शुक्रबार, १६ चैत्र २०८०

किसानलाई मल, बीउ, विषादीको सहज उपलब्धता गराउन प्रदेश सभाको आह्वान

Share via:

 

प्रदेश सभा ५ को कृषि, वन तथा वातावरण समितिले खेती लगाउने सिजन आउन थालेकाले किसानलाई बिउ, मल र औषधि उपलब्ध गराउन सरकारलाई निर्देशन गरेको छ ।

लकडाउनका कारण बिउ, मल र औषधि पाइने पसलहरु बन्द हुँदा किसानले खरिद गर्न नपाएकाले एग्रोभेटहरु खुला गराउन समितिले सरकारलाई निर्देशन गरेको हो । समितिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल र मन्त्रालयका सचिवलाई बोलाएर राखेको बैठकमा कोभिड १९ को कारण कृषि उत्पादन, वितरण र बजार व्यवस्थापनमा परेको समस्या र असरलाई तत्काल सम्बोधन गर्न सरकारलाई निर्देशन गरेको छ ।

बैठकमा समितिका सभापति विजयबहादुर यादवसहित सदस्यहरुले खेतीको मौसम आएकाले मल, बिउ, कीटनाशक औषधि बिक्री गर्ने पसल तथा एग्रोभेट लकडाउनको अवधिमा समेत खुल्ला गर्नुपर्ने, धानको बीउ, मल लगायतका अत्यावश्यक वस्तुको सरल र सहज उपलब्धता सुनिश्चित गर्नुपर्ने, कम उत्पादन र भारतबाट खाद्यान्न रोकिएमा खाद्यसंकट सृजना हुने परिस्थिति आउन नदिन मन्त्रालयले गाइडलाइन जारी गर्नुपर्ने, राहत तथा अनुदान वितरण कार्य सरल, प्रभावकारी र पारदर्शी गर्नुपर्ने, कृषकहरुले उत्पादन गरेको अन्नबाली, दलहन, तेलहन लगायतका कृषि उत्पादन ढुवानी र बिक्री वितरणको यथोचित प्रबन्ध मिलाउन पनि सरकारलाई निर्देशन दिएको समितिका सचिव आलोक अग्रहरीले बताए ।

यस्तै व्यावसायिक कृषि प्रणालीका साथै आत्मनिर्भरताका लागि निर्वाहमुखी कृषि प्रणाली अवलम्बन गर्न पहल गर्नुपर्ने, राहत वितरण कार्य प्रकृयामुखी नभई सरल बनाउनु पर्ने, राहत वितरणको कार्यविधि र अनुगमनको व्यवस्था गर्नुपर्ने, फौजी किराको प्रकोप र हालै आएको असिनापानीले पीडित सबै कृषकहरुलाई राहत दिन सांसदहरुले सरकारसँग माग गरेका थिए ।

बैठकमा मन्त्री पौडेलले विकट ठाउँका साना किसानहरुलाई लक्षित गरी कृषि र पशुजन्य उत्पादन ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालन गरिएको,ठूला किसानलाई ई-पासको व्यवस्था गरेको तथा लकडाउनले दुग्ध उत्पादक, अण्डा, चल्ला र कुखुरा उत्पादक लगायतका किसानहरु बढी मारमा परेको हुँदा उनीहरुलाई राहत वितरण गर्न प्रस्ताव गरिएको समितिलाई जानकारी गराइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित