किसानले बोधिचित्त बेचेर एकै वर्षमा भित्र्याए तीन करोड

रामेछापको सुनापति गाउँपालिकाका किसानले बोधिचित्त बेचेर नमग्य आम्दानी गरिरहेका छन् । बेथानका किसानलेएक वर्षमा तीन करोड रुपैयाँ आम्दानी गरेका छन् । गाउँपालिकाका अध्यक्ष धावा लामाले बोधिचित्तको दाना बिक्रीबाट यस आर्थिक वर्षमा मात्रै सुनापतिको दुईवटा वडाका किसानले तीन करोड रुपैयाँबराबर आम्दानी गरेको जानकारी दिए । ‘बोधिचित्तको खेती गरिरहेका किसानले मनग्य आम्दानी गरिरहेका छन्,’ नयाँ पत्रिकासँग अध्यक्ष लामाले भने, ‘रूखबाटै चोरी हुने डरले कतिपय किसानले त दिनको एक हजार रुपैयाँसम्म दिएर राति–राति सुरक्षागार्ड राख्ने गरेका छन् । यसैबाट बोधिचित्त कति महँगो छ भन्ने स्पष्ट हुन्छ ।’
प्रतिकेजी २५ रुपैयाँ राजस्व
बोधिचित्त बिक्रीबाट किसानले मनग्य आम्दानी गर्न थालेपछि सुनापति गाउँपालिकाले त्यसमा कर लगाउनसुरु गरेको छ । व्यावसायिक रूपमा बोधिचित्त खेती गरेका किसानबाट प्रतिकेजी २५ रुपैयाँ राजस्व उठाउने निर्णय गाउँपालिकाले गरेको छ । त्यसबापत किसानलाई आवश्यक पर्ने बिरुवा उपलब्ध गराउने, बजारीकरणको व्यवस्थापन गर्ने काममा सहयोगपु-याइने गाउँपालिकाका अध्यक्ष लामाले दाबी गरे ।
गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत सुनील निरौलाले किसानको आयआर्जनमा वृद्धि भएसँगै त्यसको लाभ गाउँपालिकालाई होस् भनेर कर लिने व्यवस्था गरिएको बताए । त्यसरी उठाइने कर कृषि र पशु विकासमा खर्च गरिने उनले जानकारी दिए ।
१७ वर्षदेखि बोधिचित्तको खेती
यहाँका अधिकांश किसानले राम्रो आम्दानी हुने यो खेती गर्दै आएका छन् । कतिपयले १७ वर्षअघिदेखि खेती गर्दै आएका छन् । सुरुमा उनीहरूले छिमेकी जिल्ला काभ्रेको तिमाल गाउँबाट प्रतिबोट पाँच हजार रुपैयाँसम्म तिरेर बोधिचित्तका बिरुवा खरिद गरेर खेती सुरु गरेका थिए । बोधिचित्तको दाना बिक्री गर्दा एउटै रुखबाट ७५ हजारदेखि ६० लाख रुपैयाँसम्म आम्दानी हुने किसानकोभनाइ छ ।
स्थानीय दानबहादुर तामाङले अन्य बाली छाडेर बोधिचित्त लगाउन थालेको धेरै भएको छ । उनका अनुसार एउटै किसानले थोरैमा ६० बोटदेखि बढीमा ६ सयसम्म बिरुवा लगाएका छन् । गाउँमा अहिले करिब सात सय घरधुरीले बोधिचित्त लगाएका छन् । बिरुवा रोपेको तीन वर्षमा दाना लाग्न थाल्ने उनले जानकारी दिए । सुरुवातका केही वर्ष ठूला दाना लाग्ने र मूल्य कम आउने भए पनि रूख छिपिँदै जाँदा दाना साना लाग्ने र बढी मूल्यमा बिक्री हुने उनले जानकारी दिए ।
गाउँपालिकाले नै थाल्यो खेती
अधिकांश किसानले बोधिचित्त खेती गरिरहेकाले सुनापति गाउँपालिकाले आफ्ना दुईवटा वडामै व्यावसायिक खेती गर्न थालेको छ । वडा नम्बर ४ को बेथान र वडा नम्बर ५ को खनियापानीलाई पकेट क्षेत्रका रूपमा विकास गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष लामाले बताए । पानी धेरै नचाहिने तथा बिक्रीबाट मनग्य आम्दानी हुने भएकाले गाउँपालिकाले नै बोधिचित्तको खोतीलाई प्राथमिकतामा राखेको उनले जानकारी दिए