प्रदेश १ मै १००० हेक्टर बढी क्षेत्रफलमा अमेरिकन फौजी कीराको प्रकोप
प्रदेश १ का विभिन्न जिल्लाहरुमा अमेरिकन फौजी कीराले यस वर्ष पनि आक्रमण गर्न सुरु गरिसकेको छ । गत वर्ष वैशाख २६ गते नेपालमा पहिलोपटक नवलपुर जिल्लाको गैडाकोट स्थित मकै बारीमा पहिचान भएको अमेरिकी फौजी कीराले मकैलगायत बन्दा, आलु, गोलभेडा, चुकन्दर, प्याज, भट्टमासमा आक्रमण गरेको थियो ।
प्रदेश १ का तराई देखि पहाडी जिल्लाहरुमा गत वर्ष जस्तै यो वर्ष पनि मकै हुर्कदै जाँदा अमेरिकन फौजी कीराको प्रकोप बढ्दै गएको प्रदेश स्थित बाली संरक्षण प्रयोगशालाका निमित्त प्रमुख मुकेशकुमार यादवले जानकारी दिनुभयो ।
प्रयोगशालाका निमित्त प्रमुख यादवका अनुसार प्रदेश १ मा अहिले सम्म १००० हेक्टर बराबरको क्षेत्रफलमा लगाईएको मकैमा यो कीराले आक्रमण गरेको पाईएको छ । तराईको जिल्लामा मकै केहि ठूलो भईसकेको र पहाडी भेगमा भर्खरै १ महिना अवधिका विरुवा हुर्कदै गएको अवस्थामा कीराको आक्रमण सुरु भएपछि किसान चिन्त्तित बनेका छन् ।
प्रदेशको पहाडी जिल्लाहरु मध्ये सबैभन्दा बढी खोटाङमा समस्या देखिएको छ भने त्यसपछि उदयपुर, धनकुटा, ओखलढुंगा, संखुवासभा लगायतका जिल्लाहरुमा कीराले क्षति सुरु गरेको छ ।
कुन जिल्लामा क्षति कति?
खोटाङमा लगभग २००० रोपनी क्षेत्रफलमा यसले क्षति पुर्याएको छ । जिल्लाको दिक्तेल नगरपालिका भित्र सोल्मामा २० रोपनी, दोर्पामा ५० रोपनी, विजयखर्कमा ९०० रोपनी, खानी डाँडामा २५० रोपनी , नौबेमा १३० रोपनी, कोलेबारीमा १०० रोपनी क्षेत्रमा लगाईएको मकैमा आक्रमण गरेको छ ।
त्यस्तै खोटाङ कै हलेसी चुवाचुङ नगरपालिकाको सलेमा ७०० रोपनी, रावाबेसी गाउँपालिकामा १५०० रोपनी, दिप्रुंग चुईचुम्मा गाउँपालिकाको रातामाटेमा १०० रोपनी जग्गामा क्षति भएको पाईएको छ ।
त्यस्तैगरि प्रदेशका अरु पहाडी जिल्लाहरु मध्ये उदयपुर, त्रियुगा नगरपालिकाको १५० हेक्टर, चौदण्डीगढी नगरपालिकाको १०० हेक्टर र बेलका नगरपालिकाको ५०० हेक्टर क्षेत्रफलमा कीराले क्षति पुर्याएको छ ।
अरु जिल्लामा अमेरिकन फौजी कीराको क्षतिको विवरण
- धनकुटाको महालक्ष्मी नगरपालिकामा २०० रोपनी
- ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका, सिद्दीचरण नगरपालिका, सुनकोशी गाउँपालिकामा ३०० हेक्टर
- संखुवासभाको खाँदबारी नगरपालिकामा १५ रोपनी, चैनपुर नगरपालिकामा १० रोपनी, मादी नगरपालिकामा १५० रोपनी, धर्मदेवी नगरपालिको २५ रोपनी
त्यस्तै अरु जिल्लाहरुबाट पनि क्षतिको विवरण आउने तयारीमा रहेको प्रयोगशालाले जनाएको छ ।
कस्तो छ मन्त्रालय, निर्देशनालय र प्रयोगशालाको तयारी ?
कीराबाट हुन सक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि कृषि विकास निर्देशनालयका निमित्त प्रमुख प्रकाशकुमार डाँगीको संयोजकत्व ७ सदस्य रहेको प्रदेश स्तरीय ‘Rapid Response Team’ गठन गरी विश्वविद्यालय र एग्रोभेटहरुलाई समेत समावेश गरिएको प्रमुख यादवले बताउनुभयो ।
सुरुवाती चरणमा टिमले जिल्ला स्थित स्थानीयतहमा खटिएका कृषि प्राविधिक कर्मचारीहरु लक्षित गरेर यो कीराको पहिचान र रोकथाम सम्बन्धि तालिम कार्यक्रम एक चरणमा सकाईसकेको छ । प्रदेशका तराईका ४ ओटा जिल्ला ३० जना कृषि प्राविधिकलाई यो कीरा सम्बन्धि तालिम दिईसकेको र पहाडी जिल्लाहरुका कृषि प्राविधिकहरुलाई तालिम दिने क्रममा लकडाउनले गर्दा कार्यक्रम स्थगित गरिएको प्रयोगशालाले जनाएको छ ।
के गर्यो प्रयोगशालाले ?
(फोटो : मुकेशकुमार यादव)
अलि बढी क्षति देखिएको खोटाङमा प्रयोगशालाका निमित्त प्रमुख मुकेशकुमार यादवको नेतृत्वमा गएको टीमले स्थानीय प्राविधिकहरुसंगको समन्वयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा स्थलगत अनुगमन गरेको छ । त्यस्तै ओखलढुंगामा पनि स्थलगत अनुगमन गरिएको यादवको भनाई छ ।
उदयपुरको त्रियुगामा भने कृषि ज्ञान केन्द्र उदयपुरको सहयोगमा प्रयोगशालाले स्थानीय एग्रोभेटलाई केन्द्रित गरेर १ दिने अमेरिकन फौजी कीरा सम्बन्धि अन्तर्क्रिया कार्यक्रम गरेको थियो ।