पर्वतका विभिन्न स्थानमा मिचाहा कीराको आक्रमण
पर्वतका अधिकांश क्षेत्रमा लगाइएको मकैबालीमा फौजी कीराको प्रकोप बढ्दै गएको छ । जिल्लाको जलजला गाउँपालिका स्थित धाईरिङ, नाग्लीवाङ, मल्लाज, विहादी गाउँपालिकाको वहाकीठाँटी, रानीपानी, बर्राचौर लगायतका क्षेत्रमा फौजी कीराले मकैबालीमा क्षति पुर्याएको हो । मकै गोड्ने बेलामा कीराले आक्रमण गरेर क्षति पुर्याउन थालेको स्थानीय कृषकले जानकारी दिएका छन् ।
पछिल्लो एक हप्तादेखि मकैखेतीमा कीराको आक्रमण बढेको जलजला गाउँपालिका–७ धाइरिङका कृषक नवराज आचार्यले बताउनुभयो । उहाँले कीराले पात हुँदै बोटमा आक्रमण गरेपछि बोट मर्ने समस्या देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार विगत दुई हप्तादेखि मकैमा कीराको आक्रमण बढेको हो । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले सल्यानगाउँमा देखिएको सङ्क्रमण अहिले बढ्दो क्रममा रहेको बताउनुभयो । मल्लका अनुसार कृषि प्राविधिकसँग बुझ्दा मकैमा देखिएको सङ्क्रमण फौजी कीराको आक्रमण हो ।
जिल्ला कृषि ज्ञान केन्द्र पर्वतले स्थलगत रूपमा अनुगमन गरेर मकैमा अमेरिकी फौजी कीराको प्रकोप फैलिएको ठहर गरेको जानकारी दिएको छ । ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले कृषकको खेतमै पुगेर रोगको पहिचान गरिएको बताउनुभयो । रेग्मीका अनुसार जलजलामा करिब १५ रोपनी खेतको मकैमा कीराको आक्रमण फैलिएको र प्रकोप बेलैमा नियन्त्रण गर्न नसके धेरै क्षेत्रमा फैलिने खतरा छ ।
दक्षिण पर्वतको बिहादी गाउँपालिकामा पनि कीराले बालीमा क्षति भएको गुनासो आएकाले प्राविधिकलाई परीक्षणका लागि पठाएको रेग्मीले बताउनुभयो । विहादी गाउँपालिका–४ सहित जिल्लाको दुई हजार हेक्टर मकै लगाइएको क्षेत्रफलमा असर पुर्याएको छ ।