बुधबार, २८ कार्तिक २०८१

धान रोप्ने सिजन : सुख्खा र हिले ब्याड कसरी राख्ने ? – प्राविधिक जानकारी

Share via:

 

धान नेपालको मुख्य खाद्यान्न बाली हो । उत्पादनको हिसाबले होस् अथवा लगाउने भूभागको हिसाबले यो सबैभन्दा महत्वपूर्ण बाली हो । विशेषगरी धान दुई मौसम (season) मा लगाइएको पाइन्छ (चैते र बर्खे) कतैकतै हिउँदमा पनि लगाइन्छ जसलाई हामी बोरो धान (Boro rice) भन्छौं । भनिन्छ, बच्चाको वृद्धि विकास सानो छँदाको स्याहार, सुसार र खानपिनमा भर पर्छ । त्यस्तैगरी विरुवाको राम्रो वृद्धि विकासको लागि पनि हामीले बीउ र बेर्ना देखि नै ध्यान दिनुपर्ने हुन्छ । राम्रो बीउबिजन (Healthy seed/ seedling) प्रयोग गरिएमा त्यसबाट उत्पादन हुने विरुवा र दाना (grain) पनि स्वस्थ (healthy) हुन्छ ।

किसानले परम्परागत (traditional) तरिकाले बीउ राख्नाले धेरै रोगकीराको आक्रमण हुनुको सथै वृद्धि विकास नै नभएको र फलस्वरुप उत्पादन नै मेहनत अनुसार नभएको पाइन्छ ।

धानको बीउ राख्दा ध्यान दिनुपर्ने कुराहरु

१.  बीउको छनोट (seed selection)

यो सबैभन्दा महत्वपूर्ण पक्ष हो जसले धेरै कुरामा प्रभाव पारेको हुन्छ । राम्रो बीउ छनोट गर्दा निम्न कुरामा ध्यान दिनुपर्छ ।

 

 

  • उन्नत जातको बीउ छनोट गर्ने,
  • पूर्ण रूपमा जातीय शुद्धता भएको बीउ लिने,
  • आफ्नो लगाउने ठाउँको हावापानी सुहाउँदो (Recommended seed) प्रयोग गर्ने जसले गर्दा जोखिम (risk) कम हुन्छ,
  • बीउ छनोट गर्दा राम्रो, ठुलो दाना भएको, रोग नलागेको, कीराले नखाएको र झरपातको बीउ नमिसिएको हुनुपर्छ ।

 

 

 

२.  बीउ बाहेक अरु कुरा हटाउने (Removal of inert material)

यस अन्तर्गत हामीले बीउमा भएको पपटा, धुलो, कीराले खाएको दाना, हलुका भएका दाना जसको उमारशक्ति कम हुन्छ यस्ता वस्तुहरु हटाउने काम गरिन्छ । यसको लागि नुनपानीको प्रयोग गरिन्छ । नुनपानीको घनत्व (Density) साधारण (normal) पानीको भन्दा बढी हुन्छ जस्ले गर्दा यस्ता वस्तुहरु सजिलै पानीको माथि उत्रिन्छन् जसलाई हामीले सजिलै हटाउन सकिन्छ भने जुन बीउ पानीको पिँधमा थिग्रीन्छन् त्यो बीउ स्वस्थ मानिन्छ नुनपानी बनाउँदा कुखुराको अण्डाले जाँच गर्न सकिन्छ । साधारण पानीमा अण्डा डुब्ने हुन्छ भने नुनपानीमा अण्डा उत्रिन्छ ।

 

यसरी नुनपानी बनाउनको लागि कति पानी चाहिन्छ सोको मात्रा लिनुपर्छ र बिस्तारै नुन घोल्दै जानुपर्छ जब सम्म अण्डा राम्रोसँग पानीमा उत्रदैंन तब सम्म नुन घोल्नु पर्छ । यदि मात्रा भन्दा बढी नुन घोलिएमा धानको भ्रुणलाई असर पार्दछ । सामान्यतया दश लिटर पानीमा ७५० देखि १००० ग्राम नुन घोल्नु पर्दछ ।

(हलुका भएको धान पानी माथि उत्रिएको)

 

 

३. रोप्नु भन्दा पहिले गरिने बीउ उपचार (Seed Priming)

बीउ priming को मुख्य उद्देश्य सुषुप्त अवस्थामा रहेको भ्रुणलाई (embryo) सकृय बनाउनु हो । धेरै समय भणडारण गरेर राखेको बीउको भ्रुण एकैचोटी सक्रिय हुन गाह्रो हुन्छ । त्यसलाई सुख्खा माटोमा सक्रिय हुन अलिबढी समय लाग्छ तसर्थ यसलाई priming बाट सक्रिय गराउने हो भने छिटो र समान रूपमा उम्रने हुन्छ । यहि नै बीउ उपचार वा priming को मुख्य फाईदा हो ।

बीउ उपचार गर्दा सबैभन्दा पहिले बीउलाई ८ देखि १० घन्टा राम्रो सफा पानीमा भिजाउनु पर्छ । तब बीउले पानी सोसेर (imbibition) लिन्छ र भ्रुणलाई सक्रिय बनाउनुको साथै बाहिरी आवरणलाई (Seed coat) कमलो बनाउँछ । यसरी ८ देखि १० घन्टा भिजाएर राखिएको बीउबाट पानी तार्नुपर्दछ । अब बीउबाट प्रसार हुने धुसी (Fungus) बाट लाग्ने रोगको रोकथाम गर्न Carbendazim नामक ढुसीनाशक औषधिले बीउलाई उपचार गर्नुपर्छ (२ देखि ४ ग्राम प्रति किलो बीउका दरले)  अथवा कुनै पनि systemic fungicide ले उपचार गर्न सकिन्छ । यसरी उपचार गरेपछि सबै बीउलाई एउटा जुटको बोरामा हालेर भिरालो, घाम नपर्ने ठाँउमा करिब २४ दखि ४८ घन्टा राख्नुपर्दछ (हल्का टुसा आउन बेला सम्म) अब यो बीउ रोप्नको लागि तयार हुन्छ । (नोट: टुसा एकदमै सानो हुनुपर्छ छर्दा पनि नभाँचिने)

(ढुसीनाशक औषधिले बीउ उपचार अङ्कुराएको बीउ)

 

जग्गाको छनोट र तयारी

सामान्यतया धानको बीउ राख्न पारिलो घाम लाग्ने, उर्वर माटो भएको, सिंचाईको सुविधा नजिक भएको, चरा कीरा र अन्य कुराको नियमित अनुगमन गर्न मिल्ने ठाँउको छनोट गर्नुपर्छ । जग्गाको तयारी गर्दा १ महिना अगाडी सर्वप्रथम गहिरो जोत्नुपर्छ जसले गर्दा रोग तथा कीराको लार्भा, ढुसी आदि मर्छन् । यसरी जोतिएको ठाँउमा राम्रोसंग पाकेको गोबर मल (गाढा खैरो), कम्पोस्ट र अन्य जैविक मल समानुपातिक रूपमा हाल्नुपर्दछ । जैविक मलको साथै रासायनिक मलमा (DAP), पोटास, जिंक आदि हालेर राम्रोसँग जोत्नुपर्छ । यहाँ युरिया पहिले नै हाल्दा खासै राम्रो हुँदैन किनकी यो माटोबाट हराएर (looss) जान्छ तसर्थ युरिया बीउ उम्रेको करिब ७ देखि १० दिन पछि हाल्नु उपयुक्त हुन्छ । यसरी मल हालेपछि राम्रोसंग माटो मसिनो हुनेगरी २ देखि ३ पटक जोत्नुपर्दछ । यसरी तयार गरिएको ठाँउमा यदि सुकेको पराल, घाँस, झारपात आदि छन् भने यसलाई समान रूपमा छरेर आगो लगाउने हो भने पनि माटोमा भएका कीरा र रोगनाशक हुन्छ ।

 

धुलो (सुख्खा) ब्याड बनाउने तरिका

अब तयार गरीएको जग्गामा ब्यड कसरी बनाउने  ।

१ मीटर चौडाई हुने गरी लम्बाई चाहिँ आवश्यक्ता अनुसारको जमिनको सतहबाट करिब १० देखि १५ सेमी अग्लो ब्याड बनाउनु उपयुक्त हुन्छ ।

यसरी ब्याड बनाउदा पानी हाल्न, झार गोड्न, कीरा रोगको नियन्त्रण गर्न तथा अरु धेरै काममा सजिलो हुन्छ ।

ब्याडमा बीउ (टुसाएको) राम्रोसंग बाक्लो हुनेगरी (एक दाना बराबरको बाक्लो Thickness हुने गरी) छर्नुपर्छ र बीउलाई १ इन्च माटोले राम्रोसंग ढाक्नुपर्दछ ।

यसरी बेला बेलामा पानी हाल्ने, झार फल्ने, कीरा तथा रोग नियन्त्रण गर्ने काम जारी राख्नुपर्छ ।

यसरी तयार परेको बीउ करिब १५ देखि २१ दिनमा रोप्नको लागि तयार हुन्छ । (नोट: यो पानीको उपब्लधता अनुसार निर्भर पर्छ।)

 

हिले ब्याड बनाउने तरिका

 

जमिनको खनजोत सबै माथिको जस्तै हो यसमा यति फरक छ की बीउ छर्ने बेलामा हिलाएर (Puddling) आवश्यक्ता अनुसारको ब्याड बनाई पानी ढडाएर गरिन्छ ।

अरु कुरा (बीउको छनोट, बीउको उपचार) सबै माथिको जस्तै हुन् । (नोट: पानी ढडाएर गरीने भएकाले बीउ नभिजाई पनि छर्ने गरिन्छ)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *