शनिबार, ०५ वैशाख २०८३

कोरोना संकटको पाठ : बाँझो जग्गामा खेती प्रवर्द्धन कार्यक्रम

 

कोरोना संक्रमणको कारण भविष्यमा खाद्य संकट आउन नदिन धुर्कोट गाउँपालिकाले किसानलाई कृषिमा थप उत्साहित बनाउन योजना अघि राखेर कार्यक्रम अगि बढाएको छ । कोरोना संकट संगै गाउँमा काम गर्ने जनशक्ति कम भएको र स्थानीय कृषि जन्य उत्पादन कम भएको हुँदा गाउँपालिकाले यस्तो कार्यक्रम अघि सारेको हो।

विश्वभर फैलिएको कोरोना संक्रमणको कारण पर्न सक्ने खाद्य संकटको बारेमा विश्व खाद्य संगठनले समेत सवैलाई ध्यानाकर्षण गराउँदै आएको छ । सोहि अवस्थालाई मध्यनजर गरेर मंगलबार बसेको गाउँकार्यपालिकाको बैठकले बिशेष चार प्रकार कृषि कर्मको लागि अनुदानको व्यावस्था गरेको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले जानकारी दिए । बाँझो जग्गामा सुन्तला, कागती तथा अन्य फलफुल खेति गरेमा प्रति रोपनी तीन हजार अनुदान, बाँझो जग्गामा अन्न तथा तरकारी बाली वा मसलेदार खेति गरेमा प्रति रोपनी चार हजार अनुदान उपलब्ध गराउने निर्णय बैठकले गरेको पोख्रेलले बताए ।

अर्काको जमिन गरे पनि अनुदान

धुर्कोट गाउँपालिकाले लक डाउनका कारण गाउँपालिकाको तर्फबाट खाद्यान्य प्राप्त गरेका विपन्न परिवारले आफ्नो बाँझो जमिन वा अरुको जग्गा भाडामा लिएर अन्न, तरकारी, फलफुल तथा मसलेदार खेती गरेमा पनि प्रति रोपनी पाँच हजार अनुदान प्रदान गर्ने व्यावस्था गरेको छ । साथै गाउँपालिका भित्र कुनै व्यक्तिले खेति योग्य जमिन बाँझो राखेमा आगामी गाउँ सभाबाट त्यस्ता जमिनको भुमिकर वृद्दि गर्ने निर्णय कार्यापालिका बैठकले गरेको गाउँपालिकाका प्रमुख भुपाल पोख्रेलले बताए । ‘गाउँका अधिकांश जमिन बाँझो बनेर बसेका छन्, जमिन र उत्पादनको महत्व नाकाबन्दी र कोरोनाले राम्रोसंग गराए,’उनले भने,‘ अब त्यस्ता जमिनमा उत्पादनको विकल्प नभएकाले यो निर्णय गरेका हौ ।’

 

(पालिकाको कार्यक्रम सम्बन्धि सूचना)

कृषि उत्पादनमा आधारित अनुदान

धुर्कोट गाउँपालिकाले पहिलो गाउँ सभाबाटै कृषि जन्य उत्पादनमा अनुदानको व्यवस्था गर्दै आएको छ । गाउँपालिकाले जिउंदो खसी बोका विक्रि गर्नेलाई प्रति केजी ५० रुपैंया, वार्षिक एक सय लेयर्स र १० लोकल कुखुरा पालेर व्यवसायीक अण्डा उत्पादन गर्नेलाई प्रति अण्डा दुई रुपैंया, मासिक एक सय लिटर भन्दा बढी दुध उत्पादन गरेर विक्रि गर्ने किसानलाई प्रति लिटर दुई रुपैंया गाउँपालिकाले अनुदान प्रदान गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले बताए ।
त्यस्तै कृषिमा बार्षिक पाँच क्वीन्टल भन्दा बढी टमाटर उत्पादन गर्नेलाई प्रति केजी पाँच रुपैंया, दुई क्वीन्टल लसुन, चार क्वीन्टल प्याज उत्पादन गर्नेलाई प्रति केजी १० रुपैयाँ, कागती खेति तर्फ चार सय बोट रोप्ने किसानलाई पहिलो बर्ष रोप्न ७५ हजार र दोस्रो बर्षबाट प्रति बोट एक सय अनुदान दिने पन्थीले जानकारी दिए । साथै सुन्तला र कफिमा पनि एक सयभन्दा बढि रोप्ने किसानलाई प्रति बोट ४० रुपैयाँ अनुदान प्रदान गरिदै आएको प्रशासकीय अधिकृत पन्थीले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *