फर्म र सहकारीको सहकार्यमा तरकारी बिक्रि गर्दौ भक्तपुरका कृषकहरु

आफूले उत्पादन गरेको तरकारी लकडाउनका बेला बिक्री गर्न किसानले विभिन्न विकल्प अपनाउन थालेका छन् । उनीहरूले विभिन्न कृषि सहकारीसँग समन्वय गरेर आफैंले बजारसम्म पुर्याई तरकारी बेच्न सुरु गरेका छन् । बिक्रीका लागि ठिक्क भएको तरकारी त्यत्तिकै फाल्नुभन्दा उचित विकल्प खोजी उपभोक्तामाझ पुर्याउन नै उचित रहेको किसान बताउँछन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–२ स्थित ग्रिनलाइन एग्रोपाली, च्याउ उत्पादक किसान संघ नेपाल, काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित तिमल्सिना च्याउ फार्मलगायतले यसैगरी च्याउ तथा अन्य तरकारी बेचिरहेका छन्। आफ्नै फार्म, संघ र कृषि सहकारीसँगको सहकार्यमा च्याउ तथा तरकारी बिक्री गरिरहेको ग्रिनलाइन एग्रोपालीका सञ्चालक दयाराम मच्चामसीले जानकारी दिए। तिमल्सिना च्याउ फार्मका सञ्चालक सीताराम तिमल्सिनाले भने आफैं बजार लगेर तरकारी एवं च्याउ बेचिरहेका छन् । किसानको बारीमा फलेको तरकारी जम्मा गरी जिल्ला कृषि सहकारी भक्तपुरसँगको सहकार्यमा चाँगुनारायण र सूर्यविनायक नगरपालिकासँग सहयोगमा त्यहाँका वडावडा र टोलमा गएर बिक्री गर्ने काम गरिरहेको संघका अध्यक्ष्य प्रेमनारायण अधिकारीले बताए।
‘संघले च्याउ मात्र नभई अन्य तरकारी र अन्डा पनि संकलन गरेर बिक्री गरिरहेको छ,’ उनले भने, ‘सामाजिक दूरी कायम गरेर, मास्क, पन्जाजस्ता सुरक्षाका उपाय अपनाएर उपभोक्तालाई तरकारी बिक्री गरिरहेका छौं।’ संघले गोब्रे च्याउ प्रतिकिलो ३ सय ५० रुपैयाँ र कन्ये च्याउ प्रतिकिलो १ सय ३० रुपैयाँसम्ममा बिक्री गरिरहेको छ। आलु प्रतिधार्नी १ सय रुपैयाँ, प्याज, टमटर, गोभी, काउली, साग, सिमी, मटरकोसा, काँक्रालगायत तरकारी प्रतिकिलो २० रुपैयाँदेखि ८० रुपैयाँसम्ममा बिक्री गरिरहेको बताएको छ। अन्डा प्रतिक्यारेड २ सय ५० रुपैयाँमा बिक्री गरिएको अधिकारीले जानकारी दिए।
‘लकडाउन सुरु भएको दुई दिनपछि हामीले यसरी बिक्री सुरु गरेका हौं। दुईदुई वटा गाडी र मोटरसाइकलबाट बिक्री गरिरहेका छौं,’ उनले भने, ‘लकडाउन अगाडि आफ्नै फार्मको च्याउ खेर जाने अवस्था आएपछि सबैबाट तरकारी जम्मा गरेर बिक्री गर्ने सोच आएको हो। काम गर्ने ६/७ जना छौं। रातको २ देखि बिहानको ८ बजेसम्म तरकारी जम्मा गर्ने र सबै एकएक किलो प्याकेटमा तयार गर्ने काम गरिरहेका छौं।’
ग्रिनलाइन एग्रोपालीका सञ्चालक मच्चामसीले ४० रोपनीको क्षेत्रफलमा च्याउ, कुरिलो र ब्रो काउली लगाएका छन्। उनले धनियाँ, काँक्रा, फर्सी, मुलालगायत तरकारी पनि लगाएका छन्। ‘लकडाउनमा मेरो १७ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ। सब्जी कुहिएर जानुभन्दा कम भए पनि पैसा आउँछ भनेर बिक्रीको उपाय अपनाएको छु,’ उनले भने, ‘दैनिक ६ देखि ७ सय केजीसम्म तरकारी बिक्री गरिरहेको छु। कन्ये च्याउ पहिला सय रुपैयाँभन्दा बढीमा बिक्री हुने गरेकामा अहिले ७० रुपैयाँ होलसेलमै दिनुपरेको छ।’ फार्मबाट ५० प्रतिशत कालीमाटी बजार र बाँकी कृषि सहकारीले किन्ने गरेको उनले बताए । आजको कान्तिपुरबाट लिईएको ।