१० रुपैयाँमा बिक्री नहुने किसानको तरकारी काठमाडौंमा १०० रुपैयाँ भन्दा बढी
पश्चिम चितवनको पर्साढाब निवासी गणेश भुसालले अठार बिघामा तरकारी खेती गर्दै आएका छन् । १६ वर्षदेखि व्यावसायिक खेती गरिरहेका उनले सशस्त्र द्वन्दताका सामान्य समस्या भोग्नुपरेको थियो । त्यसपछि कहिल्यै तरकारीको बजारीकरणमा समस्या आइलागेन । कोभिड–१९ संक्रमण नफैलियोस् भनेर सरकारले लकडाउन गरेपछि भने भुसाललाई तरकारीको समस्याले पिरोलेको छ।
उनको बारीमा काँक्रा, सिमी, खुर्सानी, बोडीलगायत तरकारी पर्याप्त छन्। तर, बिक्री गर्ने ठाउँ छैन। उनले तरकारीको मूल्य पनि पाएका छैनन्। तरकारी बिक्री नभएपछि उखेलेर फाल्न बाध्य भएको उनको गुनासो छ। ‘अत्यावश्यक वस्तु ढुवानीमा रोकावट नभए पनि बेच्ने ठाउँ छैन। तरकारी खाने मान्छे पनि छैनन्,’ अभियान बहुमुखी कृषि फार्मका सञ्चालक भुसालले भने, ‘बारीमा यत्तिकै राख्नु भएन, त्यसैले उखेलेर फाल्नुपर्यो।’ पाँच बिघामध्ये एक बिघाको तरकारी फालिसकेको उनको भनाइ छ।
भुसालले बोडी प्रतिकिलो १० रुपैयाँमा बिक्री गरिरहेका छन्। तर खेतबारीबाट टिपेर प्याकिङ गर्दासम्म एक किलोको लागत १५ रुपैयाँ पर्ने उनले बताए। ‘लागतभन्दा प्रतिकिलो ५ रुपैयाँ घाटा खाएर बेच्दा पनि तरकारीले बजार पाएन,’ उनले गुनासो गरे।
पश्चिम चितवनबाट काठमाडौंको दूरी करिब १ सय ७५ किमि छ। किसानले प्रतिकिलो १० रुपैयाँमा बेचेको बोडी उपत्यकाको खुद्रा बजारमा भने प्रतिकिलो एक सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
भुसाल जस्तै भरतपुर महानगरपालिका–१८ का टंक रेग्मीको भनाइ पनि उस्तै छ। रेग्मीले १० बिघामा व्यावसायिक खेती गरिरहेका छन्। तरकारी बिक्री नभएपछि उनले ४ बिघामा लगाएको विभिन्न तरकारी फाल्नुपरेको सुनाए। ‘बिक्री नभएपछि स्थानीयलाई केही टिपेर खान दिएँ,’ उनले भने। करेला प्रतिकिलो २५ रुपैयाँ, टमाटर १५ रुपैयाँ, लौका २० रुपैयाँ, मूला ८ रुपैयाँ र खुर्सानी ३० रुपैयाँमा बिक्री गरिरहेको उनले जानकारी दिए।
काठमाडौंको खुद्रा पसलमा भने घिरौंला प्रतिकिलो ६० रुपैयाँ, करेला एक सय रुपैयाँ, टमाटर ८० रुपैयाँ, लौका ६० रुपैयाँ, मूला ६० रुपैयाँभन्दा घटी पाइँदैन। चितवनमा किलोको ३० रुपैयाँ पर्ने भेडे खुर्सानी काठमाडौंमा २ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ। मकवानपुर क्षेत्रमा पनि भेडे खुर्सानी किलोको ३५ रुपैयाँ, काँक्रो १० देखि १५ रुपैयाँ र फर्सी २० रुपैयाँमा बिक्री भइरहेको किसान बताउँछन्। तर आपूर्ति प्रणाली बिग्रँदा बिचौलियाका कारण सर्वसाधारण चर्को मूल्य तिर्न बाध्य भएको जानकार बताउँछन्।
चितवन, मकवानपुर, धादिङलगायत क्षेत्रका किसानले बाहिरी जिल्ला/बजारलाई केन्द्रित गरेर खेती गर्छन्। किसानले उत्पादन गरेको अधिकांश तरकारी कालीमाटी तरकारी बजारमा बिक्री हुन्छ। तर लकडाउनले ढुवानीमा समस्या भइरहेको किसानको गुनासो छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवन प्रमुख मेघनाथ तिमिल्सिनाका अनुसार चितवनमा उत्पादित करिब ७५ प्रतिशत तरकारी काठमाडौंलगायत अन्य जिल्लामा बिक्री गरिन्छ। तर अहिले बजारसम्म पुर्याउने प्रणाली बन्द जस्तै छ। लकडाउनका मौकामा बिचौलियासमेत सलबलाएको किसानको गुनासो छ। जसले गर्दा किसान र उपभोक्तालाई मार परेको उनीहरूको भनाइ छ।
व्यवसायीहरूले तरकारीको मूल्य सस्तो भएको दाबी गर्छन्। ‘बजार बन्द भएकाले तरकारीको मूल्य बढेको छैन। उपभोक्ताले सस्तोमै किन्न पाएका छन्,’ तरकारी तथा फलफूल थोक बजार व्यवसायी संस्थाका निर्वतमान अध्यक्ष भरत रेग्मीले भने, ‘बजारमा तरकारी बिक्री नहुँदा किसानले मूल्य पाएनन्।’
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भारतबाट आलुबाहेक अन्य तरकारी आयात नभएको बताए। ‘बन्दा, काउली, सिमी, फर्सीलगायत स्थानीय उत्पादन नै पर्याप्त छ। दैनिक ३ सय टन तरकारी भित्रिएको छ,’ उनले भने, ‘आयातमा समस्या छैन। तर, खपतको अवस्था कमजोर भयो।’
उत्पादनमा वृद्धि र खपत नभएपछि लकडाउनमा मूल्य घटेको समितिको तथ्यांक छ। चैत १० देखि वैशाख ८ सम्मको तुलनामा तरकारीको होलसेल मूल्य ८० प्रतिशतसम्म घटेको समितिले बताएको छ। ‘माग नभएपछि विगतको तुलनामा होलसेलमा मूल्य घटेको छ,’ श्रेष्ठले भने। गोलभेंडाको होलसेल मूल्य ४० प्रतिशत घटेर प्रतिकिलो ३७ रुपैयाँ, काउली ३५ प्रतिशत घटेर १८ रुपैयाँ, बोडी ८० प्रतिशत घटेर २८ रुपैयाँ भएको समितिको तथ्यांक छ। मटरकोसाको मूल्य ४० प्रतिशत घटेर प्रतिकिलो ३३ रुपैयाँ, घिउ सिमी ४७ प्रतिशत घटेर २२ रुपैयाँ, लौका ५२ प्रतिशत घटेर १८ रुपैयाँमा बिक्री भएको छ। सरकारी तथ्यांकमा मूल्य घटेको देखिए पनि बजारमा भने चर्को मूल्य कायमै छ। उपभोक्ताले धेरैजसो तरकारी किलोकै एक सय रुपैयाँभन्दा बढी तिर्न बाध्य छन्। आजको कान्तिपुर दैनिकबाट ।