बुधबार, २८ कार्तिक २०८१

अर्को खतराको घन्टी : सलह कीरा नेपाल प्रवेश गर्न सक्ने

Share via:

 

विश्वभर मानव अस्तित्वलाई संकट पार्ने गरी फैलिरहेको कोरोना महामारी पृष्ठभूमिमा कृषि क्षेत्रमा अर्को ठूलो खतराको घन्टी बज्न सुरु भईसकेको छ । कोरोना महामारीले एकातिर गम्भीर खाद्य संकटको प्रक्षेपण भईरहेको छ भने अर्कोतिर अमेरिकी फौजी कीराले मकै लगायत प्रमुख खाद्यबालीमा पारिरहेको क्षती र अर्को खतरनाक कीरा ‘सलह’ नेपाल प्रवेश गर्ने ढोका नजिक आईसकेको छ ।

जलवायु परिवर्तन लगायत विविध कारणले मानव, वनस्पति, पशु लगायत सिंगो प्राणी माथि आक्रमण बढ्दा खाद्यान्न संकट निम्तिन सक्ने र यसले विश्वभर नै भोकमरी सिर्जना गराउन सक्ने अवस्था छ ।

यी विविध परिघटना भईरहंदा कोरोना भन्दा महामारीका रुपमा मकै बालीको फौजी कीरा (फल आर्मी वोर्म) हालै नेपालमा र सलह कीरा (लोकस्ट) ले धेरै अफ्रिकन मुलुकहरुमा लामो समय देखि चुनौती खडा गरेका समाचारहरु प्रकाशित / प्रसारित हुँदै आएका छन् ।

के हो सलह ?
सलह एउटा अति नै हानिकारक र बालीनाली पुरै क्षती गर्ने फट्यांग्रा कीरा हो । यिनीहरु समूह (स्वार्म) बनाएर लामो दूरी पार गर्न सक्छन् र एकै पटक पुरै खेती बाली नष्ट गर्न सक्छन् । अफ्रिका, मध्य अफ्रिकी देश र  मध्य पूर्व एसिया हुँदै पाकिस्तानबाट यो कीराहरुको हुल अहिले छिमेकी भारतको उतराखण्डमा देखा परेका समाचार आईरहेका छन् ।

यसको एउटै हुलमा असी मिलियन (८ करोड) भन्दा धेरै कीराहरु स्वार्म भएर खेतबारीमा जाने र साँझापख जमिनमा बस्ने अनि बिहान पख पात, फलफूलमा गई सबै स्वाहा बनाउँदछन् ।

कति दूरी हिंड्न सक्छन् ?

यिनीहरु १२ माइल प्रति घण्टाका दरले एक ठाउँबाट अर्को ठाउँमा बसाईसराई सर्न सक्दछन् । यिनीहरुको प्रजनन् क्षमता धेरै भएकाले पनि नियन्त्रण गर्न जटिल मानिएको छ ।

यिनीहरुको एउटै स्वार्मले १२०० वर्ग किमी भन्दा धेरै क्षेत्र ओगट्छ । प्रति वर्ग किमीमा ४० देखि ८० मिलियन (४ देखि ८ करोड) सम्म सलहहरु रहन्छन् ।

एक वर्षमै २ देखि ५ पुस्ताहरु उत्पादन गर्न सक्ने सलह एकै दिनमा १०० देखि २०० किमी भन्दा लामो दूरी तय गरेर समुन्द्र सतह देखि २००० मिटर जति माथि उड्न सक्छन् ।

यिनीहरुले पटकमा आफ्नो तौल बराबर (२ ग्राम) को खाना सक्छन् । यसकारण एउटा हुल कुनै खेती बालीमा छिरे भने एकैपटकमा पुरै स्वाहा बनाएर बाली निमिट्यान्न पार्न सक्ने धेरै अध्ययनहरुले भनेका छन् ।

अहिले छिमेकी देश भारतका राजस्थानमा फैलदै गरेको यो कीरा अब हाम्रो देशमा छिर्न कुनै लामो समय लाग्ने छैन । यदि समयमै यसका नियन्त्रण विधिबारे आवश्यक कदम चाल्न सकिएन र कृषकहरुलाई चलन चल्तीका प्रभावकारी उपायहरु पुर्याउन सकिएन भने ठूलो समस्या आउन सक्छ ।
कसरी गर्ने नियन्त्रण
पाकिस्तानमा पनि हालसालै यसको नियन्त्रणमा कठिनाई भएपछि राष्ट्रिय संकट घोषणा गरिएको थियो । यसलाई नियन्त्रण गर्न चीनबाट हाँसहरु ल्याएको पनि समाचार आएका थिए तर त्यो विधि प्रभावकारी हुन नसकेको भन्ने छ । अहिले यसले क्षती पुर्याएका देशहरुमा गरिदैं आएका अभ्यासहरू यस्ता छन्

  • ठूलो आवाज निकाल्ने खालका यन्त्रहरु प्रयोग गरी भगाउने,
  • थाल ठटाउने, वरिपरी आगोको धुँवा लगाउने, ट्रयाक्टरको आवाज प्रयोग गरी हुललाई भगाउने,
  • हवाई जहाजहरु तथा अन्य एरियल स्प्रेयरबाट विषादीहरु उक्त क्षेत्रमा छर्कने,
  • अचल अवस्थाहरू नियन्त्रण गर्ने जैविक नियन्त्रण विधिहरु प्रयोग गर्ने,
  • जैविक विषादीहरुको उपयोग विधि अपनाउने,
  • विभिन्न सर्भेहरु जस्तै जी.पी.एस (GPS), जीआईएस (GIS) को माध्यमबाट यस सम्बन्धि डाटाहरु संकलन गर्ने र सम्भावित प्रभाव क्षेत्रहरु पहिचान गर्ने ।

समयमै रोकथाम तथा नियन्त्रणका सम्भावित विधिहरु अनुसन्धान एवम अवलम्बन गरी सलह कीराको अर्को समस्या खेप्न बाट टाढै रहौं र सबै किसानहरुलाई यसबारे पूर्व जानकारी पुर्याएर पूर्व तयारी तिर लागौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *