बुधबार, २० श्रावन २०७८

नेपालमा बेमौसमी प्याज खेती

Share via:
  •  
  •  
  •  
  •  
  •  

 

प्याज एक प्रमुख मसलाजन्य तरकारी बाली हो । यसमा विभिन्न औषधीय गुण पाईन्छ । यसमा सटार्च, प्रोटिन र भिटामीन ‘बी’ र ‘सी’  प्रचुर मात्रामा पाईन्छ । मौसमी प्याज मङ्सिर/पुस महिनामा वेर्ना तयार गरी माघमा लगाएर बैशाख/जेष्ठमा  भण्डारण गरिन्छ । भण्डारण गरेर राख्दा प्याजको तौल ३५-४० प्रतिशत भन्दा कम हुन्छ । नेपाली प्याजले ५०% मात्र बजार धानेको र बाकी ५०% भारत वा अन्य देशबाट ल्याईन्छ । तसर्थ नेपालमै प्रशस्त मात्रामा प्याज उत्पादन गर्न बेमौसमी प्याज खेतीलाई प्रयोगमा ल्याउनुपर्छ ।

बेमौसमी प्याज खेती गर्दा असोज/कर्तिकमा नर्सरी तयार गर्न पर्दछ । नर्सरी तयार गरेको लगभग एक महिना पछि बेर्ना रोपिन्छ । बेर्ना रोपेको केही महिनामा स-साना गाना तयार हुन्छ र उक्त गानाहरु भण्डारण गरी पुन तिनै गानाहरुलाई जेष्ठ अन्तिम वा असारको पहिलो हप्तामा रोपिन्छ । यसरी भाद्र/असोजमा भण्डारण गरिने हरियो प्याज र गाना प्याजलाई बेमौसमी प्याज भनिन्छ । ‘अफ सिजन’ प्याज विशेष गरी भाद्र देखि मङ्सिरको महिनामा बजारमा उपलब्ध हुन्छ ।

जातको छनोट

हाल नेपालमा प्रचलित जातहरू मध्ये बेमौसममा गाना उत्पादनको लागि एग्री फाउण्ड डार्क रेड (AFDR), नासिक रेड५३, एन५३ बेमौसमी उपयोगी भएको पाइएको छ । एग्री फाउण्ड डार्क रेड (AFDR) सबैभन्दा राम्रो बेमौसममा खेती गर्न सकिने जात हो । सेटबाट गाना तथा हरियो साग उत्पादन गर्नका लागि यो जातले प्रसिद्धि कमाएको छ । नासिक रेड र एन-५३ छोटो अवधिमा तयार हुने जात हो । नासिक रेडको गाना रातो, अलि पिरो हुन्छ भने एन-५३ को गाना रातो र पात हल्का हरियो हुन्छ ।

सेट उत्पादन

बेमौसमी प्याज खेती गर्न हामीले प्याज सेट कसरी उत्पादन गर्ने बुझ्न जरुरी छ । सेट उत्पादन गर्न पहिले हामीले नर्सरी ब्याड तयार पारी बीउ छर्नुपर्छ । उपयुक्त नर्सरी गर्ने समय असोज/कार्तिकको महिना हो । ब्याडलाई राम्ररी खनजोत र मलजल गरी बुरबुराउँदो बनाउनु पर्छ । यस ब्याडमा राम्ररी सडेको प्राङ्गारिक मल, डि.ए.पी, पोटास, बोरोन जस्ता रासायनिक मल प्रति वर्ग मिटर क्षेत्रफल ओगट्ने गरी छर्नुपर्छ । जोतेपछि ड्याङ उठाउन जमिनबाट १५-२० सेमि अग्लो एक मिटर चौडाई र लम्बाई आफ्नो आवश्यकता अनुसार तयार पार्नुपर्छ । यसरी तयार गरिएको ब्याडमा ६-७ से.मि को फरकमा प्याजको बीउलाई लाइनमा खसाल्नुपर्छ । प्याजको बीउलाई २ सेमि गहिरो लाइन बनाएर प्रति वर्ग मिटर ४०-५० ग्रामको दरले बीउ छर्नुपर्दछ । बुरबुराउँदो खालको प्राङ्गारिक मल र माटो बराबर भाग मिलाई बीउलाई पुरिदिनुपर्छ । त्यसपछि माथिबाट परालले ढाकेर सिँचाई गर्नुपर्छ । बीउ राखेको १४-१५ दिन सम्ममा माटोबाट बाहिर निस्किन्छ बीउ टुसाउन साथ पराललाई सावधानीसँग हटाई दिनुपर्दछ । पराल झिकेपछि त्यहाँ नोक्सानी हुन सक्छ । त्यसैले २ ग्राम रोगनाशक विषादीलाई १ लिटर पानीमा हालेर माटो भिज्ने गरी २-३ हप्तामा सिँचाई गर्नुपर्छ । प्याजको बेर्ना रोप्नु भन्दा अगाडी बेर्नाको टुप्पा काट्नु राम्रो हुन्छ । बीउ रोपेको एकदेखि डेढ महिना सम्म बेर्ना सार्नुपर्छ । उपयुक्त बेर्ना सार्ने समय मङ्सिर/ पुस भएकोले जमिनलाई पहिले नै राम्ररी खनजोत र मलजल गर्नुपर्छ । जमिनको तयारीको लागि १५०० किलो राम्ररी सडेको प्राङ्गारिक मल, १५ के.जी डि.ए.पी, १० के,जी पोटास,  ३ के.जी युरिया र २ के.जी सुक्ष्म खाघ तत्व प्रति वर्ग मिटर क्षेत्रफल ओगट्ने गरी एकनासले छर्नुपर्दछ । यसरी तयार भएको जमिनमा लाईन-लाईनको फरक १५ से.मि गरी बेर्ना सार्नुपर्दछ ।

बेर्ना सारेको ३-४ हप्तापछि विरुवाहरू सर्लक्क एकदम राम्रो देखिन्छ । झारपातहरू बिरुवालाई नोक्सान गर्न सक्ने भएकोले बारम्बार गोडमेल गर्न जरुरी छ । माटोको चिस्यान दैनिक रूपमा हेर्दै जानुपर्छ । रोपेको केही समय पछि वा प्याजको गाना बूढी औँला जत्रो भएपछि प्याजको जमिन माथिको झारपात निमोठेर लट्ठीको सहायताले थिची दिनुपर्छ । केही दिनमा प्याज सुके जस्तो देखेपछि बोटहरू उखेलेर माटो हटाएर मुठाहरूलाई सूर्यको प्रकाश नपर्ने प्रशस्त हावा खेल्ने ठाउँमा भण्डारण गरिन्छ । सामान्यतया सेट १२ मिमि साइजको राम्रो मानिन्छ ।

सेटबाट बेमौसमी प्याज उत्पादन गर्ने तरिका

यसरी तयार भएको सेटलाई जेष्ठ अन्तिम वा असारको पहिलो हप्तामा पानी नजम्ने र खुकुलो माटो भएको ठाउँमा ड्याङ बनाई मौसमी प्याज लगाउने तरिका जसरी नै त्यही दूरी त्यही विधी अनुसार रोपिन्छ । यो रोपेको दुई महिनामा ती साना सेट बढेर ठूला गाना बन्दछन् । एक बोटदेखि अर्को बोट सम्मको दूरी १५ सेमि र एक लाइन देखि अर्को लाइन सम्मको दूरी १० से.मि राख्नुपर्दछ ।

बेमौसमी प्याजमा टुसा आउने समस्या बढी हुने हुँदा दुई ग्राम Maleic Hydrazide रोगनाशक विषादीलाई १ लिटर पानीमा हालेर प्याज खन्नु भन्दा १५ दिन अगाडी फिल्डमा छर्नुपर्छ । बेमौसमी प्याजलाई बेलुकी समयमा खन्ने गरिन्छ । सानो, ठूलो र मध्यम साइजको प्याजलाई वर्गीकरण गरिन्छ ।

 

हरियो प्याज सेट लगाएको ४०-५० दिनमा तयार हुन्छ ।

प्याज ब्लब सेट लगाएको ८०-९० दिनमा तयार हुन्छ ।

यसरी ठूलो भएको गानालाई उखेलेर बिक्री-वितरण गर्न सकिन्छ । उत्पादन लिने बेला दशैं-तिहार पर्ने भएकोले प्याजको माग पनि बढी हुन्छ । त्यसैले बेमौसम प्याज खेतीबाट राम्रो मूल्य पाउन सकिन्छ । यो सिजनको गाना धेरै दिन भण्डारण गर्न नसक्ने भएकोले आवश्यकता अनुसार मात्र उखेलेर बेच-बिखन गर्न सकिन्छ ।

बेमौसमी प्याजका फाईदाहरु

  • उपभोक्ताले अफ-सिजनमा पनि ताजा प्याज पाउन सक्छन् ।
  • बेरोजगारी समस्या समाधान गर्न सकिन्छ ।
  • हरियो प्याजलाई तरकारिको रूपमा समेत प्रयोग गर्न सकिन्छ ।
  • आय-आर्जनको राम्रो श्रोत बन्न पुग्छ ।
  • किसानहरुले आफ्नो जीवनस्तर सुधार गर्न सक्छन् ।

(लेखक पूर्वान्चल कृषि क्याम्पस, झापामा अध्ययनरत हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *