रोग कीरा व्यवस्थापनमा प्रयोग हुने स्थानीय प्रविधिहरु
(एकातिर अत्याधिक रासायनिक मलको प्रयोगले माटोको स्वस्थतामा आएको बिग्रदो स्थिति र मानिसहरुको ‘अर्गानिक’ उत्पादन र यसको उपभोग तिर विशेष चासो र रुची बढ्दै गएको पृष्ठभूमिमा बाली संरक्षणमा कसरी स्थानीय प्रविधिहरुको उपयोग गर्न सकिन्छ त ? कृषि विज्ञानका स्नातकोत्तर तहका विद्यार्थी अनिल गौतमको सटिक प्रस्तुतिलाई यहाँ प्रस्तुत गरिएको छ ।)
कृषि उत्पादन र विकासमा रोग कीरा व्यवस्थापन निकै महत्वपूर्ण र चुनौतिको विषय हो । जथाभावी रसायानिक विषादिको प्रयोगले वातावरण र मानव स्वास्थमा नकरात्मक प्रभाव पार्नुका साथै नयाँ खाले रोग र शत्रु कीराहरुको वृद्दि भएको छ । दिगो कृषि विकासका लागि सरल, मानव र वातावरणमा प्रतिकूल असर नपुर्याउने किसिमका स्थानीय स्रोत र साधनको प्रयोग गरि बनाइएका कृषि प्रविधिहरु संरक्षण र विकास आजको आवश्यकता हो । नेपालमा रसायानिक पदार्थको विकल्पको रुपमा परापूर्व कालदेखि विभिन्न बाली संरक्षणका स्थानीयय प्रविधिहरुको प्रयोग र परिष्कृत हुँदै आएका छन । नीम, सिस्नो, बकाईनो, बोझो, टिमुर, तितेपाति, असुरो, लसुन, प्याज, सुर्ती, पुदिना, पिना, खरानी, गहुँत आदिको प्रयोग गरि विभिन्न कीराको नियन्त्रण गर्न सकिन्छ ।
नीम
नीमको बीउको बोक्रा हटाएर जम्मा गरेको बीउलाइ जाँतो वा ग्राइन्डरमा पिस्ने । ०.५ -१.० किलो ग्राम बीउलाई पातलो कपडामा राखि १२ घन्टा सम्म २० लिटर पानीमा ढडाउने र निचोर्ने । त्यसपछि साबुनको २.० ग्राम धुलो मिसाई राम्रोसंग चलाएर कीटनाशक औषधीको रुपमा प्रयोग गर्न सकिन्छ ।
नीमको पात १ कि.ग्रा नीमको पातलाई ५ लि. पानीमा मिसाएर हरियो पानी नआउन्जेल सम्म पकाउने र सेलाएर कीटनाशक औषधीको रुपमा प्रयोग गर्न सकिन्छ । यसले लाही, धानको पात खाने कीरा, बन्दाको गवारो, खपटे कीरा, पात बेरुबा, फल छेड्ने कीरा आदि धैरै प्रकारका कीराहरु मार्न वा हटाउन प्रयोग गर्न सकिन्छ ।
गाईभैंसीको मलमूत्र
गाईवस्तुको १ लि. गँहुत १०ली. पानीमा मिसाएर फर्सी परिवारका तरकारी बालिमा लाग्ने धूले, ढुसी, खपटे, चुसाहा र लाही कीराहरु, झूसिलकीरा आदि नियन्त्रण गर्न सकिन्छ । धानमा लाग्ने ब्याक्टेरियल डढुवाको लागि २० ग्राम गाईको गोबर प्रति लि. पानीमा घोलि छर्कने । ताजा गोबर १ भाग र ४ भाग पानीमा घोलेर आलुको डढुवाको लागि प्रयोग गर्न सकिन्छ ।
सिस्नु
सिस्नो पात मुन्टा १ केजीलाई ८ लि. पानीमा २४ घन्टा भिजाउने र ७ दिनको फरकमा ३ चोटि उडुस, उपिया, साङ्ला, झूसिलकीरा लाही, पुतलीको लार्भा नियन्त्रणमा प्रयोग गर्न सकिन्छ ।
बकाईनो
बकाइनोको सुकेको पात र फुल कुटेर १ के.जी १० लि. पानीमा २४ घन्टा भिजाउने र झुसिलकीरा, लाही, पुतलीको लार्भा, धानको फड्के र ढुङ्ग्रे नियन्त्रणमा प्रयोग गर्न सकिन्छ ।
खरानी
बिहान सित ओबाउन भन्दा अगाडि १ भाग खरानी र १ भाग कृषि चुनको प्रयोग गर्दा फर्सि बालिमा लाग्ने खपटे कीरा र चुस्ने कीराहरु नियन्त्रण हुन्छ ।
मट्टितेल
१ भाग मटितेल र १० भाग पानीमा आधा चम्चा साबुन मिसाएर प्रयोग गर्नाले रातो खपटे र अन्य कीराहरु नियन्त्रण हुन्छ ।
मेवा
१ भाग मेवाको पिनेको पात र १ भाग पानी मिसाएर ४ लि. साबुन पानीमा मिसाएर डढुवा र धुले ढुसी मुसा नियन्त्रणम गर्न प्रयोग गर्ने । साना साना काँचा मेवाका टुक्राहरु खेतको आलिमा राख्दा मुसाले खान्छ र मुसाको तन्तुमा घाउ हुन्छ ।
तीतेपाति र पुदिना
१ भाग तितेपाति १ भाग पुदिनालाइ थिचेर र १० भाग पानीमा मिसाएर छर्कनाले झुसिल कीरा नष्ट हुन्छ ।
खुर्सानी
१ लिटर पानीमा १० ग्राम धूलो खुर्सानी छान्ने र ५ लिटर साबुन पानीमा हालेर पातलो गरि छर्कनाले बन्दामा लाग्ने लाही कीरा नियन्त्रण हुन्छ ।
गोलभेडाको पात
गोलभेडाको पातलाई तातो पानीमा भिजाई कपडाले छानेर रस प्रयोग गर्दा बन्दा र आलुको पुतली कम हुन्छ ।
प्याज
१ केजी काटेको प्याजमा आधा लिटर उमालेको पानी मिसाई बनाइको झोल लाई १५ लि. पानीमा मिसाई हरेक १० दिनको फरकमा छर्कनाले थ्रिप्स, लाही र सुलसुले नियन्त्रण हुन्छ ।
सयपत्री
सयपत्रीको पात १ मुठी, लसुन ४ देखि ५ पोटि , प्याज ४-५ दाना, खुर्सानी ५-६ वटा पिधेर १ लि. पानीमा १५ मिनेटसम्म उमालि छानेर त्यति नै पानी मिसाइ प्रयोग गर्नाले लाही, पतेरो, चुसेर खाने कीराहरु नियन्त्रण हुन्छन् ।
तुलसी
तुलसीको २०० ग्रा.म पातलाई पिनेर प्रति लि. पानीमा मिसाई छर्कदा सुन्तालाको पात खाने कीराको आक्रमण कम हुन्छ ।
हलेदो वा बेसार
हलेदो १ के.जी राम्ररी पिनेर ३-४ लि. गाईको गहुँतमा घोल्ने र १५-२० लिटर साबुन पानी (४ ग्राम साबुन प्रति लि) मिसाएर धानमा छर्कनाले फौजी कीरा, गवारो र पात बेरुबा नियन्त्रण हुन्छ ।
पिना
आलुमा लाग्ने रातो कमिला, खुम्रे, फेद कटुवा, धमिराको रोकथामको लागि बालि रोप्ने बेलामा चिउरी, नीम, अण्डीको पिना ८.५ के.जी प्रति कठ्ठा मिसाउनाले नियन्त्रण हुन्छ ।