शुक्रबार, १६ चैत्र २०८०

हिउँका पहाड काटेर सलह चीन गएको रहस्योद्घाटन

गएको अढाइ महिनामा तीन पटक गरेर नेपाल प्रवेश गरेका सलहको प्रकोप “यस वर्षका लागि अब भने टरेको” अधिकारीहरूले बताएका छन् । साउन अन्तिमदेखि नेपालका कुनै पनि भागमा सलहको बगाल देखिएको विवरण आएको छैन ।

तर अधिकारीहरू र कीटविज्ञका भनाइमा यसपालि सलहबारे “नयाँ रहस्योद्घाटन” हुन पुगेको छ ।

त्यसले गर्दा नेपाललाई आगामी दिनमा सलह नियन्त्रणका लागि प्रभावकारी योजना बनाउन सहयोग पुग्ने उनीहरूले बताए।

के हो त्यो रहस्य ?

कीटविज्ञ समुद्रलाल जोशीले यस पटक सलहको आगमनले नेपाललाई धेरै कुरा सिक्ने मौका मिलेको बताए ।

नेपालमा सलह नियन्त्रण र रोकथामका कदमहरू चाल्नका लागि सरकारले गठन गरेको एउटा प्राविधिक कार्यदलमा सदस्य पनि रहिसकेका उनले नेपाल आएका सलह हिमाली क्षेत्र हुँदै तिब्बत गएको प्रमाण फेला परेको बताए ।

जोशीले भने, “यस पटक भारतहुँदै नेपाल आएका सलहहरू नेपालको पहाडी मात्र होइन, हिमाली क्षेत्र समेत पार गरेर तिब्बत पुगेको जानकारी आयो। त्यो भनेको हाम्रा लागि नयाँ रहस्योद्घाटन नै हो।”

“यसअघि हामीले पहाडसम्म गए पनि सलहले हिमालै चढ्ला भन्ने सोचेका थिएनौँ । यो कीरा २० डिग्री सेल्सीअसभन्दा कम तापक्रममा बाँच्दैन भन्ने गरिएको छ। तर यस पटक हिमाल पार गरेर तिब्बत पुगेछ ।”

उनी यो जानकारीले नेपाललाई भविष्यमा सलहबारे काम गर्दा फाइदा पुग्ने र सलहबारे अध्ययनका लागि पनि निकै उपयोगी र नौलो कुरा भएको ठान्छन् ।

कसरी पुगे तिब्बत ?

प्लान्ट क्वारन्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईँका अनुसार गत साउन पहिलो सातातिर चिनियाँ अधिकारीहरूले नेपालको बाटो हुँदै सलह तिब्बतमा पुगेको जानकारी गराएका थिए ।

उनले भने, “मलाई चीनका कृषि अधिकारीहरूले फोन गरेर पनि जानकारी दिनु भएको थियो। पछि जूम मीटिङ पनि गर्‍यौँ र त्यसबारे छलफल गरेका थियौँ।”

“नेपालमा हिमाली जिल्लाहरूमा हुम्ला र मुस्ताङमा सलह पुगेको विवरण आएको थियो। ती क्षेत्रबाटै तिब्बतमा सलह प्रवेश गरेको अनुमान गरिएको छ।”

उनका अनुसार चिनियाँ अधिकारीहरूले नेपाल-चीन सीमा क्षेत्रबाट करिब १० किलोमिटर क्षेत्रभित्र पाँच स्थानमा सलह प्रवेश गरेको जानकारी दिएका थिए।

“तर ती सलह निकै कमजोर अवस्थामा त्यहाँ पुगेकाले खासै क्षति गर्न नसकेको उनीहरूले बताएका थिए,” हुमागाईँले भने।

कीटविज्ञ जोशीका भनाइमा सलह २० डिग्रीभन्दा कम तापक्रममा सलह बाँच्न नसक्ने भए पनि मुस्ताङ, हुम्ला र मुगु जिल्लाका विभिन्न खोँचहरूबाट तापक्रम बढेको बेला ती सलह तिब्बततर्फ प्रवेश गरेका हुनसक्छन्।

चिनियाँ अधिकारीसँग छलफलमा सहभागी अधिकारीहरूका अनुसार पनि सलहले आफ्नो अनुकूलता खोज्ने र त्यस कार्यमा सलहहरू निकै बाठा हुने गरेकाले खोँचबाट तिब्बत प्रवेश गरेको हुनसक्ने चिनियाँ पक्षले अनुमान गरेको छ।

सलह हावाको गतिविपरीत जान नसक्ने भएकाले हावाको गति तिब्बततर्फ सोझिएकाले पनि कतिपय सलह जीवितै तिब्बत पुगेको हुनसक्ने जोशी बताउँछन्।

कस्तो थियो चीनको तयारी?

नेपाली अधिकारीहरूले हिमालसम्म सलह नपुग्ने अनुमान गरिरहेका बेला चीनले भने भारत, पाकिस्तान, नेपाल र म्यान्मारको सीमा हुँदै आफ्नो क्षेत्रमा मरुभूमिबाट आएका सलहहरू प्रवेश गर्न सक्ने पहिल्यै आकलन गरेको थियो।

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार गएको फेब्रुअरीतिरै चीनले त्यसको अनुमान गर्दै रोकथामका कदमहरू चालेको थियो।

चिनियाँ सरकारको नियन्त्रण रहेको पत्रिका चाइन डेलीका अनुसार गत फेब्रुअरीमै त्यहाँको इन्स्टिट्यूट अफ प्लान्ट प्रोटेक्शन अफ द चाइनिज अक्याडमी अफ एग्रिकल्चरल साइन्सले आफ्नो देशको दक्षिणी भागमा सलहको प्रकोप आउन सक्ने जनाएको थियो।

त्यसैअनुसार तयार पनि भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।

अधिकारीहरूले त्यसबेला नेपाल, भारत र पाकिस्तानबाट तिब्बतमा सलह भित्रने अनुमान गरेका थिए।

नेपालमा कहिले भित्रिएको थियो सलह?

असारको दोस्रो हप्ता बारा, सर्लाही र रूपन्देही जिल्लाबाट यो वर्ष पहिलो पटक सलहको बगाल नेपाल प्रवेश गरेको थियो।

त्यसपछि असारको अन्तिम साता भैरहवा र कपिलवस्तु हुँदै सलहको अर्को समूह नेपाल छिर्‍यो। लगत्तै दाङ हुँदै अर्को समूह पनि नेपाल प्रवेश गरेको अधिकारीहरूले पुष्टि गरेका थिए।

ती सलहहरू तीन-चार दिनसम्म पूर्व र पश्चिम दुवैतिरको हावा घुमिरहेकाले बागलुङ, पर्वत, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङलगायतका जिल्लाहरूमा रहेको अधिकारीहरू बताउँछन्।

त्यस्तै पूर्वबाट प्रवेश गरेका सलहहरू पनि सिन्धुलीसम्म पुगेका थिए।

फोटो : विभिन्न स्रोत

पछि बागलुङ पुगेका सलहहरू ढोरपाटन हुँदै मुस्ताङ तर्फ तथा दाङबाट प्रवेश गरेका सलहहरू जुम्ला पुगेको अधिकारीहरूले बताएका थिए। काठमाण्डू उपत्यकमामा पनि सहल आइपुगेको थियो।

तीमध्ये परिपक्व नभइसकेका सलहहरू पछि उड्दै तिब्बत पुगेको अनुमान गरिएको छ।

तर सलहले नेपालमा वंशवृद्धि भने गर्न नसकेको अधिकारीहरू बताउँछन्। सलहका लागि उपयुक्त वातावरण नभएकाले वंशवृद्धि नभएको उनीहरूको तर्क छ।

नेपालमा सलह भित्रिएपछि लगातार वर्षा भएकाले धेरै सलह नेपालभित्रै मरेको विज्ञहरूको अनुमान छ।

नेपालमा कस्तो क्षति भयो?

सलहले पश्चिम नेपालका केही जिल्लामा क्षति पुर्‍याएको अधिकारीहरूले बताएका छन्।

सलहले खाएर नष्ट भएको बालीको लगत सङ्कलन कार्य जारी रहेको उनीहरूको भनाइ छ।

अहिले कोरोनाभाइरस महामारीका कारण लगत सङ्कलन भइनसकेको हुमागाईँले बताए।

उनले भने, “विभिन्न जिल्लाबाट हामीले विवरण माग गरिरहेका छौँ। चाँडै क्षतिको यकिन विवरण आउँला।”

नेपालमा सहल प्रकोपको कस्तो छ इतिहास?

नेपालमा कुनकुन मितिमा सलहको प्रकोप देखा पर्‍यो भन्ने स्पष्ट विवरण पाउन मुस्किल पर्ने जानकारहरू बताउँछन्।

तर इतिहासकारहरूले लेखेका आधारमा र कतिपय जीवित व्यक्तिकै अनुभवका आधारमा गएको १०० वर्षभित्रै केही पटक सहल नेपालमा आइसकेको पाइन्छ।

कतिपयले ६० वर्षको चक्रमा नेपालमा सलहले दुःख दिने गरेको र विसं १९८५ सालमा पनि सलहको ठूलो प्रकोप भएको उल्लेख गरेका छन्।

त्यस्तै केही जीवित व्यक्तिहरूका अनुभवमा विसं २००८ साल र २०११/१२ सालमा पनि सलहको प्रकोप परेको थियो।

म्याग्दीका जितबहादुर बानियाँले रचना गरेको सवाईमा विसं २००८ सालमा सलह आएको उल्लेख छ।

गोपालराजवंशावली अनुसार काठमाण्डू उपत्यकामा विसं १२७७ देखि १४११ सम्म चार पटक सलहको प्रकोप देखापरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित