शुक्रबार, १६ चैत्र २०८०

निर्यातको केन्द्रमा भटमासको तेल

Share via:

नेपालबाट भारत निकासी हुँदै आएको प्रशोधित पामोलिन तेलमा रोक लागेपछि नेपालका उद्योगीले भटमासको तेल निर्यातलाई प्राथमिकतामा राखेका छन् । भटमासको तेल निर्यातलाई प्राथमिकतामा राखिएसँगै भन्सार कार्यालय विराटनगरबाट गत आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी निर्यात हुनेमा प्रशोधित भटमासको तेल पहिलो सूचीमा देखिएको हो ।

मोरङ र सुनसरीमा सञ्चालित स्वस्तिक आयल, क्वालिटी आयल, पशुपति खाद्यतेल उद्योग, बाबा आयल, बागमती आयल, श्रीराम रिफाइनरी र एभरेस्ट सोल्भेन्टले साढे १५ अर्ब रुपियाँभन्दा बढीको भटमासको तेल निर्यात गरेको पाइएको छ । भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत आवमा १५ अर्ब ६७ करोड ३१ लाख रुपियाँ बराबरको ९० हजार ३१० मेट्रिक टन भटमासको तेल निर्यात गरिएको छ ।

निर्यात मात्रै नभई आयाततर्फ मूल्यका आधारमा सबैभन्दा बढी पैठारी हुनेमा पनि भटमासको कच्चा तेल भएको छ । उक्त आवमा १४ अर्ब ९० करोड ५६ लाख मूल्यको एक लाख २० हजार टन भटमासको कच्चा तेलको पैठारी गरिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

विराटनगर भन्सार हुँदै निकासी हुने दोस्रो वस्तुमा सिन्थेटिक यार्न छ । करिडोरको एक मात्र उद्योग रिलाइन्स स्पिनिङले सिन्थेटिक यार्न निकासी गर्दै आएको छ । रिलाइन्सले पाँच अर्ब ४९ करोड आठ लाख रुपियाँको २१ हजार १५६ टन धागो निकासी गरेको छ ।

यसैगरी जुटु गार्मेन्ट तेस्रो नम्बरमा निकासी हुने वस्तुको सूचीमा रहेको छ । गत आव चार अर्ब २९ करोड दुई लाखको नौ करोड ४५ लाख ५७ हजार वर्गमिटर जुट गार्मेन्ट निकासी भएको हो । त्यस्तै जुटका झोला र बोराको निकासी दुई अर्ब ४१ करोड ४८ लाख बराबरको १६ हजार ५९३ टन गरिएको छ ।
विराटनगर नाका हुँदै नाइलन, पोलिमाइड र पोलिस्टर कपडाको निर्यात बढेको छ । यस्तो कपडा दुई अर्ब १९ करोड ८४ लाख मूल्यको १५ करोड ७५ लाख १३ हजार वर्गमिटर कपडा निकासी भएको छ ।

त्यस्तै एक अर्ब १६ करोड २८ लाख मूल्यको आठ हजार १३२ टन चाउचाउ, पास्ता र नुडल्स, ८८ करोड ८१ लाख मूल्यको २५ हजार ९६५ टन पिना र ४६ करोड २७ लाख मूल्यको तीन हजार ६८६ टन सनपाटको धागो पनि निकासीका मुख्य १० वस्तुमा परेका छन् । भटमासबाहेक सूर्यमुखी तेल ४४ करोड ९३ लाख मूल्यको दुई हजार ६२० टन निर्यात भएको छ । यसैगरी ४४ करोड २० लाख मूल्यको तामाको पाता निकासी भएको छ । यसैगरी मूल्यका आधारमा दोस्रो नम्बरमा पैठारी गरिनेमा फलामे डन्डीको कच्चा पदार्थ एमएस बिलेट भएको छ । गत आवमा १० अर्ब ११ करोड ६२ लाख मूल्यको एक लाख ७० हजार १४२ टन एमएस बिलेटको पैठारी गरिएको छ ।

प्लास्टिकका भाँडाकुँडा, फर्निचर, ओभन स्याक्स र झोलाको कच्चा पदार्थ पोलिथिन दानाको पैठारी पनि उत्साहजनक पाइएको छ । उक्त आवमा नौ अर्ब १२ करोड ७७ लाख मूल्यको ६२ हजार ९०२ टन पोलिथिन दानाको पैठारी भएको देखिन्छ । फलामे तार र अन्य फलामे सामग्रीको कच्चा पदार्थ स्टिल वायर रड इन क्वाइल छ अर्ब ६८ करोड ७० लाखको १० हजार १३७ टन, छ अर्ब ४३ करोड ५४ लाखको छ करोड ४५ लाख ९० हजार थान तयारी कपडा र पाँच अर्ब ७८ करोड ५० लाखको ४२ हजार एक मेट्रिक टन सूर्यमुखीको कच्चा तेलको पनि आयात भएको भन्सार कार्यालयको तथ्याङ्क छ ।

विराटनगर नाका हुँदै गत आवमा पाँच अर्ब ३४ करोड १८ लाखको दुई लाख तीन हजार ५७९ टन मकै, पाँच अर्ब छ करोड सात लाख मूल्यको ६० हजार ३८८ टन कर्कट पाताको कच्चा पदार्थ सीआर सिट र चार अर्ब ९४ करोड ३४ लाख मूल्यको ६५ हजार ७८८ टन एलपी ग्यास पैठारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित