जैविक खेती प्रविधिमा ‘वेष्ट डिकम्पोजर’
सामान्यरुपमा जैविक वा प्राङ्गारिक फोहोर वा अपशिष्ट चीजहरुलाई चाँडै कुहाई (decompose) मलको रुपमा प्रयोग गर्न सकिने प्रविधि भनेको जैविक खेती प्रविधि । यस अन्तर्गत घर भित्र, भान्सा, घर वरिपरि गोठ/खोर आदिबाट निस्कने तथा खेतीपातीका अवशेष झारपातहरुलाई प्रयोग गरी वातावरण मैत्री उत्तम जैविक मलमा परिवर्तन गर्ने गरिन्छ ।
पछिल्लो क्रममा जैविक खेती प्रविधिले केहि ठाउँ लिएको पाईन्छ । बाली र विरुवामा स्प्रे गर्दा मल तथा रोग कीरानाशक रुपमा यसलाई अपनाउन गरिएको छ भने माटोमा नकुहिएका झारपातहरुलाई राम्रो संग कुहाउन, ठुटाठुटी बालीका अवशेषहरुलाई चाँडै कुहाउन, माटोलाई हल्का बुरबुरे बनाई दिएर माटोमा हावाको संचारको लागि सघाउन यसको आवश्यकता रहेको छ ।
यस प्रविधिका विविध फाईदाहरुको अध्ययन भईरहेको छन् । जमिनमा चिस्यान कायम राख्न यसले मद्धत गर्दछ भने गड्यौला तथा अन्य उपयोगी सुक्ष्म जीवहरुको संख्या बढाउन यसले सघाउने विभिन्न अध्ययन गर्ने संघ संस्थाहरुले उल्लेख गरेका छन् । राष्ट्रिय जैविक खेती केन्द्र (National centre for organic farming NCOF) गाजियावाद, भारतका वैज्ञानिकहरुले आफ्नै प्रयोगशालामा उत्पादन गरेर देशभर जैविक खेतीको विकास गर्न कृषकहरुलाई बाँड्ने गरेको यो विघटक किसानको लागि वरदान सावित भएको छ । उक्त केन्द्रबाट उत्पादित कल्चरलाई गुणा गरेर बनाइएको यो घोल जिन्दगी भर गुणा गर्दै प्रयोग गर्न सकिन्छ । घर भान्सा गोठ खोर तथा खेतबाट निस्केका झारपात गोवार सुली, फोहोरहरुलाई ३०–४० दिनमा एकदम राम्रो मल बनाई दिन्छ, जवकी हामीले जतिसुकै सुधारिएको तरिका प्रयोग गर्दा पनि ३–४ महिना लाग्छ ।
यसका उपयोगीताहरु
- बालीमा छर्दा मल तथा रोग कीरानाशकको रुपमा काम गर्छ ।
- माटोमा प्रयोग गर्दा भएका नकुहिएका प्राङ्गारिक कार्वनलाई कुहाएर विरुवाको लिन सक्ने humus मा परिवर्तन गरिदिन्छ ।
- माटो खुकुलो बनाई दिन्छ जसले खनजोतमा कमी ल्याउन मद्धत गर्छ ।
- माटोमा रहने गड्यौला तथा उपयोगी सुक्ष्म जीवहरुको संख्या बढाउन मद्धत गर्छ ।
अन्य उपयोगहरु
- जैविक सुक्ष्म तत्व बनाउन ।
- वानस्पतिक विषादी बनाउन ।
- नीवामृत बनाउन ।
- घरको भुईं सफा गर्न ।
- चर्पी सफा गर्न ।
- स्टोन कल्चर, बोटानिकल युरिया ( गाजर घाँसबट युरिया बनाउने)र एन्जाइम बनाउन।
कसरी गुणा गर्ने?
तरिका –१
यदि NCOF बाट उत्पादित २० ग्रामको कल्चर छ भने २०० लिटरको ड्रममा २०० लिटरका पानी भर्ने २ किलो गुड/ भेली त्यसमा घोल्ने र बट्टा खोलेर कुनै छेस्कोले (खाली हातले हैन) कोट्याएर, जमेकोलाई खुकुलो बनाएर ड्रममा राख्ने बोतलमा पानी राखेर पखालेर ड्रममा हाल्ने बोतलको बिर्को लाएर राख्ने, ड्रममा लठ्ठीले घडीको सुईंको दिशामा पाँच मिनेट चलाउने ।
हरेक दिन विहान बेलुका यसरी नै चलाउने ।
गर्मीमा ३–५ दिन र जाडोमा ७–१० दिनमा घोल कल्चर तयार हुन्छ । यसरी २० लिटर घोलबाट अर्को २०० लिटर बनाउन राख्ने अरु बालीमा प्रयोग गर्ने ।
तरिका २
NCOF बाट उत्पादित मदरकल्चर त प्राय पाईंदैन तर त्यसैबाट गुणा गरिएको (multiplied) घोल छ भने तपाईसँग १ लिटर छ भने ९ लिटर पानीमा घोलेर त्यसमा घोल राखी माथि भने झै चलाउने ३–५ दिनमा गर्मीमा र ७–१० दिनमा जाडोमा तयार हुन्छ ।
जैविक कीटनाशक (biopesticide)
सामाग्रीहरु: भाँगको पात, अडेरको पात, कालो पात, कालो आँकको पात (अजम्वरी), नीमको पात, बकाईनाको पात, धतुरोको पात, शीतल चिनीको पात, केतुरी, खिर्रो, पिर्रे झार, तीतोपाती, वनमारा, गाँजर, झार, रुदिलो र गाईको गहुँत ।
बनाउने तरीका:
सबै वनस्पति १/१.५ के.जी. आफ्नो वरीपरी के पाइन्छ त्यही लिने, जति सक्यो धेरै भयो भने विषादी अझ सशक्त हुन्छ । सबै वनस्पतिलाई सानो सानो टुक्रामा काट्ने ।
माटोको घैटो वा पिभिसीको ड्रम लिने त्यसमा आधा जति तयारी ‘डिकम्पोजर’को ‘कल्चर’ले भर्ने । काटेर तयार गरिएको वनस्पति सबै त्यसमा राख्ने । नभरिएको भाग ‘डिकम्पोजर’ भर्ने ३० दिन सम्म ढाकेर राख्ने ३० दिन पछि छानेर छर्ने । नर्सरीको विरुवामा १–२% ठुलो विरुवालाई ८–१० प्रतिशतको घोल छर्न सकिन्छ ।
वेष्ट डिकम्पोजर (waste decomposer) बाट जैविक सुक्ष्म तत्व बनाउने विधि
सामग्री
२०० लिटरको ड्रम – १
मकै वा गहुँको पिठो – २ के.जि
तोरीको धूलो वा पिना – २ के.जि
तिलको धूलो वा पिना – २ के.जि
रहरको पीठो – २ के.जि
सूर्यमुखीको पीना – २ के.जि
मुगको पीठो (बेसन) – २ के.जि
फलामको टुक्रा वा किलो
तावाँको टुक्रा वा तार
जस्ताको धुलो (पाएमा)
१०० लिटर डिकम्पोजर
सबै चीजलाई डिकम्पोजर राखिएको ड्रममा राखेर चलाउने (सबै धुलो वा पिठो मिल्नेगरी) फलामको टुक्रा राख्ने र तामाको टुक्रा राख्ने छहारी मुनिमा धैरै घाम नपर्ने ठाँउमा राख्ने मुख कपडा वा केही चिजले छोप्ने १० दिनमा यो सुक्ष्म तत्व प्रयोगगा लागी तयार हुन्छ । ५% सुक्ष्मतत्व (१०० लिटर पानीमा ५ लिटर) राखेर स्प्रे गर्ने वा १०% सुक्ष्मतत्व ( १०० लि पानीमा १० लिटर घोल राखेर सिचाईमो पानी सँग दिने ।
वेष्ट डिकम्पोजर (waste decomposer) बाट जीवामृत बनाउने तरिका ।
सामग्री
१) २०० लिटरको ड्रम
२) १८० लिटर डिकम्पोजर
३) १० लिटर गोमुत्र
४) १० के.जी गोवार (गाईको)
५) २ के.जी वेसन
६) २ के.जी वर/पीपरको फेदको वा जंगलको माटो
गोवार गहुँत वेसन र माथेलाई एकै ठाउँमा (भाँडो राखेर) राम्ररी लेदो हुने गरी मुछ्ने र सो लेदोलाई डिकम्पोजर भएको ड्रममा खन्याएर राम्ररी चलाउने, चलाउँदा घडीको सुईंको दिशामा र विपरित दिशामा १२/१२ पटक घुमाएर चलाउने, विहान बेलुकी २ पटक सधैं चलाउने । मुख छोपेर छाँया पार्ने ठाउँमा राख्ने । १०–१५ दिनमा जीवामृत तयार हुन्छ ।
प्रयोग
विरुवाको अवस्था हेरेर १%, ५%, १०% को घोल स्प्रे गर्ने वा सिंचाई सँग पानीमा दिने स्प्रे गर्दा नर्सरीको विरुवालाई १–५% फुल्ने बेला हुन लागेको बालीलाई १०% फालिरहेको बालीलाई १० देखि बढीमा ४०% सम्म दिन सकिन्छ । सिंचाईमा दिँदा पनि १०–३०% सम्मको घोल बनाएर स्लाइन विधि झै सिंचाईको पानीमा तुर्रर झर्ने गरेर दिने । २०० लिटर जिवामृत एकर जमिनलाई पुग्दछ ।
(लेखक तीन दशक देखि कृषि क्षेत्रमा संग्लग्न रहँदै पछिल्लो दशक यता ‘अर्गानिक मुभमेन्ट’ मा कदम चाल्दै आउनुभएको छ ।)