नेपाली कृषकको शत्रु ‘शंखेकिरा’
हिजोआज ‘जेइन्ट अफ्रिकन स्नेल’ नामक शंखेकिरा करेसाबारी, फूलबारी, जथाभावी देख्न सकिन्छ । हेर्दा सानो, ढिलो हिँड्ने यो जीव निकै खतरनाक छ । यसले कृषिमा मात्र नभएर वातावरणीय र स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ ।
बहिरी भाग डब्बाजस्तो, चारवटा टेन्टाकल, टेन्टाकालको टुप्पोमा आँखा अनि लमकलमक गर्दै हिँड्ने शंखेकिरा जैविक विविधता, मानव स्वास्थ्य र कृषकको शत्रु बन्दै गइरहेको छ । छुन खोज्दा खबटाभित्र शरीर लुकाउने यो जीव तराई तथा मध्यपहाडी क्षेत्रमा व्यापक रूपमा पाउन थालिएको छ । पूर्वी अफ्रिकाको रैथाने यो जीव नेपालको होइन । भारतको कलकत्ता हुँदै पूर्वी नेपालको तराई आएको मानिने यो जीव मुलुकका सबैजसो भूभागमा फैलिसकेको जीव विज्ञानका ज्ञाता भरत सुब्बाले बताए ।
विराटनगरस्थित स्नातकोत्तर क्याम्पसका जीवशास्त्रका प्राध्यापक सुब्बाले यो जीवबारे पूर्वक्षेत्रमा ११ वर्षअघि अनुसन्धान गरेका थिए । ‘यो जीवबारे विराटनगरको पोखरियामा झन्डै ६ महिनासम्म (सन् २००७ मे–अक्टोबर) अनुसन्धान गरेको थिएँ, यो जीवको खानपिन, बासस्थान, प्रजनन्, संख्या आदिमा शोध भएको थियो ।’ अनुसन्धानमा शंखेकिराले पोखरियाका विभिन्न २१ प्रकारका वनस्पतिलाई प्रत्यक्ष असर गरेको पाइएको थियो ।
‘वनमारा’ जस्तै शंखेकिरा पनि आफैंमा मिचाहा र खतरानक जीव हो । यसलाई कतिपयले कुखुरा र माछाको आहाराका लागि प्रयोग गरेको पाइए पनि यसका बेफाइदा उत्तिकै छन् ।
ओसिलो ठाउँ खोज्दै ट्वाइलेट, बाथरुम, धारातिर आइपुग्ने यो जीवले कम्तीमा ६ प्रकारका जुकाहरू सार्ने गरेको शोधमा पाइएको छ । फोहोर तथा मोइस्चर (ओसिलो) रुचाउने यो जीवले ग्राम नेगेटिभ बेक्ट्रिम, अइरोमोनास हाइड्रोफिलालगायत विभिन्न रोग लगाउने गर्छ । शंखेकिरा प्रजातिमा विद्यावारिधि गरेका डा.प्रेमबहादुर बुडाका अनुसार ‘पर्याप्त मात्रामा खानाको उपलब्ध भएकै अवस्थामा यो जीव तीव्र गतिमा फैलिएको’ हो । बुडाका अनुसार एक जोडी शंखेकिराले ९ वर्षमा १६ ट्रिलियन अण्डा पार्न सक्छ । ‘हर्मोफ्रोडाइट’ (भाले र पोथी लैंगिक कोष एउटै शरीरमा हुने) जीव भए पनि यो जीव अण्डा पार्नैका लागि अर्को किरासँग भर पर्छ ।
मेवा, साग, थुंगे फूल, मुला, गाँजर, फर्सी, काँक्रा, सलगम, काउली, लौका, कोभी, तितेकरेला, केराउ, धान, केरा, बैगुन, सूर्यमुखी, खोर्सानीजस्ता बालीहरू यसले असर गर्ने अनुसन्धान क्रममा भेटिएको छ । नेपालमा यो जीव नियन्त्रणका लागि सरकारी पक्षबाट स्पष्ट योजना ल्याएको देखिँदैन । किसानले लगाएको बाली नष्ट भएपछि स्थानीय तहबाट शंखेकिरा संकलन अभियान सञ्चालन गरेर नष्ट गरिंदै आएको पाइन्छ ।
गत साउन २४ गते मोरङको लेटाङ–९, जाँतेमा १० क्विन्टल शंखेकिरा नष्ट गरिएको थियो । किसानको तरकारीबाली नष्ट गर्न थालेपछि वडा कार्यालयको पहलमा २५ रुपैयाँ प्रतिकेजीको दरले किरा खरिद गरिएको थियो । गत असारमा सल्यानको शारदा–६, बरालामा शंखेकिरा आतंकबाट बच्नका लागि नगरपालिकाले शंखेकिरा संकलन अभियान चलाउनुपर्यो ।
नियन्त्रण गर्नका लागि केही उपाय नलागेपछि ४० रुपैयाँ प्रतिकिलोको दरले खरिद गर्यो । नगरपालिकाले १२ क्विन्टल शंखेकिरा खरिद गरेर नष्ट गरेको थियो । नगरपालिकाका मेयर सुरेश अधिकारीले भने, ‘धेरै किसानले लगाएको तरकारी नष्ट गर्यो । केही गर्दा पनि यसलाई नियन्त्रणमा गर्न नसकिएपछि संकलन अभियानसञ्चालन गरियो ।’
यस्तै, यसअघि सुर्खेतको भेरीगंगा नगरपालिकाका किसान पनि यो जीवबाट दिक्क भएका थिए । छिन्चुमा रहेको साना किसान सहकारी संस्थाले अभियान सञ्चालन गरेर २९ क्विन्टल शंखेकिरा संकलन भएको थियो ।
शंखेकिरा एक शाकाहारी जीव हो । यसले जीवित र मृत बिरुवा खाने गरेको विभिन्न शोधले देखाएको छ । यसका बच्चाले क्याल्सियमका लागि अल्गी र कुहिएका वस्तुहरू खान्छन् । खबटा ५ मिलिमिटर नभएसम्म उनीहरू त्यही खाइरहने अर्काे एक अनुसन्धानमा उल्लेख छ । खबटा हेरेर यो जीवको उमेर बुझ्न सकिने प्राध्यापक बुडाले बताए । कुनै आवाज ननिकाल्ने यो जीवले खाएर, आराम गरेर र हिँडेरै आफ्नो जीवन बिताउँछ ।
८ इन्चसम्म लम्बाइ हुने यो जीवको चौढाइ ३ इन्चसम्म हुन्छ, तौल भने २५० ग्राम वा सोभन्दा बढी हुन्छ । मासंपेशी मद्दतले हिँड्ने यो जीव बेलुकाको समयमा सक्रिय हुन्छ । कृषिउपजमा अधिक क्षति पुर्याउने भएकाले अमेरिकामा शंखेकिरा पाल्न मनाही छ । जनवार वर्गको इन्भर्टिबेट (पछाडिको हड्डी नभएको जीव) अन्तर्गत मोलस्का फाइलमा पर्ने यो जीवको जिब्रो मुखभन्दा ठूलो हुने डाक्टर बुडाले बताए ।
तरकारी तथा अन्नबालीलाई मात्र सखाप पार्ने नभएर यो जीवले जैविक विविधतामा प्रत्यक्ष असर पुर्याउँदै गइरहेको छ । आगन्तुक जीव भएकाले यसले पारिस्थितिक प्रणालीलाई समेत चुनौती दिने त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवं इकोलोजिस्ट डा. मनकुमार धमलाले बताए । यसले बिरुवामा ‘डिफ्लोइसन’ (पात झर्ने) गराइदिनुका साथै बिरुवाको काण्डमा समेत असर पुर्याउँछ । खाद्य चक्रमा असर पुर्याउनुका साथै ग्यास्ट्रोपोड्सका अन्य रैथाने प्रजातिलाई असर पुर्याउने उनले जानकारी दिए । यसले खाद्य शृंखला र खाद्यचक्रमा समेत असर पार्छ ।
यसको नियन्त्रणका लागि मेटलडिहाइड तथा क्याल्सियम आर्सिनेटहरू प्रयोग गरिन्छ । बजारमा पछिल्लो समय ‘मोलुस्साइडल’ रसायन पाउने गरेको छ । त्यस्ता रसायनले जीवको शरीरलाई स्टिमुलेट गर्दै म्युकज ग्रन्थिबाट बाक्लो पदार्थ निकाल्दै डिहाइड्रेसनका कारण यो जीव मर्छ । घरमा प्रयोग गरिने कमल साल्ट (सोडियम क्लोराइड, नुन) को प्रयोग पनि यो जीवलाई नियन्त्रण गर्न सकिन्छ । ‘ग्लोबल इनभेसिस स्पेसिस’ को डाटावेशमा नेपालमा यस्ता आयातित जीव तथा वनस्पतिको संख्या ७९ रहेको उल्लेख छ । त्यसमा पनि अधिकांश मिचाहा प्रवृत्तिकै पाइएका छन् । (गोविन्द पोखरेलले कान्तिपुर दैनिकमा लेखेको एक वर्ष पुरानो लेखबाट )