एक महत्वपूर्ण दलहन बाली : मुङ खेतीबारे सम्पूर्ण प्राविधिक जानकारी
परिचय
मुंग दाल कोसेबाली अन्तर्गत पर्ने मध्ये महत्वपूर्ण बालीको रुपमा चिनिन्छ I यस बालीलाई न्यानो मौसममा लगाउन सकिन्छ I यसलाई मुंग बिन, ‘ग्रिन ग्राम’ आदि नामले पनि चिनिन्छ I नेपालमा यसलाई पूर्वी तराई देखि पश्चिम तराईसम्म लगाउन सकिन्छ I मुंग दाल नेपालको महत्वपूर्ण दलहन मध्येको एक हो I मानिसहरुले यसको बढी प्रयोग दालको लागि गर्छन् भने नेवार समुदायमा ‘बारा’ बनाएर खाने प्रचलन रहेको छ I थारु समुदायमा यसलाई ‘गोगी’ (सिंगो दालको उसिनेर रस बनाएर ) खान्छन् भने कतै ‘मसौरा’ बनाउन प्रयोग गर्ने गरेको पनि पाईन्छ I
यी विभिन्न परिकार बनाईनुको साथै मानव शरीरलाई आवश्यक तत्व पनि पर्याप्त मात्रामा पाइन्छ I यसमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’, ‘के’ संगै सोडियम, फलाम, क्याल्सियम, फस्फोरस, पोटासियम पनि प्रशस्तै मात्रामा पाउन सकिन्छ I यसको बोटमा भएको सूक्ष्म जीवाणुले वायुमण्डलमा भएको नाईट्रोजन संचित गरी बिरुवालाई नियमित रुपमा नाइट्रोजन उपलब्ध गराउंदछ I
मुंगको फल पटक पटक टिप्न पर्ने भएकोले यसको खेती अलि कम गर्ने गरेको पाईन्छ I पूर्वी नेपालको सप्तरी, सिराहा, बारा, पर्सा देखि पश्चिमको नेपालगन्ज, कंचनपुरमा प्रशस्त मात्रमा खेती भएको पाइन्छ I अरु दाल बाली भन्दा उच्च मूल्य पर्ने भए पनि यसको खेती सन्तोषजनक पाउन पनि मुस्किल छ I
यस बालीलाई गहुँ काटेपछि लगाउने चलन छ भने कतै तोरी खेती सकेपछि लगाउने चलन छ I सामान्यतया फागुनको दोस्रो हप्तामा लगाईने गरिएता पनि गहुँ काटेपछि वा वैशाख पहिलो हप्ता सम्म पनि लगाउने गरिन्छ I
फागुन पहिलो हप्तामा लगाउनाले रोग र कीराको प्रकोप त्यति खेप्न पर्दैन भने वैशाखमा लगाउँदा कीरा साथै मनसुन अघिको वर्षा खेप्नु पर्दा उत्पादन वस्तुको भण्डारण गर्न असजिलो हुन्छ I
मुंग दाल अलि ठाडो, गहिरो जरा भएको र धेरै हाँगा दिने, डाँठमा झुस हुने बाली हो I यसको उचाई ४५ -७५ से.मि. सम्म हुन्छ I पातहरुको बनोट भने अरु कोसेबाली जस्तै ‘ट्राइफोलीयट’ आकारको हुन्छ I
पोषण तत्व
मुंग बालीमा अन्नबालीमा भन्दा बढी मानव शरीरलाई आवश्यक पोषक तत्व पाईने भएकोले भातसंग मुंग दाल अपरिहार्य अथवा पूर्ण खाना मानिन्छ I यस दाल बालीमा सजिलै संग पचाउन सकिने प्रोटिन तत्व पाईन्छ I
१०० ग्राम सुकेको दालले निम्न परिणामको तत्व प्रदान गर्दछ
हावापानी तथा मौसम
मुंग बाली न्यानो हावापानी सहने बाली हो I यसले तुसारो भने सहन सक्दैन त्यस्तै अधिक तापक्रम र वर्षात भए पनि फूलहरु झर्ने गर्छ I १५ डी. से. मुनिको तापक्रममा बीउ उम्रिदैन I मुंगको वृद्धि विकास र राम्रो उत्पादन लिनलाई हावाको औसत तापक्रम २७-३५ डिग्री. सेन्टिग्रेड उपयुक्त मानिन्छ I उच्च तापले कोसामा दाना लाग्न दिदैंन I त्यसैगरी कम तापक्रम पनि वनस्पतिको वृद्धिको लागि त्यति राम्रो मानिदैंन I अवस्था हेरेर मुंगलाई दुई सिजनमा लगाउन सकिन्छ I एक पटक गर्मी समयमा लगाउन सकिन्छ भने अर्को पटक गर्मीको अन्त्यमा गहुँ काटी सकेको समय पनि राम्रो मानिन्छ I
नेपालको तराई भागमा यदि फूल फुल्ने बेला दिनको तापक्रम घटीमा ३० डिग्री. सेन्टिग्रेट र बेर्ना उम्रने बेलाको तापक्रम बढीमा १० डिग्री. सेन्टिग्रेड भए यसको खेतीको सम्भव देखिन्छ I मुंग बालीको उत्पादन र वृद्धि दिनको लम्बाईमा निर्भर रहन्छ I छोटो दिन भए छिटो फूल फुल्छ भने लामो दिन भए ढीला फूल फुल्छ I
माटो
प्रशस्त प्रांगारिक पदार्थयुक्त बलौटे वा चिम्टाइलो दोमट माटोमा मुंगको उत्पादन राम्रो मानिन्छ I तर उपयुक्त पानीको निकास र राम्रो जोताई भएमा धेरै जसो माटोमा पनि मुंग खेती गर्न सकिन्छ I मुंगलाई थोरै अम्लीय देखि तटस्थ (पी.एच ६.३-७.२) माटो राम्रो मानिन्छ I
जमिनको तयारी गर्दा २-३ पटक राम्रोसंग खनजोत गरी माटो बुर्बुराउंदो बनाउनु पर्दछ I मुंगले पानी जमेको सहन सक्दैन त्यसैले पानीको राम्रो निकासको व्यवस्था गर्नुपर्दछ I मुंगले बढी क्षारीयपना सहन नसक्ने भएकोले उक्त माटोमा रोपे ‘आइरङ क्लोरोसीस’को लक्षण देखिन्छ भने सुक्ष्म तत्वको कमि हुन्छ I बढी चिमटाइलो माटोमा जरा वृद्धि विकास राम्रो हुन सक्दैन I
बाली लगाउने पद्धति
छोटो अवधिको र गुजमुजे रोग अवरोधक जातहरुको उन्मोचन भइसकेको कारण मुंग खेती गहुँ काटीसकेपछि र धान लगाउनु भन्दा अघि लगाई आर्थिक लाभ लिनुको साथै खेतको माटोको बनोट र खादतत्वमा सुधार हुन्छ I फागुन देखि वैशाख दोस्रो हप्तासम्म लगाउन सकिने भएकोले विभिन्न बाली चक्र अपनाउन सकिन्छ जस्तै उखु/ आलु/ तोरी – मुंग, मुंग / मकै – धान – तोरी / गहुँ, मुंग – मकै -आलु, मुंग – धान – आलु, मुंग – तोरी / गहुँ I यस बालीचक्रले बाली विविधता लागि महत्वपूर्ण भूमिका खेलेको छ I
जात
रोप्ने समय
मुंगलाई गहुँ काटिसके पछि तुरुन्त लगाउनुपर्दछ I राम्रो उत्पादन लिन फागुनको तेस्रो हप्तामा लगाउनु उपयुक्त हुन्छ तर वैशाख दोस्रो हप्ता पछि त्यति राम्रो मानिदैंन जसले फूल फुल्ने समय धेरै तापक्रम र तातो हावा भोग्न पर्छ फलस्वरूप फूल झर्ने र दाना बन्न कठिन हुन्छ I ढिला लगाउनुको अर्को बेफाइदा भनेको मनसुन अघिको बर्षाको कारण दानाको गुणस्तर बिग्रिने र उत्पादनमा कमि हुन्छ I
जग्गा तयारी
राम्रोसंग जोताई गरेको खेत भए बीउ उम्रन र बालीविकासमा सघाउ पुर्याउछ I जसको लागि २-३ पटक जोत्ने र पटाहा लगाई डल्ला र झार रहित बनाउनु पर्छ I रोप्नु अगाडी सिंचाई गर्नु आवस्यक हुन्छ I
बाली लगाउने दर र दूरी
मुंगको बीउ ४-५ से.मि गहिरो रोप्दा बीऊको उमारसक्ति राम्रो हुने गर्छ I यदि माथिलो भाग धेरैनै सुक्खा छ भने बीउ लागउने गहिरो अलि कति बढाउन पनि सकिन्छ तर धेरै गहिरो भयो भने पनि उमारशक्ति राम्रो हुदैन I त्यसैले बाली काटि सके पछि मुंगको लागि जग्गा तयार गर्नु अघि सिंचाई गर्दा फाइदाजनक हुन्छ I राम्रो उत्पादन लिन्न १ हेक्टरमा ४,००,००० बिरुवाको बोट सिफारिस गरिएको छ I हार देखि हार २०-३० से.मी र बोट देखि बोट निरन्तर कायम गर्दा बीउ दर २०-३० के.जि/ हे कायम गर्नु पर्दछ I यदि बीऊको साइज ठुलो भए, बीउ दर बढाउन सकिन्छ I
मलखाद
१० टन कम्पोस्ट मल र २० : ४० : २० नाइट्रोजन, फस्फोरस र पोटास सिफारिस दरले बीउ रोप्नु भन्दा अगाडी जमिनको तयारी बेलामा प्रयोग गर्नुपर्दछ I बिरुवा उम्रेको २० – २५ दिनमा बाँकी रहेको नाइट्रोजनका एक तिहाई भागलाई बोटमा साइड ड्रेस गरिदिनु पर्दछ I बाँकी रहेको नाइट्रोजनका एकतिहाई भागलाई बोटमा फूल फुल्न लागेको बेलामा साइड ड्रेस गर्नुपर्दछ I
सिंचाई
वातावरण र माटोको पानी राख्ने क्षमता र बनोटको आधारमा मुंगबालीलाई ३-४ सिंचाई पर्याप्त हुन्छ I बीउ उम्रे पश्चात फूल फुल्नु अघि सम्म हल्का सिंचाई दिई राख्नु आवश्यक हुन्छ I फूल फुले देखि कोसा परिपक्क नहुन्जेलसम्म बिरुवाको जराहरु भिज्ने गरी पनि दिनपर्छ I
झार व्यवस्थापन
गर्मी तथा वर्षा मौसममा खेती गर्ने भएकोले झारपातले निकै नै सताउने गर्छ I बीउ छरेको २०-२५ दिन झारपातको सङ्क्रम हुने हुँदा यस समयमा गोडमेल गरी हाल्न पर्छ I यो समय नगोडे उत्पादनमा ३० – ५०% ह्रास आउँदछ I गोडमेल गर्दा सानो कुटोले हलुकासंग माटोको माथिलो सतह खोस्रेर गोडमेल गर्नुपर्दछ I रासायनिक मल प्रयोग गर्दा पनि गोडमेल गर्नूपर्दछ i फूल फुल्ने समयमा पनि गोडमेल गर्नु पर्छ I
झार नियन्त्रण गर्ने विषादीहरु पनि सिफारिस भएका छन् जसमा ‘पेंडीमेथालिन ३० ई.सी. ३.७५ एम.एल प्रतिलिटर पानी प्रयोग गरे अगाडी आउने झारपातलाई नियन्त्रण गर्छ I
रोग तथा कीराहरु
पहेलो छिरबिरे रोग/ गुजमुजे (YMC)
यो रोग मुंग बालीमा yellow mosaic virus ले गर्दा लाग्छ I सेतो झिंगाको माध्यमबाट सर्ने गर्छ I पातमा स-साना पहेलो दाना जस्तो देखिन्छ पछि समय संगै पुरै पातमा लाग्छ जसले गर्दा बोटमा फूल फुल्ने र दाना लगाउन ह्रास आउछ I यदि अगाडी नै लागेमा बोटनै मर्न सक्छ I
नियन्त्रण विधि
अवरोधक जातको प्रयोग गर्ने
रोग लागेको बिरुवालाई हटाएर नस्ट गर्ने
सेतो झिंगाको नियन्त्रण गर्न triazophos 40 ई.सी वा मलाथीयन ५० ई.सी २ एम.एल प्रति लिटर वा अक्सिडेमेटम मिथाएल २ एम.एल प्रति लिटर १०-१५ दिनमा प्रयोग गर्ने
रोग सार्ने लाही कीरा र सेतो झिगालाई नष्ट गर्न लागि २ एम.एल प्रति लिटर पानीमा मिसाई छर्कनु पर्दछ I
१ गिलास काचो दूध ८ लिटर पानीमा मिसाई बिरुवामा छार्नाले भाइरस द्वारा हुने क्षति कम हुन्छ I
Macrophomina Blight
यो रोग Macrophomina phaseolina नामक ढुसीले लाग्छ I यस रोगले जरा कुहिने, फेद कुहिने , पातहरू डढने, कोसा संग संगै बीऊलाई पनि क्षति गर्छ I बिरुवा उम्रिनु अगाबै, ढुसीले बीऊ कुहिने र उमारशक्तिमा कमि आउँछ I बिरुवा उम्रि सकेपछि डडुवाको देखापर्छ जसले गर्दा फेद सुकाएर बोटलाई मर्ने गर्छ I यो रोग ३० डिग्री सेल्सियस तापक्रम र १५ % आर्द्रतामा लाग्ने गर्छ I
नियन्त्रण विधि
रोगी बिरुवालाई उखालेर फाल्न पर्छ र जलाउन पर्छ I
बीऊलाई Trichoderma ५-१० ग्राम प्रति के.जि बीऊमा क्यापटन ७५ डब्लु.पी २ ग्राम र थिराम ८० % डब्लु.पी २ ग्राम प्रति लिटर ले बीउउपचार गरेर छर्ने I
बालीलाई कार्बेनडाजिम ५० डब्लु.पी १ ग्राम प्रति लिटर पानीमा मिसाई रोग देखेको १५ दिनको अन्तरालमा छर्ने
कोत्रे रोग(राईजोकटोनिया बलाइट)
यो रोग राईजोकटोनिया सोलानी नामक ढुसीले गर्दछ I बीउ उम्रे पश्चात् रातो वा पहेलो किनारा भएका सेतो दबेको धब्बाहरुले फैलिएर अन्तिममा बिरुवा मर्न थाल्दछ I कालो ढुसीको स्क्लेरोटिया असर भएको ठाउँमा तन्तुमा बसेको हुन्छ I
कीरा
थ्रिप्स
सबै भन्दा दुख दिने कीरा मध्ये थ्रिप्स पनि एक हो I यो सानो र कालो खैरो कीरा फूलको इस्टिगमा फूल नफुल्दै रस चुसेर फूललाई नस्ट गर्दिन्छ I कहिले काही फल नलग्ने अवस्था पनि हुने बनाउछ I
नियन्त्रण विधि
थ्रिप्स लागेको १५ दिनको अन्तरालमा हल्का सिंचाईको बेबस्था गर्ने
थियोमेथोजाम ७० ws ०.२ % ले बीउ उपचार गर्ने
triazophos 40 ई.सी वा मलाथीयन ५० ई.सी २ एम.एल प्रति लिटर पानीमा मिसाई कोपिला लाग्ने समयमा छर्ने
निमको बीऊ पदार्थ (५० ग्राम/लिटर पानीको झोल) बनाएर छर्ने
सुर्ती झुसिल कीरा
वैज्ञानिक नाम ईस्पोडेपटोरा लिटुरा खन्चुवा कीरा हो I यस कीराको दोस्रो चरणको लार्भाले पातको सतह २-३ दिनमा सेतो जालो मात्र शेष रहने गरी खान्छ I पातलाई लार्भाले छिद्र छिद्रा परेर नोक्सान गर्दछ जसले सम्पूर्ण बोट नै नस्ट गर्छ I
नियन्त्रण विधि
अन्डाको झुण्ड र लार्भालाई जम्मा गरेर बिनास गर्ने
मालाथियन ५० ई.सी. २ एम.एल प्रति लिटर वा नोवलुरङ १० ई.सी. ०.७५ एम.एल.प्रति लिटर पानीमा मिसाई छर्ने
SNPV वा Bt thuringiensis को प्रयोग गर्ने
कोशा ग्वारो/कोसा प्वाल पार्ने कीरा
वैज्ञानिक नाम: हेलिकोभर्पा आर्मीजेरा
यस कीराले कलिलो कोशालाई क्षति पुर्याउछ I क्षति पुर्याएको कोशामा गोलोआकारको प्वाल भेटिन्छ I
नियन्त्रण विधि
ईपिनोस्याड ४५ ई.सी. १५० एम.एल १५० एम.एल प्रति लिटर मिसाएर लार्भा देखेमा प्रयोग गर्ने
ईमेक्टिन बेन्जोएड ५ यस गी ०.२ ग्राम प्रति लिटर पनि मा मिसाई छर्ने
नीम तेल ३०० पपम २० एम.एल प्रति लिटर पानीमा प्रयोग गर्ने
सेतो झिंगा
वैज्ञानिक नाम: बेमिसिया ट्याबिका
पातमा भएको रस चुसेर बिरुवालाई कमजोर पार्दछ र अरु कीरा संक्रमणको बढ्छ जसकरण बाली मर्दछ I गुजमुजे रोग पनि यहि कीराले सार्ने काम गर्दछ I
नियन्त्रण विधि
इमिडाक्लोरोपीड १७.८ यस.एल @ ३ एम.एल प्रति के.जि बीउ उपचार र ०.२ एम.एल. प्रति लिटर प्रत्येक १५ दिनको अन्तरमा छर्ने
नीमको तेल ३००० पी.पी.एम. @ २० एम.एल प्रति लिटर छर्ने
खैरो पतेरो
गर्मीको समयमा एकदमै लाग्ने पतेरो हो I यसको सुडले कलिलो कोसको बीउबाट रस चुसेर खाइ नोक्सान गर्दछ I यसबाट बीऊलाई बचाउनका लागि भदौको पहिलो हप्तामा रोप्नुपर्दछ I वर्षात बढी भएको गर्मी समयमा यसको संख्या धेरै हुने गर्छ I यद्यपी बाली लगाउने समय हेरफेर गरेर पतेरोबाट बचाउन सकिन्छ I
नियन्त्रण विधि
नियन्त्रण गर्न १.५-२ मि.लि. रोगर प्रति लिटर पानीमा मिसाएर १०/१५ दिनको फरकमा बोटमा छर्नु पर्दछ I
पाउडरी मिल्ड्यु
वैज्ञानिक नाम: इरिसिपि पोलीगोंनाइँ
जरा बाहेक पात र अरु सबै भागमा सेतो धुलो धब्बाहरु देखा पर्दछन I रोग पूर्णरुपमा फैलिएको अवस्थामा पातखस्ने हुन्छ I
नियन्त्रण विधि
रोगि बोटहरु र अवशेषहरु जम्मा गरेर जलाउनु पर्दछ I कपरअक्सीक्लोराइड, सल्फर वा क्याराथेन नामक ढुसी नासक विषादी १२-१५ दिनको फरकमा छर्नुपर्दछ I
लाही कीरा
यो कीराले बिरुवाको पात र डाठबाट रस चुस्छ I
पातमा कालो ढुसी जम्मा भएको देखिन्छ I
१.५-२.० मि.लि. रोगर प्रतिलिटर पानीमा मिसाएर १०/१५ लिटर पानीमा मिसाएर १०/१५ दिनको फरकमा बोटमा छर्नु पर्दछ I
(लेखक राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम, जितपुर, बारामा प्राविधिक अधिकृतको रुपमा कार्यरत हुनु हुन्छ I)