शुक्रबार, १६ चैत्र २०८०

दुग्ध क्षेत्रमा मात्रै लकडाउन पछि साढे २ अर्ब बढी नोक्सनी

Share via:

 

कोरोनाको संक्रमण फैलिन नदिन गरिएको लकडाउनको एक महिनाभित्र दुग्ध क्षेत्रमा करिब साढे दुई अर्ब रुपैयाँको नोक्सान भएको छ । नेपाल डेरी एसोसिएसनका अनुसार यस अवधिमा देशको समग्र दुग्ध क्षेत्रले यो रकम गुमाएको हो ।

एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले प्रारम्भिक अनुमानअनुसार करिब साढे दुई अर्ब रुपैयाँको नोक्सान दुग्ध क्षेत्रले भोग्नुपरेको बताए । ‘कुन ठाउँमा कति दूध उत्पादन हुन्छ, कुन ठाउँमा कति दूध दैनिक बजारमा जान्छ भन्ने तथ्यांक हामीसँग हुन्छ,’ उनले भने, ‘त्यसैको आधारमा यो एक महिनामा साढे दुई अर्ब रुपैयाँबराबरको नोक्सान भएको हाम्रो प्रक्षेपण छ ।’

उक्त प्रक्षेपण औपचारिक क्षेत्रको मात्रै भएको सापकोटाले बताए । डिडिसी र निजी क्षेत्रमार्फत बजारमा पठाउनुलाई औपचारिक क्षेत्र भनेर डेरी एसोसिएसनले परिभाषित गरेको छ । सो प्रक्रियाबाट सामान्य अवस्थामा दैनिक आठ लाख लिटर दूध बजारमा आउने गरेको थियो । तर, पछिल्लो समय लकडाउनका कारण करिब साढे दुई लाख लिटर मात्रै बजारमा आउने गरेको सापकोटाको भनाइ छ ।

उक्त नोक्सान मुलुकभरिको नै रहेको एसोसिएसनले जनाएको छ । लकडाउनका कारण होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेस, सरकारी कार्यालयहरूका क्यान्टिनहरू बन्द भएपछि दूधको मागमा पूरै कमी आएको उनले बताए ।

उनका अनुसार होटेल, रेस्टुरेन्टलगायतका क्षेत्रमा दैनिक साढे पाँच लाख लिटर दूधको माग हुने गरेको थियो । त्यसबाहेक दुग्ध किसानहरूले सीधै होटेल, रेस्टुरेन्टलगायतका क्षेत्रमा दूध बेच्ने गरेका थिए । उनीहरूले पनि अहिले नोक्सानी नै व्यहोर्नु परेको छ ।  आजको नयाँ पत्रिका दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित