शुक्रबार, १६ चैत्र २०८०

प्रदेश ५ मा कृषि एम्बुलेन्स संचालन हुने

Share via:

 

प्रदेश ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि उत्पादनको ढुवानी सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालन गर्न दिने भएको छ ।

कोभिड १९ को संक्रमणको जोखिमका कारण देशव्यापी लकडाउन जारी रहेकाले कृषि उपज ढुवानी गर्ने सवारी साधनलाई कृषि एम्बुलेन्स नामाकरण गरी सञ्चालन गर्न दिने निर्णय भएको हो ।

किसानलाई सहज रुपमा तरकरी, फलफूल, दुध, माछा मासु तथा अन्य उपभोग्य सामग्री बिक्री गर्न र उपभोक्तालाई पनि सहुलियत दरमा खरिद गर्न सजिलो होस् भनेर कृषि एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताइन् ।

सकभर चार चक्के ढुवानी साधन परिचालन गर्ने र उत्पादन स्थलबाट कृषकहरुले सोझै टोल टोलमा खुद्रा ब्यापारी र उपभोक्तासम्म पुर्याउने ब्यवस्था मिलाउने उनले बताइन् ।

‘निजी क्षेत्र तथा सहकारीको पिकअपहरु परिचालन गर्दा सवारीसाधनको न्युनतम भाडा सम्बन्धित कृषि उद्यमी तथा कृषि सहकारीहरुले नै ब्यहोर्ने इन्धन कृषि ज्ञान केन्द्र वा बिज्ञ केन्द्रले आन्तरिक बजेटबाट नै ब्यहोर्ने छन्’ उनले भनिन् ।

बाली लगाउनको लागि किसानलाई बीउ, मल, रोग तथा कीटनाशक बिषादी, चल्ला, दाना तथा चारा घाँस परालको आपूर्ति व्यवस्था मिलाउने पनि मन्त्रालयले निर्णय गरेको छ ।

किसानलाई बीऊ, मल र किटनाशक विषादी आपूर्ति गर्न एग्रोभेट पसल खोल्न दिने निर्णय पनि गरेको मन्त्रालयका उपसचिव सुरेशचन्द्र आचायले जानकारी दिए ।

भविष्यमा आउन सक्ने खाद्य संकटलाई मध्यनजर गर्दै स्थानीय तहहरुको सहकार्यमा करार खेती कार्यक्रमलाई प्रभावकारी रुपमा अधि बढाउने निर्णय पनि मन्त्रालयले गरेको छ ।

यसका लागि जग्गा भाडामा दिने जग्गाधनी र भाडमा लिई खेती गर्ने किसानको विवरण तयार गर्न स्थानीय तहहरुलाई पत्राचार गरिएको मन्त्रालयका उपसचिव आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित