कृषि पढेकालाई कृषि व्यवसायी बनाउने प्रदेश ५ सरकारको तयारी
कृषि विषयमा जुनसुकै तहको अध्ययन हासिल गरेका युवालाई कृषिमै लागेर व्यवसाय गर्नलाई प्रदेश ५ ले नयाँ कार्यक्रम ल्याउने भएको छ ।
४० वर्ष ननाघेका कृषिका विद्यार्थीले अनुदान लिन पाउने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताउनु भयो ।
‘कृषि पढेपछि, प्रोजेक्टमा जाने, सरकारी जागीर खाने जागीरे मानसिकता रहेकाले कृषि पढेको मान्छे आफै खेतीमा लाग्नु पर्नेमा मन्त्री पौडेलले जोड दिनुभयो ।
कृषि उद्यमी बन्न चाहनेले लगानीका आधारमा बढीमा १० लाख रुपैयाँ अनुदान प्राप्त गर्ने सकिने प्रावधान रहने छ ।
अनुदान पश्चात् फलफूल नर्सरी, मौरीपालन व्यवसाय, व्यवसायिक फलफूल खेती, व्यवसायिक तरकारी खेती, च्याउ खेती गर्न सकिनेछ । त्यसैगरी व्यवसायिक पशुपालन, पंछीपालन, माछापालनका लागि पनि अनुदान प्राप्त गर्न सकिने छ। त्यस्तै कृषिसँग सम्बन्धित प्रयोगशाला, बजार विकास कार्यक्रम, कृषि तथा पशुसँग सम्बन्धित नवीन सोंचमा आधारित अन्य प्रस्ताव पनि गर्न सकिने छ। यस वर्ष कृषि पढेकालाई अनुदानको लागि २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
अनुदानको प्रस्तावको लागि लागि नेपाली नागरिकताको फोटोकपी, सम्बन्धित विषयको शैक्षिक प्रमाणपत्रको फोटोकपी र आवेदकले कृषि क्षेत्रमा काम गरेको अनुभवको कागजपत्र बुझाउनु पर्दछ। त्यसैगरी सम्बन्धित स्थानीय तहको कृषि शाखाबाट कार्यक्रम सञ्चालन गरिने स्थानमा भौतिक पूर्वाधारहरु जस्तै सडक, पानी, बिजुली आदिको उपलब्धता र स्थानीय तहको प्राथमिकता क्षेत्रमा रहेको व्यहोराको सिफारिस पत्र आवश्यक पर्छ। सम्बन्धित कृषि ज्ञान केन्द्र वा विज्ञ केन्द्रबाट कार्यक्रम सञ्चालन गरिने स्थान प्राविधिक रुपमा उपयुक्त रहेको व्यहोराको सिफारिस पत्र, जग्गाको जग्गाधनी प्रमाणपूर्जा वा लिजमा लिएको भए १० वर्षको सम्झौता पत्र र सम्बन्धित जग्गाधनी प्रमाणपूर्जाको फोटोकपी, प्रस्तावको कम्तीमा १० वर्षसम्म व्यवसाय सञ्चालन गर्ने अनुसुची २ बमोजिमको प्रतिबद्धता पत्र पनि बुझाउनुपर्ने छ।
यस कार्यक्रमका लागि कृषि उद्यम वा व्यवसाय गर्नेले कहीँ कतै स्थायी जागिर गरेको हुनुहुँदैन। सरकारी, गैरसरकारी तथा शैक्षिक क्षेत्रमा स्थायी जागिर नगरेको व्यहोरा खुल्ने स्वघोषणा पत्रका साथै प्रस्तावकले व्यहोर्नुपर्ने रकम नगद मौज्दात रहेको प्रमाण बैंक स्टेटमेन्ट वा लगानीको श्रोतको आधार पनि बुझाउनुपर्ने छ।