धानको चटारो : ध्यान दिनैपर्ने बाली संरक्षणका उपायहरु
नेपालको प्रमुख खाद्यान्न बाली धान लगाउने मुख्य सिजन सुरु भई सकेको छ। ‘माना रोपी मुरी फलाउने’ त हाम्रो कथन नै छ । अन्नबाली लगाउँदा देखि बाली भित्र्याउँदा सम्म सन्तोषको साटो पीडा बढी भएको किसानहरुको गुनासो रहने गरेको छ । अहिले देशव्यापी लकडाउनले ब्याड राख्ने बेलामा धानको बीउको अभाव रहे पाईएकाले किसानहरुले धानको बीउ उच्च मूल्यमा किन्न बाध्य छन् ।
धान खेतीको लागि सुधारिएका स्थानीय जातहरु देखि लिएर विकासे जातहरु पनि उपलब्ध छन् । ब्याड व्यवस्थापन अन्तर्गत धानका बेर्ना हिले ब्याड वा सुक्खा ब्याड दुबै तरिकाले हुर्काउन सकिन्छ अथवा सिधै बीउ छरेर पनि धान खेती गरिन्छ ।
एक रोपनी जग्गामा ८५% भन्दा बढी उमारशक्ति भएको २-२.५ के.जी बीउ पर्याप्त हुन्छ । विभिन्न रोगहरुको आक्रमणबाट बच्न २ ग्राम थिराम+१ ग्राम कार्बेन्डाजिमले प्रति केजी बीउलाई उपचार गर्नुपर्दछ ।
धान वालीमा लाग्ने रोग न्यूनीकरणका लागि खेत जोताइसकेपछि नै ध्यान दिनुपर्दछ । विभिन्न किसिमका रोगका विषाणु, कीराका लार्भा/ प्यूपा माटामै हुने भएकाले गहिरो जोत्ने, नाइट्रोजन र जिंकको मात्रा मिलाएर प्रयोग गर्ने, माटो परीक्षण गराउने, रोपाइँका बेला उचित दूरी कायम गर्ने र नियमित सिँचाइको व्यवस्थापन गर्न सके धेरै रोग कीराहरु लाग्नबाट जोगाउन सकिन्छ ।
धानबालीमा धेरै किसिमका रोगहरु लाग्दछ । ती मध्ये धानको बिरुवामा लाग्ने मुख्य रोग र तिनीहरुको रोकथाम र लक्षण यस्ता छन् ।
- ब्लाष्ट रोग (Blast)
लक्षण
यो रोगको कारण पातहरुमा दुबै छेउतिर चुच्चिएका अण्डाकारका थोप्लाहरु देखा पर्दछ । यी थोप्लाहरु खैरो रङ्गको हुन्छन् र थोप्लोको बीचमा सेतो बिन्दु हुन्छ ।
रोकथाम
- रोग अवरोधक जातको खेती गर्ने ।
- ब्याडमा यो रोग लागेमा हिनोसान १ मिलिमिटर १ ग्राम प्रति लिटर पानीका दरले मिलाई ब्याडमा राम्रोसंग छर्ने ।
- बोट गजाई रहेको बेला हिनोसान १.५ मिलिमिटर प्रतिलिटर पानीका दरले १०-१२ दिनको फरकमा २ पटक राम्रोसग छर्ने ।
खैरो थोप्ले रोग (Brown Leaf Spot)
लक्षण
पात वा धानका दानामा स-साना गोलाकार वा लाम्चा खैरा थोप्लाहरु देखिन्छ ।
रोकथाम
- खेतमा रोगी बोटका ठुटाहरु र अन्य झारपातहरु नष्ट गर्ने।
- बेभिष्टिन वा डेरोसोल २-३ ग्राम प्रति किलोग्राम बीउका दरले बीउ उपचार गरि ब्याडमा राख्ने ।
- उचित मात्रा र उपयुक्त समयमा मलको प्रयोग गर्ने ।
फेद कुहिने रोग (Bakanae or Foot Rot):
लक्षण
खेतमा रोगी बिरुवा अग्लो नहुने, पहेँलिने र अन्तमा फेंद कुहिएर मर्ने गर्दछ ।
रोकथाम
- रोगी बोट भएको बीउ संकलन नगर्ने ।
- रोग ग्रस्त बोटहरु नष्ट गर्ने ।
- डेरोसाल ५० प्रतिशत डब्लुपि विषादी २ ग्राम प्रति किलोग्राम बिउका दरले उपचार गरि ब्याड राख्ने ।
धानको बिरुवामा लाग्ने प्रमुख कीराहरु
- फौजी कीरा (Spondoptera mauritia)
लक्षण
यसको लार्भाले हरिया बिरुवा खाँदै अरु क्षेत्रमा फैलन्छन् ।
यसका झुसिलकीरा धेरै संख्यामा साझ परे पछी सक्रिय हुन् र बिहान सम्म धानको बिरुवा खाएपछि दिनभर लुकेर बस्दछ ।
यसले खाएपछि बिरुवालाई ठुटो बनाईदिन्छ । यसको गम्भीर क्षति असार देखि भदौ महिनासम्म हुन्छ ।
नियन्त्रण
- यस कीरा देखिएको ठाँउमा मटितेल लगेर छर्कनुपर्छ जस्ले गर्दा यसको लार्भा मर्दछ ।
- ब्याडबाट पानीको मात्रा निकाल्ने अनि क्लोरपायरिफोस (chlorpyriphos) नामक कीटनाशक विषादी प्रयोग गर्ने ।
ग्रीन लीफ होप्पेर (green leaf hopper) :
लक्षण
बिरुवाको माथि भागबाट तल फेदसम्म पहेंलिदै जान्छ । यस कीराले एउटा बिरुवाबाट अरु बिरुवामा अन्य रोगहरु सार्ने काम गर्दछ । यसले बिरुवालाई गांज लाग्नबाट पनि रोक्छ ।
नियन्त्रण
- रोग प्रतिरोधात्मक क्षमता धेरै भएका धानका प्रजातिहरूको प्रयोग गर्ने ।
- कार्बोफुरान ( १ ग्राम प्रति लिटर पानि) अथवा फोरेट ( १० ग्राम प्रति लिटर पानी) जस्ता कीट्नाशक विषादी प्रयोग गर्ने ।
धानको काँडादार खपटे हिस्पा (Rice hispa)
लक्षण
यो कीरा नीलोकालो रङ्गको काँडादार पँखेटा भएका हुन्छ । यसले नोक्सान पुर्याएको पातमा सेतो धर्साहरु र सेतो धव्वाहरु देखिन्छन् ।
नियन्त्रण
- ब्याडमा टम्म पानी जमाएर पानीमा उत्रेका खपटेलाई जम्मा गरि नस्ट गर्ने ।
- वि.टि. वा एन.पि.भि नामक जैविक विषादी १५ मि.लि. प्रति लिटर पानीमा मिसाइ छर्ने।
झारपात व्यबस्थापन
धान बालीमा लाग्ने मुख्य झारपातहरुमा सामा , जालुके , निलो गन्धे , सेतो गन्धे ,मोथे ,दुबो आदि रहेका छन । धान बालीमा रोपाइ गर्नु अगाडि ब्युटाक्लोर र नाइट्रोफिन नामको झारनाशक विषादिको प्रयोग गरिन्छ भने रोपाइ गरिसकेपछाडि प्रोपानिलको प्रयोग गरिन्छ । धानबाली लगाएको करिब ३० दिनमा पहिलो गोडाइ गर्न पर्छ भने ३० र ४५ दिनमा क्रमश दोस्रो र तेस्रो गोडाइ गर्न पर्छ ।