मंगलबार, ०६ फाल्गुण २०८१

भक्तपुरमा लगाइएको धानमा दाना लागेन

चिनियाँ कम्पनी सिचुवान सिड विज्ञान तथा प्रविधि कम्पनी लिमिटेडले उत्पादन गरेको हाइब्रिड ‘डीवाई २८’ जातको धानमा दाना नलागेको कारण उपत्यकाका किसान पीडामा छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाको तौथलीमा दुई रोपनीमा लगाएको डीवाई २८ जातको धानमा बाला नलागेको समाचार बाहिर आएपछि उपत्यकाका तीनवटै जिल्लामा लगाइएको सो जातको अधिकांश धानमा बाला नलागेको खबर प्राप्त भइरहेको छ । राष्ट्रिय कृषि समूह महासङ्घका अध्यक्ष नवराज बस्नेतले उपत्यकामा एक हजार रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको धानमा दाना नलागेको बताउनुभयो । कुनैकुनै धानमा बाला लागे पनि त्यसमा दाना लागेको छैन । कुनैमा धानको गाँज ठूलो भए पनि त्यसमा बाला लागेको देखिँदैन ।

भक्तपुरको चाँगुनारायण, सूर्यविनायक, दधिकोट, दुवाकोटलगायतको ठाउँमा किसानले ५०० भन्दा बढी रोपनी क्षेत्रफलमा लगाएको डीवाई २८ जातको धानको बालामा दाना लागेको छैन भने ललितपुरको बुङमती, चापागाउँ, लेलेलगायतका ठाउँमा करिब २०० रोपनीमा लगाइएको धानमा दाना लागेको छैन । त्यस्तै काठमाडौँको शङ्करापुर, टोखा, साँखुलगायतका ठाउँमा २०० सय रोपनीभन्दा बढीमा बाला नलागेको महासङ्घका अध्यक्ष वस्नेतले बताउनुभयो । किसानसँग सम्बन्धित विभिन्न सङ्घसङ्गठन तथा पत्रकारले उपत्यकाका विभिन्न ठाउँमा त्यसको अवलोकन गरेको छ । हरेक ठाउँमा एउटै समस्या देखिएको छ ।
एउटै फाँटमा डीवाई २८ जातको धान रोप्दा कतै बाला लागेको छ भने कतै लागेको छैन । “यो बीउ कम्पनी वा बिक्री वितरण गर्ने पसलको बदमासी हो,” खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले भन्नुभयो, “बीउ विक्रेताहरूले चिसोका कारण यो जातको धानको बाला नलागेको दाबी गरेका छन् तर एउटै फाँटमा रहेको एउटा खेतमा बाला लागेको छ भने अर्कोमा लागेको छैन । एउटै ठाउँमा रहेको खेतअनुसार मौसम फरकफरक हुँदैन नि । ”

कम्पनीले नक्कली र सक्कली बीउ मिसाएर बजारमा पठाएका कारण यस्तो समस्या उत्पन्न भएको बताउँदै उहाँले बीउ बिक्रेताले किसानलाई क्षतिपूर्ति दिनुपर्ने बताउनुभयो ।

भक्तपुर दधिकोटका स्थानीय किसान दयाराम न्यौपानेले तीन वर्षदेखि यो जातको बीउ आफूले लगाउँदै आएकामा राम्रो उत्पादन दिइरहेको थियो तर यसपालि त्यही जातको बीउ लगाउँदा यस्तो समस्या देखाएको बताउनुभयो । उहाँले भन्नुभएको थियो, “५० रुपियाँ प्रतिकिलोमा पाइने धानको बीउ ‘डीवाई २८’लाई ८५० रुपियाँसम्म हालेर हामीले खरिद गरेका थियौँ । उत्पादन राम्रो दिएपछि जति महँगो भए पनि हामीलाई समस्या थिएन । उत्पादन राम्रो दिएका कारण सबैको रोजाइमा त्यो बीउ परेको छ तर यस वर्ष अधिकांश किसानले धोका पाएका छन् । ”

सरकारले बीउ बिक्री वितरण गर्ने विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने अभियानका संयोजक अधिकारीले बताउनुभयो । तराई मधेसका लागि सिफारिस भएको धानको बीउ उपत्यकामा किन बेचे ? बेच्दा दुई÷तीन वर्ष राम्रो उत्पादन दिने र अर्को वर्ष समस्या हुने किन ? यी विषयवस्तुको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो । भक्तपुरका किसान प्रकाश न्यौपानेले आफूले सो जातको धान विगत आठ वर्षदेखि लगाउँदै आएको राम्रो उत्पादन दिइरहेको थियो तर यस पटक चार रोपनीमा लगाएको धानमा बाला नलागेको बताउनुभयो । धानका बारेमा वडा कार्यालयलाई जानकारी गराए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उहाँले दाबी गर्नुभयो । गोरखापत्रबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित