जातको बेसार खेती गर्दै आइरहेका छन् ।
आम्दानी राम्रो, खेती गर्न सजिलो र बजारको समस्या नभएकाले बेसार खेती बढिरहेको स्थानीय हरिबहादुर खड्काले बताउनुभयो । स्थानीय बजारमै १ सय ५० देखि दुई सय रुपैयाँ प्रतिकिलोमा बेसार बिक्री हुने भएकाले पनि स्थानीय हौसिएको उहाँको भनाइ छ ।
स्थानीय हरिबहादुर खड्काका अनुसार पहिलो वर्ष ८४ रोपनी जग्गामा बेसार खेती गरिएको थियो । जसबाट २५ हजार ६ सय किलो उत्पादन भएको थियो । यस वर्ष २ सय ५० रोपनी जग्गामा लगाएको बेसारबाट ४० हजार किलो उत्पादन भएको छ ।