नेपालको एक रैथाने फूल : बुस्वाँ वा बुकी फूल
इन्द्रजात्राको आगमनसँगै उपत्यकावासीमा एक किसिमको उमंग छाउँछ । दिनरात नभनी खेती किसानीमा जुटेका हात खेतका आली–आलीमा हुर्कंदै गरेको नेपालको रैथाने मौलिक बिरुवा बुस्वाँको जोहो गर्छन् । ताकि इन्द्रजात्रामा ठडिने इन्द्रध्वजवा टोलटोलमा ठड्याइने इन्द्रको प्रतिमा सिँगार्न सकियोस् । समयले कोल्टे फेरेको छ । अहिले इन्द्रजात्रामा इन्द्रध्वज र इन्द्रको प्रतिमा ठड्याउने क्रम रोकिएको छैन । तर बुस्वाँको अभावमा ती इन्द्रध्वज खाँबोमा परिणत भएको छ । त्यसैले रैथाने दुःखेसो मनाउने गर्छन् इन्द्रजात्रा छ, हुनुपर्ने जतिको रौनक छैन ।
विगतमा खेती किसानी गर्दा लागेको घाउचोट निको पार्न बुस्वाँ प्रयोग गरिन्थ्यो । इन्द्रजात्रा आसपास धानखेतमा मौलाएको घाँस उखेल्ने क्रममा लागेको चोट पनि सोही फूलले निको पार्ने गरिन्थ्यो । यसरी औषधीय गुण भएका कारण खेती–किसानीका देवता इन्द्रको पर्व इन्द्रजात्रा मनाइसकेपछि सम्भावित घाउचोटबाट जोगिनका लागि इन्द्रध्वजमा सिँगारिएको बुस्वाँलाई प्रसादको रूपमा घर–घरमा भित्र्याइन्थ्यो । तर आजती सबै किंवदन्तीमा परिणत भएको छ ।
संसारभरमा चार सय १६ परिवार, करिब १३ हजार जाति र करिब तीन लाख प्रजातिका फूलफुल्ने वनस्पतिमध्ये बुस्वाँको विशेष महत्व छ । विश्वविख्यात वनस्पतिविद् फ्रान्सिस बुचानन ह्यामिल्टन वनस्पतिबारे अध्ययन गर्न नेपाल आएका थिए । उनले सन् १८०२ देखि १८०३ सम्म काठमाडौंको नारायणहिटी, स्वयम्भु र हिमाली क्षेत्रको गोसाइँकुण्डमा वनस्पतिबारे खोज गरे । त्यस क्रममाउनले २२ जुन १८०२ मा स्वयम्भुबाट बुँस्वा संकलन गरेका थिए । ह्यामिल्टनले सार्वजनिक गरेको बुँस्वालाई वनस्पतिविद् डाभिड डनले अन्तर्राष्ट्रियकरण गर्ने क्रममा समेत नेपालको रैथानीयतालाई सम्मान गरी ‘नाफालियम बुस्वाँ’नाम राखेकाथिए । यसरी विश्वमा दरिलोसँग नाम स्थापितगर्न सफल बुस्वाँलाई सूर्यमूखी परिवारको ‘कम्पोजिटी’ परिवार र ‘एनाफलिस’जातिमा सूचीकृत गरिएको छ ।
अगुस्टिन पिरामस डी क्यानडोले सन् १८३७ मा प्रकाशित आफ्नो पुस्तक ‘प्रोडोमस सिस्टम्याटिस नेचुरालिज रेगिनी भेजेटाब्लिज’ छैटौँ भोलुममा जाति एनाफलिसको व्याख्या गरेका थिए । यस पुस्तक प्रकाशित हुनुअघि डाभिड डन (१८२५) ले आफ्नो पुस्तक ‘प्रोडोमस फ्लोरी नेपालेन्सिस’मा यस एनाफलिस जातिलाई नाफालियम जातिमा व्याख्या गरेका थिए । ‘ग्लोबल कम्पोजिटी डाटा बेस’ अनुसार संसारमा एनाफलिस जातिमा लगभग एक सय ८५ प्रजाति पाइन्छन् । यस जातिको फूल नेपालीमा बुकीफूलबाट चिनिन्छ ।
नेपालको रैथाने वनस्पतिको अर्थ नेपालको भौगोलिक परिवेशबाहेक अन्य देशमा नपाइने प्रजाति बुझिन्छ । मौलिक तथा स्वदेशी वनस्पति (इन्डिजेनस/नेटिभ) नेपालको भौगोलिक परिवेश र अन्य देशमा पनि पाइने वनस्पति हो ।
‘प्रेस इटी अल–२०००’ अनुसार बुकीफूलका करिब १२ प्रजाति र आठ उपप्रजाति नेपालको ५०० देखि ५,५०० मिटरसम्मको उचाइमा पाइन्छन् । यी प्रजाति नेपालको रैथाने, मौलिक तथा स्वदेशी बुकी फूल हुन् ।
ताप्लेजुङ जिल्लाको फुगलिङ, सोलुखुम्बुको नाम्चे, दोलखाको कुरी, कालिञ्चोक, गोरखाको बारपाक, लाप्राक, मुस्ताङको जोमसोम, मार्फा आदि ठाउँमा बुकीफूल प्राकृतिक वासस्थानमा हुर्किरहेका हुन्छन् । मैले यस फूललाई मुठा बनाएर फूलदानीमा सजावटका लागि राखेको देखेकी थिएँ । फूलको मुठा बनाएर सजाउने भएकाले बुकीफूल नाम भएको बुझिन्छ । वैशाखदेखि कात्तिकसम्म लामो समय डाँडाकाँडा सेताम्य हुने गरी मोतीजस्तै फुलिरहने हुनाले बुकीफूललाई अंग्रेजीमा ‘पर्ली इभरलास्टिङ’ भनिन्छ ।
एनाफलिस बुँस्वाको महत्व
बुकीफूलको जाति नाफालियम हो भने प्रजाति बुस्वाँ हो । नाफालियम बुस्वाँको विवरण सन् १८२५ मा प्रकाशित ‘प्रोडोमस फ्लोरी नेपालेन्सिस’ पुस्तकमा छापिएको छ । अगुस्टिन पिरामुस डे क्यानडोले सन् १८३७ मा नाफालियम बुस्वाँलाई एनाफलिस बुस्वाँ नामाकरण गरे । नेपालभाषामा ‘बु’को अर्थ खेत र ‘स्वाँ’को अर्थ फूल हुन्छ । ‘बुस्वाँ’को अर्थ खेतमाफुल्ने फूलभनी बुझिन्छ । यसको स्पेसियमको हर्बेरियम नाफालियम बुस्वाँको नामाकरणबाट लन्डनको ब्रिटिस म्युजियममा राखिएको छ । यसको मतलब नाफालियम बुस्वाँ विश्वमै सबैभन्दा पहिले नेपालबाट संकलन भएको देखिन्छ । अन्तर्राष्ट्रिय विज्ञले नेवाः नामबाट प्रजाति नामाकरण गरेर महत्व दिएको वनस्पतिलाई हामीले नै चिन्ननसक्नु दुःखद हो ।
फरक भूगोल र समुदायमायसको फरक–फरक नाम छ, जस्तो कि शेर्पा भाषामा ‘रा,उजे’, तामाङ भाषामा ‘तापताप’ र नेपाली भाषामा ‘बुकीफूल’, अंग्रेजीमा ‘पर्ली इभरलास्टिङ’ र नेपाल भाषामा ‘बुँस्वा’ ।
घाउचोट लाग्दा रगतबन्द गर्न बुँस्वाको पात निचोरेर निस्कने झोल लगाइन्थ्यो । बुकीफूललाई शोभनीय फूलको रूपमा बगैँचामा फुलाउन सकिन्छ । यसलाई गमलामा रोप्न पनि सकिन्छ । यो फूल लामो समयसम्म फुल्छ र छिटै ओइलाउँदैन वा सुक्दैन । काठमाडौंमा नेवाः समुदायले चाडपर्वमा पूजाका लागि यो फूलको प्रयोग गर्छन् । नेवाः समुदायले यसलाई ‘ब्याँचा स्वाँ’ पनि भन्ने गर्छ । नेपाल भाषामा ‘ब्याँचा’को अर्थ भ्यागुता र ‘स्वाँ’को अर्थ फूल हुन्छ । भ्यागुतालाई चढाउन प्रयोग गरिने भएकाले ‘ब्याँचा स्वाँ’ र खेतमापाइने हुनाले ‘बुस्वाँ’ भनेको बुझिन्छ ।
जनैपूर्णिमा नेपालका हिन्दू र बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्व हो । जनै पूर्णिलाई नेवाः समुदायले गुन्हुपुन्ही भन्ने गर्छ । ‘गुनु’को अर्थ नवौँ, ‘पुन्ही’को अर्थ पूर्णिमा अर्थात् नेपाल सम्वतको नवौँ महिनामा पर्ने पूर्णिमा भन्ने बुझिन्छ । नवौं महिनामा मनाउने पूर्णिमामानौ थरीका गेडागुडीबाट क्वाटी (क्वा अर्थात् तातो, टी अर्थात् रस) पकाएर खाने र भ्यागुतालाई पनि क्वाटी खुवाउने चलन छ । प्रकृतिपूजक नेवाःजातिले जनैपूर्णिमाको दिन भ्यागुतोलाई पनि पूजा गरी खाना खुवाउने चलन छ । वर्षायाममा बालीमा लाग्ने कीरा खाई कृषि उत्पादन वृद्धिमा सघाउने भएकाले भ्यागुताको गुण सम्झीसिमीको पातमा भात, क्वाटी, काँचोँ मुला, ब्याँचा स्वाँ (बुस्वाँको फूल) राखेर पूजागर्ने प्रचलन छ । कृषि क्षेत्रमा भ्यागुताले पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्ने काममा नेवाः समुदायले र खासगरी कृषकले खेतको चार कुनामा ‘ब्याँचा ब्व (भ्यागुताको थाली) राख्दै आएका छन् ।
बुस्वाँफूललाई घाममा पनि नसुक्ने र राम्रो देखिने, स्वर्गका राजा इन्द्र देवतालाई मनपर्ने फूलका रूपमा लिइन्छ । इन्द्रजात्रामा इन्द्रध्वज सजाउन पनि प्रयोग गरिन्छ । बुस्वाँ नेवाः समुदायको संस्कृतिमा धेरै प्रयोग भइरहने वनस्पति हो । यसलाई निरन्तरता दिनु सबै नयाँ पिँढीको जिम्मेवारी तथा कर्तव्य हो ।
संरक्षण अवस्था
रैथाने र मौलिक थुप्रै महत्वपूर्ण वनस्पति हाम्रो मुलुकबाट लोपोन्मुख अवस्थामा छन् । यसको प्रमुख कारणमा प्राकृतिक प्रकोप, व्यापारिक प्रयोजनका लागि अव्यवस्थित असामयिक संकलन, विकासका नाममा प्रकृतिको विनाश, स्थानीय स्तरमा वनस्पतिबारे सही ज्ञानको अभाव, वनस्पति अध्ययन अनुसन्धानमा न्यून प्राथमिकता र आयातीत वनस्पतिलाई प्राथमिकता आदि हुन् ।
आजभोलि निजी बगैंचा, सडकछेउ, मठ–मन्दिर आदिमा आयातीत फूल मात्र रोपिएको देखिन्छ । रैथाने र मौलिक वनस्पतिहरूको संरक्षणमा ध्यान दिएको देखिँदैन । एनाफलिसको एक प्रजाति एनाफलिस मार्जिटासी विकसित मुलुकमा सडकछेउ, वानस्पतिक उद्यान, सार्वजनिक बगैँचामा लगाएको पाइन्छ । तर विश्वले चिनेको हाम्रो रैथाने वनस्पति बुस्वाँले यहाँको सार्वजनिक ठाउँमा प्राथमिकता पाएको देखिँदैन ।
हाम्रो भूगोलभन्दा बाहिरका अन्यत्र देशबाट आउने प्रजाति (जुन नेपालको रैथाने मौलिक वनस्पति होइनन्) को वृद्धिदर छिटो हुन्छ, धेरै संख्यामा यत्रतत्र छिटो फैलिन्छन् । अझ रैथाने, मौलिक वनस्पतिलाई असर गरेर आफू स्थापित हुन्छन्, त्यस्ता खालको वनस्पतिलाई बाह्य मिचाहा वनस्पति भनिन्छ ।
पहिचानको अभावमा आयातीत वनस्पतिको प्रयोग बढेको र संस्कृति तथा रैथाने वनस्पतिको संरक्षणमा समस्या आएको छ । यसतर्फ बेलैमा सचेत हुन आवश्यक छ ।
यस वर्ष जनैपूर्णिमाको एक दिनअगाडि मैले बजारमा बुस्वाँको नाममा बाह्य मिचाहा वनस्पति फूलका बिरुवा बिक्री गरिरहेको पाएँ ।
जनैपूर्णिमामा भ्यागुतालाई खुवाउने बुस्वाँको सट्टा पातीझार (जसको वैज्ञानिक नाम पारथेनियम हिस्टेरोफोरस, दक्षिण अमेरिकाको वनस्पति) बजारमा बिक्री गर्न राखेको देखियो । यो वनस्पति संसारमा पाइने २६ वटा अति मिचाहा वनस्पतिमा पर्छ । यो उपत्यकामा सहरी क्षेत्रभित्र सडकछेउमा अत्यधिक पाइने मिचाहा वनस्पतिको हो ।
बुस्वाँको नाममा रैथाने वनस्पतिलाई नचिनेका कारण बाह्य मिचाहा प्रजातिको वनस्पतिको प्रयोगले रैथाने मौलिक वनस्पतिलाई विस्थापन गरेका छन् । संस्कृतिसँग नाता जोडेको वनस्पतिको स्थानमा बिरानो वनस्पतिको उपयोग ‘बिरालो थुनेर श्राद्ध गर्ने प्रचलन’जस्तै हो ।
समयमै रैथाने वनस्पतिको संरक्षण र महत्वमा ध्यान दिनु हामी सबैको कर्तव्य हो । अहिले दुई प्रकारको संरक्षण विधि अपनाइएको छ । वनस्पतिको प्राकृतिक वासस्थानमा संरक्षण गर्नेलाई स्व–स्थानीय संरक्षण भनिन्छ । वनस्पतिको प्राकृतिक वासस्थान भन्दाबाहिर गरिने संरक्षणका क्रियाकलापलाई पर–स्थानीय संरक्षण भनिन्छ । हाम्रो नेपाली संस्कृति र सभ्यतामा केही वनस्पति पूजाआजामा प्रयोग हुन्छ भने देवताका नाममा छुट्ट्याएर राख्ने चलन छ ।
रैथाने र मौलिक वनस्पतिको गौरव र इतिहास बोकेका वनस्पतिको सहीपहिचान, उपयोग र दिगो संरक्षणको लागीस्व–स्थानीय र पर–स्थानीय संरक्षण गर्नु सम्बन्धित निकाय र सम्पूर्ण नागरिकको दायित्वभित्र पर्छ । डा. निर्मला जोशीको यो लेख शनिवारको नागरिक दैनिक पत्रिकाबाट लिईएको हो ।