गाउँका बुङ्गो शहरमा आएपछि महँगो

झिसमिसेमै विराटनगर अस्पताल चौकमा भेटिनु हुने मोरङ जहदा गाउँपालिका–४, केवलासा टोलका चिसुदु ऋषिदेव दिनभर गाउँका घरघरमा डुल्नुहुन्छ । दिउँसो गाउँ घुम्ने र बिहान विराटनगर रुङ्ने दैनिकी ५२ वर्षीय ऋषिदेवले आफैँ बसाउनु भएको भने हैन ।
बुबाकै पालादेखि सुरु भएको दैनिकी ४० वर्षयता निरन्तर छ । गाउँघरको तरकारी किनेर सहरका चौकमा चारघण्टा बस्दा ऋषिदेवको दैनिक जीविकोपार्जनसँगै तालिका बन्ने गरेको छ । गाउँघरमा खासै महìव नदिइने केराको बुङ्गा (फूल) सहरका घरमा सजिलै स्वीकारिने गरिएपछि ऋषिदेवले पछिल्लो पाँच वर्षदेखि आफ्नो कमाई खाने पेसा बुङ्गामा केन्द्रित गर्नुभएको छ । गाउँभरका बुङ्गा किनेर सहरमा ल्याउँदा नाफा पनि आश लाग्दै हुने गरेको छ । गाउँका बुङ्गा सहरमा महँगा, ऋषिदेवले भन्नुभयो, तराई समुदायका घरहरूमा केराको बुङ्गालाई खासै ध्यान दिइँदैन तर सहरमा यसको निकै महìव छ ।
गाउँघरमा किन्दा बुङ्गाको आकार हेरेर मूल्य कायम हुने गरेको छ । विराटनगरमा बुङ्गा व्यापारी ऋषिदेवसँग खरिद गर्ने उपभोक्ताले पनि आकार हेरेरै दाम दिन्छन् । सानो बुङ्गाको २५ रुपियाँ पर्दछ, ऋषिदेवले भन्नुभयो, गाउँघरबाट जति बुङ्गा लिएर आए पनि फर्काएर जानु पर्दैन, दैनिक ५० वटासम्म बुङ्गा बिक्री गरेर घर फर्केको दिन पनि छन् । आकार हेरेर ठूलोलाई ६० रुपिँयासम्म दाम दिएर उपभोक्ताले खरिद गर्ने गरेको बुङ्गाको गाउँघरमा १० देखि २० रुपियाँ मात्रै मूल्य पर्ने गर्दछ ।
जहदा गाउँपालिकासहित नजिकको ग्रामथान र रङ्गेली नगरपालिकासम्मको दक्षिणवर्ती गाउँ घुमेर बुङ्गा सङ्कलन गर्ने गरिएको छ । गाउँघरमा केराको बुङ्गा बिक्री गर्नुपर्ने भए ऋषिदेवलाई फोनमार्फत खबरसमेत गर्ने गरिएको छ ।