बुधबार, १४ माघ २०७७

कोरोना प्रभाव : अमेरिका दैनिक करोडौंको दूध र तरकारी सडकमा

Share via:
  •  
  •  
  •  
  •  
  •  

 

विश्वभरका डेरी एवं तरकारी किसानले प्रतिदिन करोडौँ लिटर ताजा दूध र लाखौँ टन तरकारी नष्ट गरिरहेका छन् । कोभिड–१९ को महामारीका कारण बजार, ठूला ग्राहक–रेस्टुराँ, होटेल एवं स्कुल बन्द भई बिक्री हुन छाडेपछि किसानले दूध तथा ताजा तरकारी नष्ट गर्नुपरिरहेको हो ।

बजार अभाव एवं खपत कमीका कारण अमेरिकाका विसकिन्सन एवं ओहियो राज्यका किसानले मात्रै पनि दैनिक लाखौँ लिटर दूध पोखिरहेको न्युयोर्क टाइम्सले लेखेको छ । फ्लोरिडा राज्यको दक्षिणी भेगमा रहेको एउटा सानो सहर आइडाहोका किसानले साढे ४ लाख किलो प्याज पुर्न खनेको खाडलको प्रतिनिधि तस्बिर न्युयोर्क टाइम्सले छापेको छ  ।

यी त केही प्रतिनिधि घटना मात्रै हुन् । अहिले विश्वभरकै किसान, खासगरी डेरी तथा ताजा तरकारी एवं फलफूलका किसान आफ्ना उत्पादन कुनै न कुनै तरिकाले नष्ट गर्न बाध्य छन् । केहीले सित्तैमा बाँडिरहेका छन् । तैपनि उनीहरूसँग उत्पादन नष्ट गर्नुको अर्का विकल्प छैन ।

अमेरिकाको सबैभन्दा धेरै सिमी, बोडी एवं बन्दाकोभी उत्पादन गर्ने क्षेत्र दक्षिणी फ्लोरिडाका किसानले आफ्ना खेतबारीमा ट्याक्टर लगाएर ताजा तरकारी नष्ट गरिरहेका छन् । ती खेतमा किसानहरूले छिट्टै अर्का खेपको तरकारी रोप्नु छ ।

अमेरिकाको दूध उत्पादकहरूको सबैभन्दा ठूलो सहकारी ‘डेरी फर्मस अफ अमेरिका’का अनुसार अमेरिकी किसानले हरेक दिन ३७ लाख ग्यालन दूध पोख्नुपरेको छ । अहिले अमेरिकामा मात्रै प्रतिदिन लगभग १ करोड ४० लाख लिटर दूध नष्ट भइरहेको छ । डेरी उद्योगहरू एकातिर उत्पादित दूध नष्ट गर्न बाध्य छन् भने अर्कातर्फ दूध दुहुने र त्यसलाई नष्ट गर्नसमेतको खर्च व्यहोर्नुपरिरहेको छ । उनीहरूले केही उत्पादन च्यारिटीमा नदिएका पनि होइनन, तैपनि उनीहरूले ठूलो परिमाणमा उत्पादन नाश गर्नुपरिरहेको छ ।

‘यो निकै हृदयविदारक छ,’ दक्षिणी फ्लोरिडा र जोर्जियामा तरकारी लगाउने एकजना ठूला किसान पाउल एलेन दुखेसो पोख्छन् । उनले अहिलेसम्म लाखौँ किलो तरकारी नष्ट गरिसकेका छन् । र, तयारी खेतीमाथि ट्याक्टर जोतेर अर्का खेपको ताजा तरकारी लगाउँदै छन् । महामारीको संक्रमण नियन्त्रण भएन भने उनलाई यो अर्का खेपको तरकारी पनि नष्ट गर्नुपर्ने हो कि भनेर धेरै चिन्ता लागिरहेको छ ।

अहिले अमेरिकी किसानले एउटा अर्का कुराको अनुभव पनि सँगाल्दै छन् । ओरिगन राज्यका तेस्रो पुस्ताका प्याज किसान से मेयर्स भन्छन्, ‘मानिसहरू घरमा अनियन रिङ्स बनाएर त खाँदैनन् नि ।’ अमेरिकीहरू रेस्टुराँमा खाँदा भेजिटेबलका धेरै नै परिकार खाने, तर आफैँले पकाउनुपर्दा धेरै व्यञ्जन नबनाउने उनीहरूको भोगाइले देखाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *