बुढ्यौली उमेरमा खोलाको माछा संरक्षणमा जम्दै

स्थानीय खोलामा माछा हराउन थालेपछि लमजुङको क्व्होलासोथर गाउँपालिका अन्तर्गत घाम्राङबेशीका ४ जना वृद्दहरु मिलेर सामुहिक माछापालन सुरु गरेका छन् । घाम्राङबेशीका ६६ वर्षीय बजिरी गुरुङ, ६० वर्षीय डम्मरजङ गुरुङ, ५७ वर्षीय रामबहादुर गुरुङ र ६५ वर्षीय पसबहादुर गुरुङले माछापालन गर्नु भएको हो ।
जलविद्युत आयोजना निर्माण प्रक्रियामा आएपछि स्थानीय खोला मिदिमखोलाबाट माछा हराउन थालेको स्थानीयहरु बताउँछन् ।
एक महिना समय लगाएर पोखरी खनेर मिदिम्खोलाको माछा ल्याई स्थानीय ४ जना वृद्दहरुको समूहले माछापालन सुरु गरेको हो । बेग्नाश तालबाट पनि माछाका भुरा ल्याएर पोखरीमा राखिएको ६० वर्षीय डम्मरजङ गुरुङले बताउनुभयो ।
गाउँपालिकाबाट ६ लाख रुपैयाँ अनुदान पाएपछि थप हौसलाका साथ कार्यक्रम गरेको कृषकहरु बताउँछन् । बुढ्यौली उमेरमा माछाबाट राम्रो आम्दानी पनि हुने र माछाको संरक्षण पनि हुने हुनाले माछापालानमा बुढ्यौली उमेरमा पनि सक्रिय रहेको समुहका कृषकहरु बताउँछन् । माछा नसुकाई बेच्दा ६०० रुपैयाँ किलोले बिक्रि हुने र सुकेको माछाको प्रति केजी ३५ सय रुपैयाँ सम्म पर्ने किसानहरु बताउँछन् ।