बुधबार, २८ कार्तिक २०८१

कोरोना महामारीको अवस्थामा समुदाय स्तरीय कृषि अभ्यास, उपभोग र बजारीकरण

Share via:

 

(विश्वव्यापी महामारी बनेको कोरोनाको प्रभावले नेपालमा गरिएको लकडाउनको असरबाट जनजीवन प्रभावित हुँदै जाँदा समुदाय स्तरीय कृषिजन्य क्रियाकलाप, यिनीहरुको उपभोग र बजारीकरणका सम्बन्धमा ईन्जिनियरिङ अध्ययन संस्थान, पूर्वान्चल क्याम्पस, धरानका विद्यार्थी अनुपम सुवेदीले गरेको विश्लेषण यहाँ प्रस्तुत गरिएको छ ।)

कोरोना मानव जातिले सामना गरिरहेको अहिले सम्मकै सबैभन्दा ठूलो समस्या हो । यसको रोकथामका निम्ति विश्वव्यापी रुपमा लकडाउन र सामाजिक दूरीका योजनाहरु लागू गरिएका छन् जसले गर्दा विश्वका ठूला शहरहरु सुनसान भएका छन् । लकडाउन कै कारण विश्वभरका आर्थिक र सामाजिक गतिविधिहरु पूर्ण वा आंशिक रुपले बन्द गरिएका छन् । त्यसको प्रत्यक्ष असर आर्थिक संकटका रुपमा निकट भविष्यमा देखिन सक्छ । कठिन जीवनशैली, रोजगारीका क्षतिहरु मात्रै कोरोनाले नगरेर खाद्य असुरक्षा र कृषि आपूर्ति शृंखलाको बिच्छेद हुन सक्ने सम्भावना देखिएको छ । कृषि र खाद्यन्नको विषयमा बेलैमा सचेत नहुने हो भने मानवजातिलाई ठूलो समस्या पर्न सक्ने देखिन्छ ।

वर्तमान परिदृश्यलाई हेर्दा कृषि गतिविधिहरुमा अवरोध भएको देखिन्छ । कामदारको अनुपलब्धता विशेष चुनौती बनेको छ । यसको प्रत्यक्ष असर श्रम सघन उत्पादकलाई परेको छ । यातायातमा गरिएको प्रतिबन्धले वा सहज रुपमा यातायातका साधनहरु चल्न भएको कमीले ढुवानीमा ठूलो प्रभाव परेको छ । कृषिजन्य क्रियाकलापलाई चाहिने आधारभूत सामग्रीको पनि अभाव हुने अवस्था सृजना भएको छ । यी समस्याहरु प्रति सम्बन्धित निकायले गम्भीर रुपमा लागेर आवश्यक कदम अगाडी बढाउनुपर्छ ।

महामारीले गर्दा गरिएको लकडाउनले उत्पादक मात्र समस्यामा परेको नभई उपभोक्ता पनि उत्तिकै अप्ठेरो परिस्थिमा परेका छन् । यसको असर तत्काल कम देखिए पनि महामारी बढ्दै गएमा झन् गम्भिर भई देखा पर्नेछ । उपभोक्ताले सहज रुपमा वस्तु उपभोग गर्न नसकिरहेको अवस्था एकातिर छ भने अर्कातिर उत्पादित वस्तुले बजार नपाएर समस्या परिरहेको छ । यी सबै समस्याले अन्तत समुदाय स्तरीय उत्पादन र खपतको अवधारणालाई जन्म दिन्छ जसले ढुवानीको चक्रलाई एउटा समुदाय भित्र नै केन्द्रित गरेर मानवीय गतिविधिलाई न्यून राख्दै खाद्यन्न आपूर्तिको माहोल बनाउँछ ।

यस अवधारणा अनुसार हामी एउटा निश्चित सीमा क्षेत्रलाई लिन्छौं र त्यो सीमा भित्र जिल्ला, नगरपालिका, गाउँपालिका वडा या कुनै सीमकित क्षेत्र पर्दछन् । यसलाई समुदाय भनेर बुझ्न सकिन्छ र यसको अवधारणालाई यसरी हेर्न सकिन्छ

  • समुदाय भित्रको उत्पादन सोही समुदाय भित्र अधिकतम खपत गराउने

लामो दूरीको यात्राले यो महामारीलाई फैलाउन विशेष भूमिका खेल्ने सम्भावना रहेको हुन्छ । साथसाथै ठूलो यात्रामा आपतकालीन यात्रा बाहेक अन्य यात्रा र उच्च ढुवानीको कार्यलाई व्यवस्थित बनाउन कठिन हुन्छ । तर एकै समुदाय भित्र भने ढुवानी र बजार व्यवस्थापन गर्न सजिलो हुने भएकाले पनि स्थानीय उत्पादनलाई जोड दिनपर्छ । यसो गर्नाले दुई समुदाय बीचको निर्यात र आयातको आवश्यकता घट्नेछ । आफ्नै समुदाय भित्रका उत्पादन मै गुजारा चलाउन उपभोक्ता तयार हुनुपर्दछ ।

यदि कुनै समुदायमा कोदो उत्पादन गरिन्छ भने कोदोलाई नै चामलको विकल्पको रुपमा लिनपर्छ । यसो गर्नाले चामलको निर्यात र कोदोको आयातमा कमि हुनेछ । यसमा उपभोक्ता खुद विवेकशील भएर चामलको माग घटाएर कोदोको माग गर्न तर्फ लाग्न सक्छन् । अन्तत ढुवानीमा सहजता संगै उत्पादित कोदोको बजार आफ्नै समुदाय भित्र प्राप्त गर्न सकिन्छ ।

  • स्थानीय उत्पादनमा आधारित राहत प्याकेज

यस अवधारणा अन्तर्गत राहत प्याकेजमा स्थानीय उत्पादनलाई समावेश गर्न सकिन्छ । जस्तै स्थानीय उत्पादन मकै छ भने राहत प्याकेजमा मकै समावेश गरिनु उचित हुन्छ । यसमा राहत अन्तर्गत चामलको सट्टा उपलब्ध खाद्यवस्तु उपभोग गर्न उपभोक्ता सरिक हुनुपर्छ । यी क्रियाकलापले स्थानीय कृषकको उत्पादनले बजार पाउनुका साथै उपभोक्तालाई राहत मिल्दछ ।

उल्लेखित दुवै तवरले उत्पादक र उपभोक्ता लाभान्वित हुन्छन् । यसबाट उत्पादकहरुको उत्पादनले बजार पाउंछ भने उपभोक्ताले सहजै खाद्यान्न प्राप्त गर्न सक्छन् । महामारीको अवस्थामा उपभोक्ताले दैनिक आहारविहारमा लचकता अपनाउन सक्नु पर्छ । यसले समुदायको अर्थतन्त्रमा पनि केहि स्थिरता अवश्य ल्याउँदछ । कोरोनाको समस्या जटिल हुँदै गएमा टाढाबाट आयात गर्नुपर्ने खाद्यान्नमा निर्भर रहिरहन पर्दैन ।

लकडाउनको कारण उपभोक्ता र उत्पादक बीच सहज सम्पर्क हुन सकिरहेको अवस्था छैन । बजारको सामान्य चरित्र अनुसार उत्पादक र उपभोक्ताले एक अर्काको बारेमा जानकारी राख्नुपर्दछ । उदाहरणको लागि कुनै स्थानमा कुखुरा उत्पादन भएको छ र बिक्री अवस्थामा छन् । सोही समुदाय भित्र अर्को स्थानमा कुखुराको माग रहेको छ तर असहज ढुवानीले एकातिर उत्पादन खेर जान सक्ने सम्भावना रहन्छ भने अर्को तिर माग पूर्ति हुन सक्दैन । यस बीचको फाइदा उठाउदै बिचौलियाहरुले कृत्रिम अभाव सृजना गरेर अनेक क्रियाकलाप गर्न सक्दछन् । छिट्टै बिग्रन सक्ने खाद्यान्नमा समस्या आउन सक्छ । त्यसैले बजार व्यवस्थापनका उपयुक्त विधीहरु अपनाएर आवश्यक उत्पादनहरु ढुवानी गर्न सकिन्छ । सबै भन्दा पहिले प्रशासनिक अवरोधलाई विशेष ख्याल गर्दै ढुवानी व्यवस्थित गराउन लाग्न पर्छ र आधुनिक प्रविधि प्रयोग गर्न सकिन्छ । ईलेक्ट्रोनिक वाणिज्यका विधिहरुको प्रयोग एक प्रभावकारी तरिका हुन्छ । सामाजिक संजालको प्रयोग गरि जानकारी आदानप्रदानबाट ग्राहकले विक्रेता र विक्रेताले ग्राहकसंग सम्पर्क बनाउन सक्दछन् । टेलिफोन सम्पर्कको दायरा अलि विस्तार गराउनुपर्छ । किसानका उत्पादनलाई खेर जान नदिन कृषि क्षेत्र नजिकै भण्डारणको व्यवस्था गर्नपर्दछ । यसका साथै कृषिको उत्पादन खरिदको जिम्मा स्थानीय निकाय स्वयमले लिएर प्रभावकारी बिक्री वितरण गर्न पनि सहजीकरणको राम्रो उपाय हुन सक्दछ ।

यस अवधारणाको कार्यन्वयनका लागि केहि ढुवानीका नीति ल्याउनुका साथै जनस्तरबाट महामारी प्रति जिम्मेवार भएर सघाउन जरुरी देखिन्छ । प्रत्येक समुदायले यसको अवलम्बन गर्न सके खाद्य असुरक्षाको सम्भावना न्यून हुनुका साथै महामारी फैलिनबाट पनि रोकथाम हुन्छ । यसले समुदायको अर्थ व्यवस्थामा पनि ठूलो प्रभाव पर्नबाट जोगाउँदछ । साना र मध्यम स्तरका किसानको लागि सर्वोत्कृष्ट ठहरिन सक्ने यो अवधारणालाई लागू गर्न केहि नीति सहित समावेश गरेमा ठुला किसानलाई समेत उत्तिकै प्रभावकारी हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *