देशकै पहिलो प्रदेश कृषि डायरी प्रदेश १ ले सार्वजनिक गर्यो
प्रदेश नम्बर १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय, विराटनगरले प्रदेशहरुमै पहिलो अभ्यासको रुपमा प्रदेश कृषि डायरी २०७७ सार्वजनिक गरेको छ । प्रादेशिक तह मै प्रदेश नम्बर १ ले पहिलो चोटी स्थानीय स्तर सम्मै कृषि प्रसारको अवधारणालाई मूर्तरुप दिनको लागि प्रदेश कृषि डायरी २०७७ प्रकाशन गरेको कृषि विकास निर्देशनालयका कृषि अर्थ विज्ञ विवेक आचार्यले जानकारी दिनुभयो ।
केन्द्रबाट निस्कने प्रसार सामग्रीहरु प्रदेश र कृषकहरुको तहसम्म नपुगेको पृष्ठभूमिमा प्रदेश सरकारले पाएको अधिकारलाई प्रयोग गर्दै यसखाले प्रसारका सामग्री उत्पादन हुनुपर्छ भन्ने अवधारणाका साथ यो पुस्तिका प्रकाशन गरेको निर्देशनालयले बताएको छ ।
कृषि विकास निर्देशानालयका सूचना अधिकारी एवम बाली संरक्षण अधिकृत, सरस्वती श्रेष्ठको नेतृत्वमा तयार भएको प्रदेश कृषि डायरीमा निर्देशनालयका विभिन्न शाखाका कर्मचारीहरुको संग्लग्नता रहेको बताईएको छ ।
प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले विमोचन गर्दै प्रदेशका किसान मैत्री रहेको र किसानलाई उपयोगी हुनेमा विश्वास व्यक्त गर्नुभयो । त्यस्तै मन्त्रालयका सचिव विमलकुमार निर्मलले निर्देशनालयको प्रयासको प्रशंसा गर्दै आगमी दिनमा भेटेरिनरिका कुरालाई समेट्दै संयुक्त दस्तावेजको रुपमा निस्कने बताउनुभयो ।
त्यस्तै निर्देशनालयका निमित्त प्रमुख प्रकाशकुमार डाँगीले यसको तयारी गर्ने क्रममा खट्नु भएका सहभागीहरुलाई धन्यवाद दिनु भएको थियो । साथै निर्देशनालयका पूर्व प्रमुख बेनुप्रसाद प्रसाईले यो कार्यको थालनी गर्नु भएकोमा धन्यवाद दिदैं समयमै यसलाई प्रकाशनको अवस्थामा ल्याउन पाएकोमा खुशी व्यक्त गर्नुभयो । आगमी अंकमा पुस्तिकामा हुन गएका कमिकमजोरी सुधार गरेर परिष्कृत प्रदेश कृषि डायरी प्रकाशित हुने निमित्त प्रमुख डाँगीको भनाई रहेको थियो ।
एउटा ‘बेसलाईन डकुमेन्ट’का रुपमा निर्देशनालयले उत्पादन गरेको यो सामग्रीले प्रादेशिक स्तरका तथ्यांकहरु संगै, विभिन्न कार्यालयहरुको सम्पर्क नम्बर पनि समावेश गरेको छ । यो पुस्तिका प्रदेश १ का कृषि ज्ञान केन्द्रहरु देखि प्रदेशका सबै स्थानीय तहसम्म पुर्याईने निर्देशनालयले जनाएको छ ।