बुधबार, २० श्रावन २०७८

वातावरण मैत्री दीगो कृषि कि उत्पादन केन्द्रित कृषि ?

Share via:
  •  
  •  
  •  
  •  
  •  

 

देशमा आर्थिक, सामाजिक र राजनीतिक पक्षहरु निरन्तर परिवर्तन भईरहँदा कृषि क्षेत्र पनि संक्रमणकालीन  बन्दै गएको विगतको ईतिहास र वर्तमानका क्रियाकलापबाट प्रष्टै देखिन्छ  । देशको आवश्यकता चासो र खोज बीच कृषिले आफूलाई विस्तारै रुपान्तरण गर्दै छ । एकातिर हाम्रा पुर्खाले गर्दै आएका कृषिका कर्महरु, विधिहरु र त्यसमा उपयोगि ज्ञानसीपहरु क्रमशः लोप हुँदैछन् भने  अर्कोतिर आधुनिक, यान्त्रिक, औद्योगिक र व्यवसायिक कृषिले त्यसलाई विस्थापित गर्दैछन् ।

पहिले पहिले जीविकोपार्जनका लागि गरिने कृषिजन्य क्रियाकलापले आफ्नो स्वरूप बदल्दै गएको देख्न सकिन्छ । दैनिकी चलाउन, परिवारलाई पुग्ने जति उत्पादन पछि बचेको वा उब्रेको वस्तुलाई गैर कृषिका सामाग्रीहरु संग साटिन्थ्यो यस अर्थमा तत्कालिन समयको कृषि पद्धति निर्वाहमुखी थियो । अहिले कृषि व्यापारको माध्यम बन्दै गएको छ ।  अतिरिक्त नाफा उत्पादन गरिने व्यवसाय बनेको छ उद्योगका लागि मात्र कच्चा पदार्थ निर्माण गरिने क्षेत्र बन्दै गरेको छ औद्योगिकरण भएको छ, व्यवसायिकरण भएको छ । यसरी नै निर्वाहमुखी कृषि आधुनिक तर्फ रुपान्तरण भएको छ ।

कृषिमा निरन्तर रुपान्तरण भईरहँदा कृषिमा आश्रित जनसंख्या भने घट्दो क्रममा छ । आज भन्दा ५५ वर्ष अघि सन् १९६५ मा कृषिमा आश्रित जनसंख्या ८१ प्रतिशत थियो र कुल गार्हस्थ उत्पादनमा योगदान ६५ प्रतिशत थियो । आजको अवस्था भने कृषिमा आश्रित जनसंख्या ६५.४ प्रतिशत छ भने कुल गार्हस्थ उत्पादनमा यसको कुल योगदान २७ प्रतिशत रहेको छ । यस ५५ वर्षको अवधिमा कृषिको खेती प्रणालीमा ठुलो परिवर्तन आएको छ । घट्दो निर्यात र बढ्दो आयातको क्रम छ भने विस्तारै कृषि निर्वाहमुखी प्रणालीबाट व्यवसायिकता तर्फ फड्को मार्न खोजेको देखिन्छ ।

निर्वाहमुखी कृषिको प्राथमिकता जीवनयापन र कामचलाउ मै केन्द्रित हुन्छ । यस खाले कृषि प्रणाली वातावरण मैत्री हुन्छ जैविक विविधताका हिसाबले धनी हुन्छ । थोरै जमिनको अधिकतम प्रयोग गरि राम्रो उत्पादन लिने प्रयास गरिएको हुन्छ । बाली चक्रको नियमलाई अनुशरण गरिएको हुन्छ । बाली संरक्षणको प्रांगारिक पद्धति अपनाईएको हुन्छ । प्राकृतिक वातावरणलाई यथावत् रुपमा राख्न प्रयास गरिएको हुन्छ । यसरी पर्यावरणको सन्तुलित संरक्षण गर्ने प्रयास गरिएको हुन्छ प्राकृतिक स्रोत साधनको न्यायोचित प्रयोग गरिएको हुन्छ र कृषि दीगो हुन्छ ।

पछिल्ला दशक यता व्यवसायिक कृषिमा माथि उल्लेखित विशेषताहरु बिरलै भेटिन्छन् । यस कृषि प्रणालीमा ठूलो क्षेत्रफलमा एकै जातको एकै बाली खेती गरिन्छ । लगानीका साधनहरु मल, बीउ, श्रम आदिको अधिकतम प्रयोग गरिन्छ र व्यवसायमा हुने जोखिम न्यूनीकरण गर्न उच्च रासायनिक मल, जीवनाशक विषादी, एण्टिबायोटिक्स आदिको प्रयोगमा जोड गरिन्छ । यस कृषिको अधिकतम उद्देश्य अतिरिक्त नाफाको उत्पादन गर्नु रहेको हुन्छ । कृषिमा व्यवसायिकरण बढ्दै गर्दा वर्षेनी रासायनिक मलको माग पनि बढ्दो क्रममा छ । आ.व. २०७४/७५ मा मात्र करिब साढे तीन लाख मेट्रिक टन बराबरको रासायनिक मल देशभर बिक्री वितरण गरिएको थियो । केही दशक अघि देखि नै यस्तै परिणाममा वर्षेनी कयौ लाख मेट्रिक टन बराबरको रासायनिक मल हाम्रो खेतबारीमा खनाईंदै छ । यसका नकारात्मक असर र प्रभावहरु पर्यावरणमा विस्तारै देखा पर्दैछन् । आगामी आ.व. २०७७/७८ को बजेटमा पनि रासायनिक मलको अनुदान स्वरुप रु. ११ अर्ब विनियोजन गरिएको छ ।

प्रविधिको विकास र विदेशबाट फर्किएका युवाद्वारा विकसित व्यवसाय उन्मुख कृषि मूलतः एकल बालीको प्रयोग अर्थात् (मोनो क्रपिङ) मा आधारित हुन्छ भने परम्परागत ज्ञानमा आधारित निर्वाहमुखी कृषि बहुबाली अर्थात (मिक्स क्रपिङ) मा आधारित रही आएको छ । विभिन्न समयमा गरिएका अध्ययन र अनुसन्धानहरुले यो कुरा पुष्टि गरेका छन् । उचित रुपमा व्यवस्थापन गर्न सकियो भने मोनो क्रपिङमा भन्दा मिक्स क्रपिङमा बढी उत्पादन र प्रतिफल गर्न सकिने र खेती पनि दीगो बनाउन सकिन्छ । साथै लगानीका साधनहरु मल, बीउ आदि पनि मोनो क्रपिङमा दुई गुणा बढी खपत हुने गरेको पाईएको छ । उदाहरणका लागि २ हेक्टर मोनो क्रपिङ गर्दा लाग्ने स्रोतसाधनले ४ हेक्टर मिक्स क्रपिङका लागि पर्याप्त हुन्छ । व्यवसायिक कृषिमा प्राकृतिक स्रोत साधनको अव्यवस्थित र अनियन्त्रित प्रयोग हुने गरेको पाईन्छ । यसकारण एकल बाली खेतीको मात्र पकेट क्षेत्र विकास गरि व्यवसायिक कृषि द्वारा गरिबी र भोकमरीको चाँडै अन्त गर्ने सरकारको लक्ष्य यस अर्थमा तार्किक देखिदैंन ।

व्यवसायिक खेतीले मुख्यतः त्यहाँको रैथाने वाली र जातिलाई विस्थापित गर्दै एकै जातका विकसित बीउलाई प्राथमिकता दिन्छ । ती विकसित जातहरु उक्त ठाउँको वातावरण र हावापानीमा कम रसायन र विषादीमा ज्यादा निर्भर रहन्छन् । वर्षेनी जीवनाशक विषादी र रासायनिक मलको अधिक प्रयोगले गर्दा माटोको भौतिक, रासायनिक र जैविक संरचनामा नकारात्मक परिवर्तन देखा पर्दै जान्छ । जसले माटोको उर्वराशक्तिमा कमी, पानीलाई माटोमा संचय गरेर राख्न सक्ने क्षमतामा कमी र भूक्षय जस्ता समस्याको उत्पत्ति गराई क्रमशः उर्वर माटोलाई बालुवामा परिणत गराउंदछ । त्यसकारण नै व्यवसायिक खेतीमा सामान्य खेती भन्दा बढी मल, विषादी र ५/१० गुणा बढी पानीको आवश्यकता पर्दछ । रासायनिक मलहरु युरिया माटोमा मिसिंदा त्यसमा भएको नाईट्रोजन बिस्तारै नाइट्रोजन डाइअक्साइड, नाईट्रस अक्साइड जस्ता ग्यासहरुमा परिणत हुँदै जान्छ । हरितगृह ग्यासहरु अन्तर्गत पर्ने यस नाईट्रस अक्साइडले कार्बन डाईअक्साईड ग्यास भन्दा २०० गुणा बढी ग्रीन हाउस ईफेक्टमा प्रभाव पार्न सक्षम हुन्छ । अनियंत्रित र असन्तुलित रुपमा जीवनाशक विषादी, एण्टिबायोटिक्स तथा रासायनिक पदार्थको प्रयोगले मानव तथा वातावरणीय स्वास्थमा नकारात्मक असर पुगेको छ । दक्षिण एशियाली देशहरूमा खाद्य संकटको अन्त्यका निम्ति सुरु गरिएको हरित क्रान्तिले पर्यावरण र मानव स्वस्थ्यमा पारेको असर ‘भोपाल ग्यास ट्राजेडी’ लगायतका अन्य थुप्रै घटनाले पनि यी विषादी र रसायन कति सम्म हानिकारक हुन सक्छ भन्ने कुराको पुष्टि दिएका छन् ।

कृषि क्षेत्रमा अनुसन्धान, आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायिकरणका माध्यमबाट थप रोजगारी सिर्जना गरि आय आर्जनका अवसरहरु बढाई गरिबी निवारण तथा आयात न्यूनीकरण तर्फ ध्यान दिन त्यति नै जरुरी छ जति कृषिलाई वातावरण मैत्री, अर्गानिक र दीगो बनाउन जरुरी छ । कृषिमा आधुनिकीकरणको विकास संगै कौसी खेती, करेसाबारी, अर्गानिक फार्मका विभिन्न मोडालिटी तयार गरि त्यसको सम्बर्द्धन र प्रबर्द्धनमा पनि ध्यान पुर्याउन जरुरी देखिन्छ । संघ र प्रदेशका सरकारहरुले पनि आफ्ना वार्षिक, पन्चवर्षीय योजनाहरुमा अर्गानिक खेतीलाई प्रवर्द्धन र विकास गर्ने नीति अघि सार्दै आएका छन । कर्णाली प्रदेश त झन् अर्गानिक प्रदेशको निर्माणका लागि अघि बढेको छ । अर्गानिक उत्पादनलाई जोड दिन वि.स. २०७५ साल सम्ममा ६२ वटा विभिन्न किसिमका अर्गानिक मल कम्पनीहरु दर्ता भई बिक्रीवितरण गर्दै आएका छन । विषादीको वर्गीकरण गरि २०७६ साल सम्ममा २१ किसिमका घातक विषादीहरु नेपालमा प्रतिबन्धित गरिएको छ । विश्व नै अहिले आधुनिक कृषिका नकारात्मक असरको प्रभाव र वातावरण मैत्री कृषि विकासको चेतना संगै नयाँ दीगो कृषि प्रणालीको विकासमा अग्रसर रहेको छ । नेपालको पूर्वी तराई देखि पश्चिमको हिमालसम्म विभिन्न हावापानी, भौगोलिक अवस्थामा पाईने विभिन्न बालीका अनेकौं प्रजातिका मौलिक विशेषता बोकेका जैविक विविधतालाई सम्बर्द्धन गरि कृषिमा अवलम्बन गर्न आवश्यक देखिन्छ । अन्य देशका आधुनिक, व्यवसायिक खेतीका प्रणालीलाई नक्कल गर्नु भन्दा पनि हाम्रो देशले प्राकृतिक रुपमै पाएको जैविक र भौगोलिक विविधतालाई संरक्षण गर्दै, कृषि व्यवस्थामा यथेष्ट सुदृढीकरण गरि भूगोल र वातावरण अनुरुप नयाँ किसिमको कृषि प्रणाली विकास गर्न जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *