बुधबार, २८ कार्तिक २०८१

लकडाउन प्रभाव : दूध बिक्री नहुँदा किसानहरु निरास हुँदै

Share via:

 

विदेशबाट फर्केका हुन् वा स्वदेशमा अध्ययन गरी केही गरौँ भन्ने युवा किन नहुन्, धेरैको रोजाइको पेसा बेनको थियो गाईपालन । धेरैले गाईपालनबाट राम्रो प्रगति पनि नगरेका होइनन् । तर, लकडाउनसँगै गाईपालन क्षेत्रमा नकारात्मक प्रभाव पर्न थालेको छ ।

मोरङ सुन्दरहरैँचा– ९ का गंगाप्रसाद लिम्बूको गाई फर्ममा अहिले ४२ वटाभन्दा बढी गाई छन् । लकडाउनका कारण भने लिम्बूको फर्ममा उत्पादन भएको दूध बिक्री गर्न समस्या भएको छ । उनले इटहरी पुऱ्याएर दूध बेच्ने गरेका थिए । लकडाउनका कारण इहटरी  पुऱ्याउनै समस्या भएको र दूधको मूल्य निकै सस्तो भएको उनले बताए ।

यस्तै पीडा सुन्दरहरैँचाकै किसान लक्ष्मी पोखरेलको पनि छ । दैनिक ४० देखि ५० लिटरसम्म दूध डेरीमा लगेर बेचे पनि गाईलाई चाहिने दाना तथा पराल नहुँदा गाई फुकाएर जंगलमा छोड्नुपर्ने अवस्था आएको उनले बताए ।

‘दूधको मूल्य दिन प्रतिदिन घट्दो क्रममा छ,’ उनले भने, ‘चोकर तथा दानाको भाउ आकासिएको छ भने पाउन पनि निकै मुस्किल हुँदै गएको छ ।’ उनले गाईलाई खुवाउने दाना, पराल, भुस्सा ल्याउन नसक्दा गाई भोकभोकै मर्ने अवस्था आउन लागेको बताए ।

बेलबारी– ६ कसेनीका सन्देश खत्रीले पनि आफ्नो गोठमा रहेका गाईको दाना सकिँदै गएकाले धान्न मुस्किल हुने अवस्था आएको बताए । मोरङमा धेरै युवाले विदेशको कमाई व्यावसायिक पशुपालनमा लगानी गरी राम्रो उद्यम गरिरहेको अवस्थामा लकडाउनपछि उनीहरू समस्यामा पर्न थालेका छन् ।

डेरीहरूले समेत लकडाउनका कारण व्यापार बन्द हुने अवस्था आएपछि दूध खरिद गर्न नसकेको जनाएका छन् । प्रणाम डेरी पसलकी सञ्चालिका राधिका अधिकारीले सहज परिस्थितिमा जस्तो दूध तथा दुग्धजन्य वस्तु बिक्री नभएपछि किसानबाट दूध किन्न नसकेको बताइन् ।

मोरङमा तीन सयभन्दा बढी दूध उत्पादन गर्ने गाई फर्म रहेका छन् । त्यत्तिकै मात्रामा घरघरमा गाई पाली दुध बेच्ने किसानसमेत रहेका छन् । थोरै संख्यामा गाई पालेका किसान तत्काल समस्यामा नपरे पनि ठूलो संख्यामा व्यावसायिक रूपमा गाई पालेकाहरूलाई गाई बचाउन मुस्किल हुन थालेको छ । धेरै गाई भएका फर्महरूमा ठूलो परिमाणमा दाना आवश्यक पर्ने भएकाले त्यसको आपूर्ति गर्न कठिनाइ भएको किसानले बताएका छन् ।

जिल्ला पशु सेवा कार्यालय मोरङको तथ्यांकअनुसार दुई  सय ४७ र मिश्रित ६० वटा फर्महरुबाट दैनिक दुई लाख १६ हजार लिटर दूध उत्पादन हुने गरेको छ । २५ वटा डेरी र २७ वटा दुग्घ सहकारीले किसानले उत्पादन गरेका दूध तथा दुग्धजन्य वस्तुहरू बजारसम्म पुऱ्याउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *