शुक्रबार, ०७ बैसाख २०८१

रजनीगन्ध  फूलको व्यवसायिक खेती

Share via:

 

आज भोलि फूलमाला र बिहेको कार्यक्रमतिर बेहुला बेहुलीको मालाको लागि एक फूलको प्रयोग गरिन्छ जसलाई रजनीगन्ध भनिन्छ । हिन्दू सभ्यतामा यस फूललाई भगवान शिवको मनपर्ने फूलको रुपमा मानिने गरिन्छ । यो एक वास्नादार सेतो फूल हो । यसलाई अंग्रेजीमा Tuberose भनिन्छ । यस फूलको उत्पत्ति मध्य अमेरिकी देश मेक्सिकोबाट भएको मानिन्छ ।

रजनीगन्धाको फूललाई अत्तर र सुगन्धित तेल लगायतका उत्पादनहरु बनाउनका लागि प्रयोग गरिन्छ भने यसको कन्द (जरा) पनि साबुनको रुपमा र अन्य कस्मेटिक्समा प्रयोग गरिन्छ । यसको खेती छिमेकी देश भारतमा पनि धेरै मात्रामा गरिन्छ र भारतबाट नै नेपालमा यस फूलको आयात हुनेगर्छ ।  नेपालमा भने यस फूलको खेती अत्यन्तै थोरै मात्रामा गरिएको छ ।

प्रजातिहरु

रजनीगन्धाको प्रजातिहरु फूलमा हुने पत्रको पंक्ति  (row of petals) का आधारमा ४ प्रकारमा विभाजन गरिएको छ;

  • सिङ्गल

एउटा मात्रै पंक्ति भएको,

यस भित्र मेक्सिकन सिङ्गल, कलकत्ता सिङ्गल, श्रीनगर आदि फूलहरु पर्छन् ।

  • सेमिडबल

२/३ ओटा पंक्तिमा पत्र भएको,

यस भित्र मेक्सिको हाइब्रिड, ल्याटेन्ट आदि फूलहरु पर्छ ।

  • डबल

३ ओटा भन्दा बढी पत्र पङ्क्ति भएको,

यस भित्र डबल, पर्ल, सुवासीनि, वैभव आदि फूलहरु पर्छन् ।

  • भेरिगेटेड

फूलको पत्रको छेउमा सुनौलो रङ्ग भएको,

यस भित्र रजत रेखा, स्वर्ण रेखा आदि फूलहरु पर्छन् ।

हावापानी र माटो

रजनीगन्धाको खेती छाँया नपर्ने गर्मी ठाउँमा गर्दा राम्रो हुने भएकाले नेपालको सन्दर्भमा हेर्दा यस फूलको खेतीका लागि तराई क्षेत्र उचित देखिन्छ । यसको उत्पादकत्व राम्रो बनाउनका लागि वातावरणीय तापक्रम २०-३० डिग्री सेल्सियस सम्म हुनु पर्दछ । कोपिला लागि सकेपछि तेस्को राम्रो विकासका लागि भने १९.३ डिग्री सेलसियसको तापक्रम उपयुक्त देखिन्छ । यस फूलको वनस्पतिक वृद्धि र पहिलो फूल डाँठ उत्पन्न हुनका लागि लामो दिन हुने महिना उपयुक्त देखिन्छ ।

यो फूलको खेती बलौटे दोमट माटो भएको र पानी नजम्ने जमिनमा गर्नुपर्दछ  र माटोको पीएच (pH) ६.५-७.५ हुनुपर्दछ । यदि यसको खेती पानी जम्ने जमिनमा गरियो भने यसको जराको वृद्धि र पुरै बोटको विकासमा हानी पुग्न सक्छ ।

जमिनको तयारी

प्रति हेक्टर २०-५० MT गोबर मल जमिन तयार गर्नु भन्दा १ महिना पहिले नै माटोमा मिलईन्छ र  रोप्ने बेलामा जमिनलाई  २-३ पटक खनजोत गरी माटो मसिनो बनाईन्छ ।

बीउ (कन्द वा गानो)

कन्द बीउको रुपमा रोपिने हुँदा ३ वर्ष अगाडिको कन्द राम्रो मानिन्छ र प्रति हेक्टर जमिनमा ४२००-५००० सम्म कन्द रोपिन्छ । २ सेमि सम्म गोलाई भएको कन्दको प्रयोग गरिन्छ किनकी त्यस भन्दा बढी गोलाई भएको कन्दको अंकुरण शक्ति (Germination capacity) कम हुन्छ । एउटा खाल्डो वा लाईनमा २-३ वटा सम्म कन्द रोपिन्छ । एउटा मात्र पत्र पङ्क्ति भएको रजनीगन्धा बीउबाट प्रजनन् गरिन्छ ।

लगाउने दूरी/गहिरा

कन्द रोप्दा त्यसलाई २५*२५ से.मि वा २०*२० से.मिको दूरीमा र ४-७ से.मि गहिराई भएको खाल्डो बनाएर रोपिन्छ ।

मलखाद व्यवस्थापन

गुणस्तरीय फूल उत्पादनका लागि बीउ रोपिसकेपछि प्रति हेक्टर जमिनमा २०० : ४०० : २०० को मात्रामा NPK को प्रयोग गरिन्छ । यस फूलमा नाइट्रोजनयुक्त मलको धेरै प्रयोग गर्दा फूलडाँठ लामो र कमजोर हुने जसकारण हावा हुरीले भाँच्न सक्ने र कीराहरुले हानी पुर्याउने भएकाले त्यसको प्रयोग कम गरिन्छ ।

सिंचाई

कन्दमा टुसा उमार्नका लागि बीउ रोप्नु भन्दा अगाडी जमिनलाई राम्ररी सिंचाई गर्नुपर्छ र बीउ रोपिसकेपछि टुसा उम्रिउन्जेल सम्म सिंचाई रोक्नुपर्छ । यदि टुसा उम्रिने समयमा माटोमा पानीको मात्रा धेरै भयो भने त्यसले कन्दलाई कुहाउंछ । त्यसपछि भने जमिनलाई प्रत्येक १०-१५ दिनमामा सिंचाई गर्नुपर्छ।

फूल टिप्ने

बिहानको ८ बजे भन्दा अगाडी चिसो समयमा यो फूल टिपिन्छ र त्यसका लागि फूलडाँठमा पहिलो पुष्पदल पूर्ण रुपमा खुलेपछि त्यसलाई फेदबाट काटिन्छ र चिसो पानीमा डुबाईन्छ । फूलडाँठमा सानो पातहरु छोड्दा फूलको सेल्फ लाईफ बढ्छ । फूलको भास लाईफ बढाउनका लागि 8HQC र Sucrose मा डुबाउन सकिन्छ ।

फुलेको फूललाई मात्र टिप्दा त्यसलाई बाँसको डोकोमा प्याक गरिन्छ । फूलडाँठ सहितको फूललाई टिप्दा प्रत्यक झुप्पो १०० वटाको दरले पत्रिका वा टिस्यु पेपरले बाँधेर कार्टुन बक्समा प्याक गरी टाढा सम्म पुर्याउन सकिन्छ।

रोगहरु

डाँठ कुहिने रोग (Stem rot)

यो एक ढुसी पर्ने रोग (fungal disease) हो जुन Sclerotium spp भन्ने रोगजनक जीवाणु का कारणले लाग्छ । यस रोगले पातमा हरियो धब्बा देखिन्छ जुन समय सँगै पुरै पातमा फैलिदै जान्छ । यसकारण डाँठ कमजोर हुँदै कुहिन्छ र फूल लाग्न पाउँदैन ।

यसको समाधानका लागि बोट वरिपरिको माटोलाई पानी र ०.२-०.३% ब्रसिकोलको (Brassicol)  मिश्रण बनाएर ५००-१००० ml/sq.m मा भिजाउनुपर्छ ।

कोपिला कुहिने रोग( Flower bud rot)

यो Erwinia spp नामक जीवाणुका कारण लाग्ने रोग हो जस्मा सुख्खा हुँदै कोपिला कुहिन्छ र डाँठको रंग फिक्का हुँदै जान्छ।

यसको नियन्त्रणका लागि रोग लागेको बोटलाई अरु बोटबाट अलग राखेर कोरोसिभ सब्लिमेट (Corrosive sublimate) को प्रयोग गरिन्छ।

कीराहरू

फट्याङ्ग्रा -पात खाने

यसको नियन्त्रणका लागि १५-१५ दिनको अन्तरालमा  0.१% रोगर (Roger) वा ०.१% मालाथियन (Malathion) नामक कीटनाशकको प्रयोग गरिन्छ ।

घुन – अँध्यारोको बेला यस कीराले डाँठ र पात खाने गर्छ । यसको डिंभक (larva) ले भने जरा खाने र कन्दमा प्वाल पार्ने गर्छ ।

यसको नियन्त्रणको लागि कन्द रोप्नु भन्दा अगाडी नै माटोमा BHC छर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित