अलैंची बिक्री भएपछि किसान खुसी
थन्क्याइएको अलैँची बिक्री भएपछि इलामका किसान हर्षित भएका छन् । गएको वर्ष र यो वर्षको अलैंची एकैसाथ बिक्री गर्न पाउँदा उनीहरु हर्षित भएका हुन् ।
अलैँची मसलाको रुपमा सबैभन्दा बढी तेस्रो देश निर्यात हुने मुख्य नगदेबाली हो । तेस्रो देशसहित नेपालमा समेत कोरोना महामारीले पारिरहेको प्रभावका कारण अलैँची बिक्री नहुने हो कि भन्ने चिन्तामा रहेका किसानलाई अहिले राहत भएको माईजोगमाई गाउँपालिका २ का किसान वीरबहादुर महतले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘बिक्दैन कि भन्ने डर थियो तर बिक्यो, साँच्चै नै खुसी लाग्यो । स्थानीय व्यापारीले गएको वर्ष किनेकै अलैँची थन्क्याएर राखेकाले यो वर्ष किन्दैनन् भन्ने पिर लागेको थियो ।’ नेपालले पाकिस्तानसँग अलैँची सम्बन्धी व्यापार सम्झौता गरेको चर्चासँगै व्यावसायिक रुपमा अलैँची खेती गरिरहेका इलामका किसान अझै मूल्य वृद्धि हुनेमा आशावादी छ ।
गएको वर्षभन्दा यो वर्ष वीरबहादुरको अलैँची उत्पादन बढेको छ । गएको वर्ष सुक्का चार मन उत्पादन भएको अलैँची यो वर्ष बढेर सात मन पुगेको छ । केही समयअघि प्रतिमन (४० केजी) को २१ हजार मूल्यमा किनबेच भइरहेको अलैँची अहिले २४ हजारसम्म किनबेच भइरहेको छ ।
माईजोगमाईका कुल किसानमध्ये ६० प्रतिशत किसानले व्यावसायिक अलैँची खेती गर्दै आएको किसान महतले जानकारी दिनुभयो । जसमा १५ प्रतिशत किसान भने जीविकोपार्जनका लागि यही बालीमै आश्रित छन् ।
अलैँची गरम मसलामा अधिक मात्रामा प्रयोग हुने गर्छ । कोरोना महामारीका कारण होटल बन्द भए, पर्यटक कम आए र विवाहलगायतका कार्य कम भएकाले विश्वको अर्थतन्त्र नै ठप्प भएको समयमा अलैँचीको अहिलेको बजार मूल्य चित्तबुझ्दो भएको नेपाल अलैँची व्यवसाय महासङ्घका उपाध्यक्ष तथा व्यापारी इन्द्र बिन्दल बताउनुहुन्छ ।
उहाँका अनुसार, अहिले नेपालको अलैँची भारत, पाकिस्तान र बङ्गलादेशसम्म निकासी हुन थालेको छ, जसमा सबैभन्दा बढी भारतमा ७० प्रतिशत निकासी भइरहेको छ । उज्यालोबाट लिईएको ।