शुक्रबार, १० बैसाख २०७८

के हो सपोटा फल ? कसरी गर्ने नेपालमा यसको व्यवसायिक खेती?

Share via:
  •  
  •  
  •  
  •  
  •  

 

(सम्भावनाका दृष्टिले राम्रो मानिएको गम, चुईगम जस्ता चीजहरु बनाउन प्रयोग हुने चोप प्राप्त गर्न सकिने र नेपालमा प्रचारप्रसारको अभावले खेती हुने भएर पनि अस्तित्व नै नभएको जस्तो देखिने सपोटा (चिकु) फलको व्यवसायिक खेतीबारे युवा कृषि उद्यमी एवम कृषि विद्यार्थी रितेशकुमार साहको सपोटा खेती सम्बन्धि लेख उहाँकै शब्दमा ।)

 

सपोटा : परिचय

सपोटा बिस्तारै बढ्ने लामो आयु भएको बार्हमासे फलीरहने सदाबहार प्रकृतिको उष्ण प्रदेशिय फल हो । यस फलको मीठो गुलियो र बास्नादार स्वादको संसारभरी प्रसिद्ध छ । विभिन्न देश र भाषा अनुसार यस फल चिकु, सपोटा, चिकल, चिको, बारामसी, स्पोडिला बयर, मुय, नेइसबेरी, स्पोटिला, जापोटा आदि नामले चिनिन्छ । मेक्सिको ग्वाटोमाला अमेरिका भारत लगायतको देशहरुमा यसको ब्यापाक उपयोग र प्रशस्त मात्रामा खेती गरिन्छ । हाम्रो देशमा प्रचारप्रसार र जानकारी अभावको कारण प्रशस्त सम्भावना हुँदाहुँदै पनि नौलो फलको रुपमा नै रहेको छ ।

 

वास्पतिक परिचय

यसलाइ अङ्ग्रेजीमा Sapodalaa भनिन्छ । यो बानस्पतिक परिवार Sapidaceae अन्तर्गत पर्दछ भने यसको वैज्ञानिक नाम Manilkara zapota हो ।

यसको रुख ठूलो साइज चौडा अकारको र विस्तारै बढ्ने हुन्छ ।

१० देखि २०  मिटर अगलो र ०.५ मिटर देखि १.५ मिटर चौडा हुन्छन ।

पातहरु हरियो रङ्गको आकर्षक चमकदार, लाम्चो आकारको र टुप्पोको छेउमा गोलाकार कलस्टर गरिएको हुन्छ ।

फूलहरु सानो घन्टीको जस्तो फिक्का हरियो र खैरो  रङ्गको हुन्छ ।

फलहरु जात अनुसार गोलो लामो र अन्डकार अकारको हुन्छन ।

फलहरु काँचो हुँदा कडा र चोप आउने खालको हुन्छ्न भने पाकेपछि नरम हुन्छ ।

 

उत्पत्ति र फैलावट

यस फलको उत्पत्ति दक्षिणी मेक्सिको आसपासको क्षेत्रमा भएको मानिन्छ । यसको रुखहरु अमेरिका ग्वाटोमाला नाइजेरियाको जङ्गलहरुमा  प्रशस्त मात्रामा प्राचीन कालदेखि नै पाइएको छ ।

औपनिवेशिकको समयमा फिलिपिन्सबाट सुरु हुँदै समुन्द्र तटवर्ती देशहरु भारत, श्रीलंका, थाइल्यान्ड, मलेसिया आदि देशहरुमा फैलिएको थियो। यस फलको व्यावसायिक खेती भारतको गुजरात, कर्नाटक, पश्चिमी बङ्गाल, तामिलनाडु, झारखण्ड र बिहार राज्यमा ठूलो क्षेत्रफलमा गरिन्छ ।।

 

प्रयोग

एसियाली क्षेत्रहरुमा फल उत्पादनको लागि खेती गरिन्छ भने मेक्सिको ग्वाटोमाला लगायतको अमेरिकी क्षेत्रहरुमा चोप ,गम (चुइगम बनाउने समाग्रीहरु) उत्पादनको लागि खेती गरिन्छ ।

यसको पातहरु पशुपालनको लागि घाँस को रूपमा प्रयोग गरिन्छ ।

रुखहरु मजबुत काठ र काठजन्य समाग्री बनाउने काममा प्रयोग ल्याइन्छ ।

 

पौष्टिक महत्व

प्रति १०० ग्राम फलमा ८३ क्यालोरी शक्ति, २० ग्राम कार्बोहाइड्रेट, १९२ मिलि ग्राम पोटासियम, १२ मिलिग्राम सोडियम, १.१ ग्राम बोसो  र भिटामिन – ए १ %, आईरन – ४ %, म्याग्नेसियम  २४ % उपलब्ध हुन्छ ।

साथै यसमा विभिन्न रोग प्रतिरोधात्मक गुणको कारण धेरै किसिमको रोगहरुबाट बच्न सकिन्छ।

 

हावापानी

यो उष्ण प्रदेशीय फल भएपनि उष्ण तथा उपोष्ण दुइटै क्षेत्रमा राम्रो फल्दछ । न्यानो किसिमको हावापानी उपयुक्त हुन्छ ।

यसको व्यवसायिक खेतीको लागि १० देखी ३८  डिग्री सेन्टीग्रेड वीचको तापक्रम राम्रो मानिन्छ ।

वार्षिक वर्षा १२५०देखि २५०० मि.मि आवश्यक हुन्छ । भारतमा १५००  मिटर उचाईसम्म यसको खेती सफलतापूर्वक गरिएको छ । हाम्रो देशमा पनि तराई भित्री मधेस र मध्य पहाडको सुख्खा हुने र पानी नजम्ने क्षेत्रहरुमा व्यावसायिक खेतीको प्रशस्त सम्भावना रहेको छ ।

माटो

सबै किसिमको माटोमा राम्रो भएपनी गहिरो बलौटो दोमट, चिम्टे दोमट, पानी नजम्ने माटोहरु अति नै उपयुक्त हुन्छ । चट्टान तथा तलतिर डुङ्गा भएको चुनबाट बनेको माटो उपयुक्त मानिदैन ।

 

जातहरु

भारतमा १०० भन्दा धेरै जात भएपनि व्यवसायिक खेतीको लागि उन्नत र प्रचलित जातहरु क्रीकेट बल, काली पति, बुरी पति, थाइ आदि हुन् ।

 

प्रसारण विधि

यसको प्रसारण बीउबाट भएपनी ढिलो फल्ने र जातिय गुणमा ह्रास आउने हुदा व्यवसायिक खेतीको लागि राम्रो मानिदैन । ग्राफ्टीङ्ग,बडीङ्ग र गुठीबाट तयार गरिएको बिरुवाहरु राम्रो गुणस्तरीय र छिटो फल्ने हुन्छ ।

 

खाडलको तयारी  तथा मलखाद

गहिरो खनजोत गरीसकेपछि जग्गा सम्याई ८×८ वा ९×९ वा १०×१० मिटर बोट देखि बोट र लाइन देखि लाइनको दुरी कायम राखी रेखाकन गरी चिन्ह लगाउनुपर्छ । चिन्ह लगाएको ठाउँमा १×१×१ मिटर आकारमा खाल्डो खनी २० देखि ३० केजी गोवर २०० : ७५ : २००  ग्रामको दरले प्रति खाल्डोमा नाइट्रोजन, फ़स्फोरस, पोटासियम हालेर खाडल तयार गर्नुपर्छ । माटोजन्य कीरा मार्नलाई २ मिलि क्लोरीपाईरिफोस  प्रति लिटर पानीमा मिसाई माटो भिज्ने गरि खाल्डो भरि छर्नुपर्छ ।

 

सिचाई

सिचाईको खासै आवश्यकता नपरेपनी सुख्खा हेरी महिनाको १ पटक सिचाइ गर्दा फल्ने क्रीयामा वृद्धि र फलको गुणस्तरमा सुधार आउंदछ ।

 

काँटछाँट

यसको हाङ्गाहरु समानान्तर लाइनमा बढने हुँदा खासै काँटछाँटको आवश्यकता पर्दैन । तरपनि high density plantation मा अकार सानो राख्नलाई काँटछाँट गर्न आवश्यक हुन्छ । साथै रोगकीरा लागेको हाङ्गाहरु र अनावश्यक हाङ्गाहरुलाई बेलाबेलामा काटछाट गर्न जरुरी हुन्छ ।

 

अन्तरवाली

रुख अगलो र ठूलो हुने भएकोले बगैचाभित्र मेवा, केरा, गोलभेडा, भन्टा, कोशेबाली तथा तेलबालीहरु अन्तर बालीको रुपमा लगाई थप आय प्राप्त गर्न सकिन्छ ।

 

फूल तथा फल लाग्ने समय

कलमी बिरुवा रोपेको दोस्रो वर्षबाट उत्पादन सुरु हुन्छ । बार्हमासे फूल फुल्ने तथा फल लागने प्रक्रिया भै नै रहेको हुन्छन । तर फल उत्पादनको दुई सिजन हुन्छ पहिलो फल चैत र दोस्रो भने असोज कार्तिकमा टिपिंछ । फूल फुलेको ४  महिनामा फल परिपक्व हुन्छ ।

 

फल टिप्ने कार्य

झुस झर्न थालेपछि, फलको बाहिरी बोक्रा कोट्याउदा, दूध (चोप) आउन छोडेपछि फल टिप्न तयार भएको बुझ्न सकिन्छ । २-४ दाना पाक्न थालेपछि बजार पठाउनु १ हप्ता अगाडि फल टिप्नुपर्छ । फलको टिपाई चैत बैशाख र असोज कार्तिक दुई चोटि गरिन्छ ।

 

उत्पादन

फलको औषत वजन ८० देखि १५० ग्राम सम्मको हुन्छ । बोटको उमेर बढ्दै जादा उत्पादन क्षमता पनि बढ्दै जान्छ । साधारणतया १० वर्षको रुखले ५० देखि १५० के.जी सम्म फल्दछ । २० वर्ष भन्दा पुरानो रुखहरुमा २००० देखि ३५००  सम्म दाना फलेको पाइएको छ ।

 

बजार भाउ

माग र सिजन अनुसार १५० देखि २५० प्रति केजीमा बिक्री हुन्छ।

 

भण्डारण

फल पाकीसकेपछि २० देखि ३० डिग्री सेन्टीग्रेडको तापक्रममा १ – २  हप्ता भणडारण गरि राख्न सकिन्छ भने कोल्ड स्टोरहरुमा १ महिना सम्म पनि राख्न सकिन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *