देशकै ठुलो धूलो दूध उत्पादक कारखाना बन्द हुने
सरकारले लकडाउनमा अत्यावश्यक वस्तु उत्पादक उद्योग र विक्रेतालाई नरोक्ने नीति लिए पनि मुलुककै ठूलो धुलो दूध कारखाना चितवन मिल्क भने फेरि बन्द भएको छ । यसअघि पनि बन्दा हुँदा किसानको दबाब थेग्न नसकी सञ्चालनमा ल्याउनुपरेको उक्त कारखाना १ वैशाखदेखि फेरि पूर्ण रूपमा बन्द भएको हो । पहिले कोरोना संक्रमणको डरले २१ चैतमा बन्द भएको थियो । तर, दूध विक्रेता किसानको दबाब थेग्न नसकेपछि २४ चैतमा खोलिएको थियो ।
अहिले भने पाउडर दूध बनाउने मेसिन नै बिग्रेकाले कारखाना बन्द गर्नुको विकल्प नरहेको उद्योग व्यवस्थापनले जनाएको छ । चितवन मिल्क उद्योगका इन्चार्ज दुर्गा पराजुलीले भने, ‘बाक्लो दूधलाई पाउडरमा प्रशोधन गर्ने मेसिन बिग्रिएको छ,’ भरतपुर महानगरपालिका– १ ठिमुराका इन्चार्ज दुर्गा पराजुलीले भने, ‘मर्मतको आवश्यक सामान जर्मनीबाट ल्याउनुपर्ने भएकाले कम्तीमा १५ दिन लाग्न सक्छ ।’
किसानले भने विपद्का वेला उद्योगले बहाना बनाएको हुन सक्ने गुनासो गरेका छन् । टाढा–टाढाबाट दूध संकलन गर्नुपर्ने र प्रशासनले कारखानाको ढुवानी साधनलाई सुरक्षा नदिएकाले उद्योग बन्द गरिएको उनीहरूको अनुमान छ ।
उद्योगले दैनिक ८० हजार लिटरसम्म दूध प्रशोधन गर्दै आएको थियो । यो उद्योगमा पूर्वमा इलामदेखि दाङसम्मको दूध संकलन हुन्थ्यो । उत्पादित पाउडर, बटरले ५० टन क्षमताको कोल्ड स्टोर भरिएको र राख्ने ठाउँसमेत नभएको पराजुलीले बताए ।
दूधमा आत्मनिर्भर जिल्ला चितवनमा दैनिक ३ लाख लिटर उत्पादन हुन्छ । मौज्दात दूध प्रशस्त भएको, काम गर्ने कर्मचारीसमेत नभएको भन्दै स्थानीय डेरीले दूध खरिद गर्न छाडेका छन् । किसानबाट संकलित दूध सहकारीमार्फत काठमाडौंका हिमालय डेरी, नवप्रभात डेरी, नेपाल डेरी, कन्ट्री फुड प्रालि, सुजल डेरी, तुलसा डेरीलगायत दर्जनभन्दा बढी डेरीलाई आपूर्ति हुन्थ्यो । अहिले दुग्ध विकास संस्थान (डिडिसी) र पोखराको सुजल डेरीले मात्र लिन गरेको छ । दूध बिक्री हुन छाडेपछि फाल्नुको विकल्प नरहेको किसानको गुनासो छ ।