कर्णालीको स्याऊले बजार पाएन

डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–४ सु र रंगगाउँ जिल्लाकै बढी स्याउ फल्ने ठाउँ हुन् । जहाँ झन्डै १ सय घरमा स्याउ खेती भइरहेको छ । स्थानीय राजेन्द्र बुढाले १५ वर्षदेखि व्यावसायिक स्याउ खेती गर्दै आएका छन् । उनको ७ रोपनी जग्गामा ३ सय बोटमा स्याउ फलिरहेका छन् । गत वर्ष ३५ क्विन्टल स्याउ उत्पादन गरेका उनको बारीमा यो वर्ष झन्डै ३० क्विन्टल फल्यो ।
उनलाई बर्सेनि स्याउ कसरी पुर्याउने भन्ने चिन्ता हुन्थ्यो, यसपालि भने उनको बारीमै व्यापारी पुगेका छन् । ‘दुई वर्षअघिसम्म उत्पादन गरेको स्याउ गाईभैंसी र गोरुलाई खुवाउनुपर्ने बाध्यता थियो, केही स्याउको रक्सी बनाउँथ्यौं,’ उनले भने, ‘अहिले स्याउ किन्न व्यापारी बारीमै पुग्छन् । तर भाउ कहिल्यै पाइँदैन । हामी बजारमा आफैं स्याउ पुर्याउन नसक्दा सबै स्याउ व्यापारीको जिम्मा लगाउन बाध्य छौं ।’
उनले यो वर्ष बारीमै पुगेका नेपालगन्जका एक व्यापारीलाई ३५ रुपैयाँ किलोमा स्याउ बिक्री गरे । कालीकोटको रास्कोट–९ फुकोटका भूमीश्वर उपाध्यायको बारीभरि लटरम्म स्याउ फलेका छन् । तीन दशकदेखि स्याउखेतीमा लागेका उनको बारीमा झन्डै २ सय बोटमा स्याउ फलेका छन् । गत वर्ष उनले झन्डै ३० क्विन्टल स्याउ उत्पादन गरे । यो वर्ष पनि पोहर सालजति नै स्याउ फलेका छन् । तर उनलाई बारीमा उत्पादित स्याउ मोटरबाटोसम्मै पुर्याउन ५ घण्टाभन्दा बढी लाग्छ ।
‘गाउँमा सडक सुविधा छैन, कर्णाली राजमार्गसम्म लैजान डोकोमा स्याउ बोक्नुपर्छ,’ उनले भने, ‘सुर्खेतका बजारमा १ सयदेखि १ सय ५० रुपैयाँ किलो स्याउ बिक्री भइरहेको छ, हामी भने ५ रुपैयाँ दाना बेच्न बाध्य छौं ।’ उत्पादन गरेको स्याउ बजार पुर्याउन ढुवानी भाडा प्रतिकिलो २० रुपैयाँसम्म लाग्ने उनले गुनासो गरे । गाउँमा उत्पादित स्याउ सुर्खेत र नेपालगन्ज पुर्याउन ४/५ दिन लाग्छ । ‘आधा स्याउ त बाटोमै कुहिन्छ,’ उनले भने, ‘हाम्रो स्याउले न राम्रो भाउ पाउँछ, न बजार ।’ कच्ची बाटोले गर्दा गाउँका झन्डै ५० किसानले स्याउ बजारसम्म पुर्याउन नसक्ने उनको गुनासो छ ।
कर्णालीमा झन्डै ७ हजार ९ सय ५० हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ । यसमध्ये करिब ४ हजार हेक्टरमा स्याउ फलिरहेको कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक छ । तर हुम्ला, मुगु, कालीकोट र डोल्पामा उत्पादित स्याउ बजार पुर्याउनै मुस्किल भएको किसान बताउँछन् ।