अन्नबाली भण्डारणमा देखिने समस्या र तिनको व्यवस्थापन
(प्राय उत्पादन गरेको अन्नबालीको उपयुक्त व्यवस्थापन नहुँदा धेरै क्षति हुने गरेको पाईन्छ । खेती गरेर मात्र भएन उत्पादित वस्तुलाई सुरक्षित तरिकाले राख्न सकिएन भने कृषि जन्य क्रियाकलाप गर्नु नगर्नुको कुनै अर्थ रहन्न । कसरी सुरक्षित रुपमा उत्पादित अन्नबालीको भण्डारण र व्यस्थापन गर्ने त कोपिला पौडेलको कृषकहरुलाई सल्लाह)
बाली भित्र्याएपछि त्यसको सहि रुपमा भण्डारण गर्न नसक्दा समय समयमा विभिन्न रोग कीराले समस्या निम्त्याईरहेका हुन्छन् । अन्न भण्डारण पूर्व ध्यान दिनुपर्ने कुराहरुमा कमजोरी हुनाले असुरक्षित भण्डारण भई हामीले क्षति बेहोर्नुपर्ने हुन सक्छ । अन्न भण्डारणमा लाग्ने ढुसीजन्य रोग, मुसा संगै पुतली, खपटे, घुनजस्ता कीराहरुले सरदर २५ देखि ३० प्रतिशत क्षति गराउने पाइएको छ ।
बालीनाली थन्क्याउदा अथवा भण्डारण गर्दा अन्नबालीमा आवश्यक चिस्यानको मात्रा तल माथि हुँदा रोग तथा कीराहरु लाग्ने समस्या बढी हुन्छ । त्यस्तै गरी भण्डारण गर्ने ठाँउको सापेक्षित आर्द्रता अनुकूल नहुँदा ढुसीजन्य समस्याले पनि बालीको गुणमा ह्रास ल्याउन सक्दछन् ।
अन्नभण्डारण गर्नुपूर्व ध्यान दिनुपर्ने कुराहरु
- भण्डारण गर्नु भन्दा पहिले अनाजलाई राम्ररी सुकाउनु पर्छ
- भण्डारणको समयमा अन्नमा चिस्यानको मात्रा १२ प्रतिशत हुनुपर्छ, सजिलो तरिकाले बुझ्दा अन्नलाई टोक्दा किटिक्क आवाज आयो भने भण्डारणको लागि उपयुक्त छ भनेर बुझ्नुपर्छ,
- अन्न राख्ने ठाउँ सुख्खा, कम आर्द्रता भएको सफा हुनुपर्छ । यसका साथै हावाको राम्रो बन्दोबस्त भएको र पुरानो अनाज वा बीउ नभएको हुनुपर्छ,
- भकारी अथवा अन्न राखेको भाँडोलाई काठ वा फल्याकमाथि राख्नुपर्छ,
- स्टील तथा टीनका भाँडामा भण्डारण गर्दा भित्रबाट पेन्ट गरि राखेमा अन्न ओसिन पाउँदैन ।
अन्नभण्डारणमा लाग्ने कीराहरु व्यवस्थापन गर्ने विधि
जैविक विधि
आजभोलि बजारमा सजिलै उपलब्ध हुने भएकाले अन्नभण्डारणमा रसायनिक विषादीको प्रयोग गर्ने प्रचलन बढ्दो छ तर यसरी भण्डारण गरिएको अन्नको सेवनले हामी आफ्नै स्वास्थ्यसंग खेलबाड गरिरहेका हुन्छौं अथवा भनौं खानाको माध्यमबाट नजाँनिदो पारामा शरीरमा विषाक्तता बढाईरहेका हुन्छौं । त्यसैले दीर्घकालीन र स्वास्थ्यमैत्री विधि प्रयोग गरी भण्डारणका तरिकाहरु अपनाउनुपर्दछ । रसायनिक विषादीको विकल्पका रुपमा आफ्नै स्थानीय स्तरमा उपलब्ध हुने वनस्पतिहरु प्रयोगमा ल्याउन सकिन्छ र यिनै जैविक वनस्पतिको प्रयोगद्वारा अन्नबाली भण्डारणमा देखिने कीराहरुको व्यवस्थापन सजिलै गर्न सकिन्छ ।
तरिकाहरु
तरिका नम्बर १
धान, गहुँमा लाग्ने घुनको लार्भाले अनाजभित्र पसेर खान्छ भने वयस्क घुनले बाहिरी सतहमा नोक्सान पुर्याउंछ । यसको नियन्त्रणको लागि १ भाग नीमको बीउको धुलो १०० भाग अनाजमा मिसाएर भण्डारण गरेमा ६ महिनासम्म सुरक्षित भण्डारण गर्न सकिन्छ ।
तरिका नम्बर २
सुपर ग्रेन ब्याग (PICS) मा अन्न भण्डारण गरेर पनि सजिलै नियन्त्रण गर्न सकिन्छ ।
सुपर ग्रेन ब्यागलाई हर्मेटिक ब्याग पनि भन्ने गरिन्छ जसमा १२ प्रतिशत चिस्यानको मात्रा भएका बीउ र १४ प्रतिशत चिस्यानको मात्रा भएका अन्नलाई लामो समयसम्म सुरक्षित रुपले भण्डारण गर्न सकिन्छ । यस ब्यागमा भण्डारण गर्नुभन्दा पहिले अनाजलाई ३-४ दिन सम्म घाममा सुकाउनु पर्दछ । यसमा ६५ किलो तौलसम्म बीउ भण्डारण गर्न सकिन्छ । झट्ट हेर्दा बजारमा पाइने सामान्य किसिमको ब्यागजस्तै देखिएपनि सुपर ग्रेन ब्याग त्यो भन्दा भिन्न किसिमले तयार पारिएको हुन्छ र त्यसैले मूल्य पनि अलि बढी (प्रति गोटा रु. २८८) हुन्छ । हिफाजत गरेमा यो ८-१० वर्षसम्म टिकाउ हुन्छ तर कुनै कारणवस बोरामा प्वाल पर्न गएमा यसले काम गर्दैन ।
सुपर ग्रेन ब्यागमा अनाज वा बीउ भण्डारण गर्दा यसभित्र बिस्तारै अक्सिजनको मात्रा कम भई कार्बनडाईअक्साइडको मात्रा बढ्न जान्छ फलस्वरुप कीराहरु अक्सिजनको खोजीमा माथिल्लो सतहमा आउँछन् र ३ दिन भित्र अक्सिजनको कमीले निस्सासिएर मर्छन् ।
तरिका नम्बर ३
धानको पुतलीका नियन्त्रण गर्न बोझोको गानो सुकाएर बनाएको धुलोलाई पातलो कपडामा बाँधेर भण्डारण गरिएको अनाजको बीचमा राखिदिनाले धानको पुतली नियन्त्रण गर्न सकिन्छ ।
तरिका नम्बर ४
चैते धानलाई धानको पुतलीबाट जोगाउन सिमलीको हरियो पात तथा साना-साना डाँठहरुको प्रयोग गर्न सकिन्छ ।
तरिका नम्बर ५
दलहन बाली जस्तै चना, बोडी, मास, रहर आदिलाई घुन, पुतली लगायत खपटे कीराले सताउने गर्दछन् ।
नियन्त्रणको लागि तोरी, सुर्यमुखीको तेल ५ मि.लि. प्रति के.जी. अनाजका दरले राम्ररी मोलेर भण्डारण गरेमा कीराले अनाजमा फुल पार्न सक्दैन र तेलको सम्पर्कमा आएका फुलहरु लार्भा निस्कन सक्दैनन् ।
सिताफल – रामफलको पातलाई सुकाएर बनाएको धुलो मिसाएर भण्डारण गर्दा ३ देखि ४ महिनासम्म बोडीको घुनबाट बचाउन सकिन्छ ।
तरिका नम्बर ६
पिठोमा लाग्ने खपटे, अनाजको पुतली, राइजोपर्था खपटेको नियन्त्रणका लागि नीमका पात सुकाएर २ देखि १० प्रतिशत अनाजको तौलको हिसाबले मिसाएर भण्डारण गर्दा ४ – ५ महिनासम्म अनाजलाई सुरक्षित राख्न सकिन्छ ।
तरिका नम्बर ७
आलुमा लाग्ने पुतलीका लागि नीम, तीतेपाती तथा बकाइनोको पात छाँयामा सुकाएर बनाइएको धुलोलाई भण्डारणमा प्रयोग गरेमा उक्त वनस्पतिको गन्धले कीरा भगाउन मद्दत गर्छ ।
तरिका नम्बर ८
मकैमा लाग्ने घुन नियन्त्रणका लागि भण्डारण गर्नु पूर्व मकैलाई राम्ररी सुकाएर ५ के.जी. खरानी प्रति क्विन्टल मकैमा मिसाएर राख्नाले मकैलाई करिब ९ महिनासम्म घुनबाट सुरक्षित राख्न सकिन्छ ।
यी भए भए मानव स्वास्थ्य मैत्री केहि जैविक उपायहरु । अति नै क्षति पार्न सक्ने अवस्थामा अन्नलाई पुर्याएको भए यी अन्तिम विधि अपनाउसकिन्छ रसायनिक विधि
रसायनिक विधि
खाद्य प्रयोजनको लागि भण्डारण गरिएको अन्नमा रसायनिक विषादीको प्रयोग स्वास्थ्यका लागि घातक हुन्छ तथापि बीउबिजनको प्रयोजनका लागि भण्डारण गरिएको खण्डमा कीरा नलागोस् भन्नका लागि सेल्फस २ / ३ चक्की मलमलको कपडामा बेरेर १ मेट्रिक टन अनाजमा ६ देखि १२ इन्च भित्र हावा नछिर्ने गरि बन्द गरेर राखेमा कीरा मर्दछ ।
त्यस्तै मालाथीयनको धुलो १-२ ग्राम प्रति के.जी. बीउका दरले प्रयोग गरेमा पनि अनाजमा लाग्ने कीराहरु नियन्त्रण गर्न सकिन्छ ।
(लेखक कृषि ज्ञान केन्द्र, संखुवासभामा बागवानी विकास अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।)